News Summary
Generated by OK AI. Editorially reviewed.- जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी संविधानविरोधी र प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको भन्दै सरकार कसले चलाइरहेको छ भनेर प्रश्न गरेका छन्।
- शुक्रबार नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, डिएनए खबरका धिरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएर राति रिहा गरेको थियो।
- नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र राजनीतिक दलहरूले पत्रकार पक्राउलाई प्रेस स्वतन्त्रता र संविधानमाथिको गम्भीर प्रहार भन्दै आपत्ति जनाएका छन्।
१४ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन् ।
‘सँगसँगै त्यस्तो गिरफ्तारी भएको कुरा प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक अभिव्यक्तिले अझ गम्भीर बनाएको छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार कसले चलाइरहेको छ ?’
उनी अगाडि लेख्छन्, ‘चेन अफ कमान्ड किन त्यहाँभित्र छैन भन्ने गम्भीर प्रश्न उठाएको छ ।’
यस्तो अवस्थाबाट राजनीति विघटनको दिशातिर गइरहेको देखिएको भन्दै उनले लेखेका छन्, ‘हामी सबै बेलैमा सचेत हुनुपर्छ । प्रेस स्वतन्त्रता विपरीत गरिएको गिरफ्तारीको जवाफ चाहिन्छ ।’
शुक्रबार नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, चौतर्फी विरोध र आलोचना भएपछि राति उनीहरूलाई रिहा गरिएको थियो ।
सादा पोसाकका प्रहरीहरू पक्राउ पुर्जी बिना नै नेपाल प्रेस, नयाँ पत्रिका दैनिक, दियो पोष्ट लगायतका न्युजरुममा छिरेका थिए । नयाँ पत्रिकाको कार्यालयमा पुगेको प्रहरी टोली पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन करिब ३ घण्टासम्म त्यहाँ बसेको थियो ।
शुक्रबार कार्यालय समय सकिएपछि र शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिने समय पारिएकाले यसलाई पत्रकार त्रसित बनाउने नियतका रूपमा सरोकारवालाहरूले लिएका छन् ।
नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र सबैज्सँे राजनीतिक दलहरूले यस्त्ँे कार्यलाई ‘प्रेस स्वतन्त्रता र संविधानमाथिको गम्भीर प्रहार’ भन्दै आपत्ति जनाएका छन् ।
यही क्रममा पूर्वमन्त्री समेत रहेका प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता शर्माले पनि पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका हुन् ।
प्रतिक्रिया 4