News Summary
Generated by OK AI. Editorially reviewed.- शेरबहादुर देउवा समूहले कांग्रेसको तल्लो तहका अधिवेशन गर्दै ११ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ।
- देउवा समूहले ६ हजार १०७ वडामा, ४८० पालिकामा र १७० प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेको जनाएको छ।
- कांग्रेस महामन्त्री प्रदीप पौडेलले समानान्तर गतिविधिबारे पहिलो केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरेर निर्णय गर्ने बताए।
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा समानान्तर गतिविधिहरू सञ्चालन गर्दै आएका पूर्वसभापति शेरबहादुर देउवाको समूह धमाधम आफ्नो समूहको महाधिवेशनका लागि तल्लो तहका अधिवेशनहरू गरिरहेको छ ।
देउवा समूहले ११ जिल्लाहरूमा जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ ।
उक्त समूहले जिल्ला अधिवेशनका लागि महाधिवेशन कार्यतालिकामा उल्लेखित मिति अगावै संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, रोल्पा र दैलेखमा नयाँ नेतृत्व चयन गरेको हो ।
१५ असोजबाट वडा अधिवेशन सुरू गरेको उक्त समूहले १५ कात्तिकमा जिल्ला अधिवेशनहरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । बाँकी रहेका जिल्लाहरूमा कार्यतालिकाअनुसार अधिवेशन हुने देउवा समूहका नेताहरू बताउँदै आएका छन् ।
कांग्रेसले भने गत असोजमा धुमधामका साथ १५औं महाधिवेशन सम्पन्न गरेर बिहीबार शपथ पनि लिइसकेको छ ।
तर, देउवा समूह भने सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा भएको फैसला पुनरावलोकनका लागि दिएको अनुमतिलाई आधार मानेर अहिले समानान्तर अधिवेशन गरिरहेको छ ।
यसअघि गत पुसमा केन्द्रीय कार्यसमितिको बहुमत पक्षको असहमतिका बीच तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन भएको थियो । त्यही महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदातलले आधिकारिक मान्यता दिएको थियो ।
तर विशेष महाधिवेशन गरेपछि तत्कालीन महामन्त्रीद्वय थापा र शर्मासँगै तत्कालीन सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी देउवा समूहले पार्टीबाट निस्कासित गरेको थियो ।
तर आधिकारिकता पाएर कांग्रेसको विधिवत् महाधिवेशन गरी गगन थापा सभापति भएका छन् । तर देउवा समूहले भने कांग्रेसको नाममा गतिविधि गरिरहेपछि अब यो समूहका नेताहरूलाई कांग्रेसले के गर्ला भन्ने चासो छ
कांग्रेस महामन्त्री प्रदीप पौडेलले अनलाइनखबरसँग भने,’ यो नयाँ कार्यसमिति हो । कार्यसमितिको बैठक बस्छ । यस्ता सबै विषयमा छलफल हुन्छ र संस्थागत निर्णय गरेर अगाडि बढ्छौं ।’
१५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले देउवा समूहले समानान्तर रुपमा गरिरहेको गतिविधिका बारेमा छलफल गर्ने महामन्त्री पौडेलको भनाइ छ । ‘अब बस्ने पहिलो बैठकमै यी सबै विषयमा छलफल गरेर निर्णय गर्छौं,’ उनले भने ।
चुनदेवीस्थित सम्पर्क कार्यालयले उपलब्ध गराएको तथ्यांकमा देउवा समूहले ६ हजार १०७ वडामा अधिवेशन सम्पन्न गरिसकेको देखिन्छ । तथ्यांकअनुसार ४८० पालिकामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।
चुनदेवीले कोशीका ८९, मधेशका ५४, बागमतीका ७०, गण्डकीका ५०, लुम्बिनीका ८६, कर्णालीका ५५ र सुदूरपश्चिमका ७६ पालिकाहरूमा पालिका अधिवेशन भएको जनाएको छ ।
यस्तै कोशीका ३४, मधेशका २६, बागमतीका ४०, गण्डकीका १४, लुम्बिनीका २४, कर्णालीका १४ र सुदूरपश्चिमका १८ गरी १७० प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन पनि सम्पन्न भएका छन् ।
तथ्यांकमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनअन्तर्गत कोशीका १७, मधेशका १३, बागमतीका २०, गण्डकीका ७, लुम्बिनीका १२, कर्णालीका सात र सुदूरपश्चिमका ९ गरी ८५ स्थानमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको देखाउँछ ।
प्रतिक्रिया 4