१४, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अधिवेशन गरिरहेको छ ।
देउवा समूहले डडेल्धुरामा १५औं महाधिवेशनअन्तर्गत शनिबार क्षेत्रीय तथा आठौं जिल्ला अधिवेशन गर्न लागेको हो । अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिहरू चयन हुनेछन् ।
कांग्रेस डडेल्धुराका तत्कालीन सभापति भीमबहादुर साउद विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले आयोजना गरेको अधिवेशनमा खुलेपछि देउवा समूहले उपसभापति डिल्लीराज जोशीलाई संयोजक बनाएको थियो ।
स्रोतका अनुसार अधिवेशनबाट जोशी जिल्ला सभापति चयन हुने सम्भावना रहेको छ । अधिवेशनअघि देउवा समूहले डडेल्धुरा बसपार्कदेखि अधिवेशनस्थल निर्माण व्यपसायी संघको सभाहलसम्म बाजागाजासहित र्याली निकालेको थियो ।
उक्त समूहले यसअघि संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, रोल्पा र दैलेखमा नयाँ नेतृत्व चयन गरिसकेको छ ।
१५ असोजबाट वडा अधिवेशन सुरू गरेको उक्त समूहले १५ कात्तिकमा जिल्ला अधिवेशनहरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया 4