+
+
Shares

जनार्दनको चिन्ता– कम्युनिस्ट आन्दोलन विघटनको संघारमा पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १४:४०

३ असार, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तरविरोधका कारण विघटनको संघारमा पुगेकोमा चिन्ता व्यक्त गरेका छन् ।

बुधबार आयोजित दर्शनशास्त्रको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा उनले मार्क्सवादी दर्शनलाई आत्मसात गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन संकटमा परेको बताएका हुन् ।

मार्क्सवादी दर्शनको सार व्याख्या गर्नु मात्र नभई परिवर्तन गर्नु रहेको बताउँदै उनले किताबी दर्शन र जीवन व्यवहारबीचको दूरी, संसदवादप्रतिको अत्याधिक झुकाव तथा जडसूत्रीय ढंगले मार्क्सवादलाई कुण्ठित गर्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको टिप्पणी गरे ।

‘नेपाली कम्युनिस्ट आन्दोलन दर्शनलाई, अझ ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई जीवन व्यवहारमा लागू गर्ने, जगत समाज सबैलाई परिवर्तन गर्नका लागि त्यसको त्यो मान्यताका आधारमा अगाडि बढ्नुको सट्टामा हामी कहाँ सम्म आइपुग्यो भने भौतिकवादी नेताहरूले भौतिकवाद र आदर्शवादको फ्युजनको कुराहरू जब अगाडि आए, त्यतिबेलादेखि अझ देखिने गरी किताबी दर्शन र जीवन व्यवहारको दर्शनको अन्तर महसुस हामीले गर्‍यौं,’ शर्माले भने, ‘त्यस्तै स्कुलिङ, त्यस्तै प्रशिक्षण, त्यस्तै व्यवहारहरूबाट भनाइमा भौतिकवादी, जीवनमा आदर्शवादी मान्यता राख्ने कम्युनिस्ट नेताहरूको कारणले गर्दाखेरि यो स्थिति आयो, त्यो ममा पनि, अरुमा पनि र मुख्य नेताहरूमा देखिएका यी समस्याहरूको कारणले आज कम्युनिस्ट आन्दोलन विघटनको संघारमा छ ।’

शर्माले भौतिकवादी दर्शनको वकालत गर्ने नेताहरू स्वयं व्यवहारमा आदर्शवादी बनेको आरोप लगाए ।

भनाईमा भौतिकवादी र जीवनमा आदर्शवादी मान्यता राख्ने नेतृत्वको कारण कम्युनिस्ट आन्दोलन विघटनको संघारमा पुगेको उनको दाबी छ ।

‘मार्क्सले भन्नुभएको दार्शनिकहरूले विभिन्न तरिकाले व्याख्या मात्र गर्नुभएको छ तर मुख्य कुरा बदल्ने हो भन्ने कुरा नै मार्क्सवादी दर्शनको सारवस्तु हो । यो सारवस्तुलाई आत्मसात गर्न नसक्दा किताबी दर्शन र जीवन व्यवहारको दर्शनमा अन्तरविरोध हुँदा नेपाली कम्युनिस्ट आन्दोलन आज विघटनको अन्तिम संघारमा पुगेको छ,’ उनले भने, ‘एकातिर संसदवाद र संसदवादको आदर्शवादको बाटो अवलम्बन गर्ने एउटा मुख्य जिम्मेवार शक्ति अथवा पात्रहरू छन् भने अर्कोतिर जडसुत्रीय ढंगले फेरि मार्क्सवादलाई कुण्ठित गर्नेहरू छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?