+
+
Shares

बच्चालाई अलराउन्डर बनाउने प्रयास गर्दा उनीहरूको बाल्यकाल खोसिरहेका त छैनौं ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालबालिकालाई अतिरिक्त कक्षा र प्रतिस्पर्धाको दबाब दिनुहुँदैन भन्दै लेखले उनीहरूको उमेर र रुचिअनुसार अपेक्षा राख्न अभिभावकलाई सुझाव दिएको छ।

आफ्ना बालबालिका हरेक कुरामा अब्बल बनुन्न भन्ने चाहना हरेक अभिभावकको हुन्छ । स्कुलको पढाइ, खेलकुद, चित्रकला, संगीत वा अन्य गतिविधि सबैमा बच्चाले उत्कृष्ट प्रदर्शन गरोस् भन्ने चाहना अभिभावकको हुन्छ । यही सोचाइले गर्दा बच्चालाई अतिरिक्त कक्षा तथा तालिममा सहभागी गराउने, बढी दबाब दिने पनि गरिएको हुन सक्छ ।

आजका बालबालिका बिहानको पहिलो किरणदेखि राति सुत्ने बेलासम्म निश्चित व्यस्त दिनचर्यामा बाँधिएका छन् । आजका ८–१० वर्षका बालबालिकाको दिनचर्या कुनै ठूलो बहुराष्ट्रिय कम्पनीका सीईओ को कार्यतालिकाजस्तै देखिन थालेको छ । हरेक सेकेन्डको हिसाब, हरेक घण्टाको नयाँ लक्ष्य र दिमागमा एउटै ध्याउन्न– ‘सबैभन्दा अगाडि पुग्नुपर्छ !’

विद्यालय, त्यसपछि ट्युसन र फेरि विभिन्न अतिरिक्त कक्षाहरूले उनीहरूलाई दिनभर यति व्यस्त बनाउँछन् कि आफूले यति धेरै तनाव किन झेल्नुपरेको हो भन्नेसमेत उनीहरूले बुझ्न सक्दैनन्।

अभिभावकको उद्देश्य स्पष्ट हुन्छ– उनीहरू आफ्ना सन्तानलाई भविष्यका हरेक प्रतिस्पर्धामा सबैभन्दा अगाडि देख्न चाहन्छन् । यो दौडमा अभिभावकले बच्चा कुनै मेसिन होइनन् भन्ने कुरा बिर्सएका हुन्छन् ।

बच्चाहरू त काँचो माटोजस्तै हुन्, जसलाई माया, समय र शान्त वातावरणको आवश्यकता हुन्छ । अत्यधिक व्यस्तताको परिणामस्वरूप बालबालिकाले सानै उमेरदेखि त्यस्तो मानसिक तनाव र दबाब झेल्न थालेका छन्, जुन वयस्कहरू मुस्किलले सामना गरिरहेका हुन्छन् ।

उमेरअनुसार अपेक्षा राख्ने

आफ्ना बालबालिकाबाट अपेक्षा राख्नु गलत होइन । अभिभावक चाहन्छन् कि भोलिका दिनमा उनीहरूका सन्तान हरेक क्षेत्रमा सफल बनून् । तर के हामीले कहिल्यै सोचेका छौँ– यो ‘पूर्ण भविष्य’ निर्माण गर्ने होडमा कतै बालबालिकाको आज त खोसिरहेका छैनौँ ?

आज बालबालिकासमेत त्यही मानसिक थकान र तनावको सिकार भइरहेका छन्, जुन ३०–३५ वर्ष उमेर समूहका कर्पोरेट क्षेत्रमा काम गर्ने पेसाकर्मीमा देखिन्छ।

त्यसैले बालबालिकाबाट राखिने अपेक्षा उनीहरूको उमेर, बौद्धिक क्षमता र रुचिअनुसार हुन आवश्यक छ । हरेक बालबालिकाको क्षमता फरक हुन्छ । कुन परिस्थिति वा क्षेत्रमा उनीहरूको प्रतिभा प्रस्फुटन हुन्छ भन्ने कुरा कसैले भन्न सक्दैन । त्यसैले बालबालिकाको भविष्य सही दिशामा अघि बढ्ने गरी मात्र उनीहरूलाई प्रोत्साहित गर्नुपर्छ । उनीहरूलाई मानसिक रूपमा कमजोर बन्ने गरी दबाब दिनु हुँदैन ।

भविष्य सुरक्षित बनाउने चिन्तामा बालबालिकाको वर्तमान नखोस्नुहोस् ।

बालबालिका तनावमा छन् भन्ने कुरा कसरी थाहा पाउने ?

– सानातिना कुरामा झर्किने, चिच्याउने वा हरेक कुरामा जिद्दी गर्ने ।

–नयाँ सिकाइको कक्षामा जानुअघि विभिन्न बहाना बनाउन थाल्ने।

-स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य भए पनि टाउको वा पेट दुखेको गुनासो गरिरहने।

– राति अबेरसम्म निद्रा नलाग्ने, सुतिरहेको बेला झस्किने वा बिहान उठ्दा थकित महसुस गर्ने।

– ‘यदि मेरो प्रदर्शन सबैभन्दा राम्रो भएन भने के होला ?’ भन्ने डर मनमा रहिरहने

–हार्ने वा अरूभन्दा पछाडि पर्ने सोचले नै आत्तिने ।

–‘म यो कुरा गर्न सक्दिन’ भन्नेर तनाव लिइरहने र त्यही कुरा बारम्बार दोहोर्‍याउने।

यसरी फर्काऔँ बाल्यकालको खुसी

– बालबालिकाको दिनचर्यामा कम्तीमा एकदेखि दुई घण्टासम्म आफूलाई मन लागेको काम गर्न वा केही नगरी बस्न पाउने समय दिनुपर्छ ।

– सातै दिन कुनै न कुनै कक्षामा व्यस्त रहने अवस्था छ भने तत्कालै आवश्यक नभएका अतिरिक्त गतिविधिमा संलग्न नगराउने ।

– बालबालिकाका लागि खेलकुद र आराम पनि कुनै प्रशिक्षण वा कक्षा हो भन्ने कुरा अभिभावकले बुझ्नु जरूरी छ ।

– बालबालिकालाई हरेक दिन ‘आज तिमीलाई सबैभन्दा रमाइलो के कुरामा लाग्यो ?’ भनेर सोध्नुहोस् ।

– उनीहरूको जित वा राम्रो प्रदर्शन नभए पनि तपाईहरूको माया रहन्छ भन्ने कुरामा विश्वस्त गराउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?