News Summary
Generated by OK AI. Editorially reviewed.- सोनिया गान्धीको संस्मरण ‘बिलङिङ: अ जर्नी अफ लभ’ प्रकाशनअघि पाण्डुलिपि संशोधन विवादका कारण पेन्गुइन र्यान्डम हाउसबाट हार्परकोलिन्समा गएको खुलासा भएको छ।
- गान्धीले पुस्तकमा मोदी सरकार, आरएसएस, चीनको अतिक्रमण, पुलवामा आक्रमण र निर्वाचित प्रदेश सरकारहरू ढालिएको विषयमा कडा आलोचना गरेकी छन्।
- उनले नोटबन्दी र जीएसटीले व्यापार, अर्थतन्त्र र लाखौँ मानिसको जीवनमा नकारात्मक असर पारेको दाबी गरेकी छन्।
२७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीको बहुप्रतीक्षित संस्मरण ‘बिलङिङ: अ जर्नी अफ लभ‘ ले पुस्तक प्रकाशनको अन्तिम चरणमा प्रकाशक परिवर्तन गरिनुको कारणहरू स्पष्ट पारेको छ।
सन् २०२६ अगस्ट २८ मा द इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार, तत्कालीन प्रकाशक पेन्गुइन र्यान्डम हाउसले पाण्डुलिपिमा केही परिवर्तन र अंशहरू हटाउन माग गरेपछि गान्धीले हार्परकोलिन्समार्फत पुस्तक प्रकाशन गरेकी हुन्।
यद्यपि पेन्गुइन र्यान्डम हाउसले पछि एक विज्ञप्ति जारी गर्दै यस्ता छलफलहरू सामान्य रहेको र आफूहरू पुस्तक प्रकाशन गर्न इच्छुक र उत्सुक नै रहेको दाबी गरेको थियो । तर सोनिया गान्धी स्वयम्ले लन्डनको द गार्जियन पत्रिकालाई प्रकाशनपूर्व दिएको अन्तर्वार्तामा पेन्गुइन नै सम्झौताबाट पछि हटेको खुलासा गरेकी छन्।
गान्धीका अनुसार, पेन्गुइन सरकारको आलोचनाप्रति असहज महसुस गरिरहेको थियो।
प्रकाशक पछि हट्नुका २ कारण
पुस्तकको दोस्रो भागमा नरेन्द्र मोदी सरकार र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) माथि गरिएको प्रत्यक्ष र निरन्तर प्रहार गरिएको छ । यसबाहेक, सीमामा चीनको अतिक्रमणसम्बन्धी सोनिया गान्धीका टिप्पणीहरूले नै मुख्य गतिरोध सिर्जना गरेको र अन्ततः पेन्गुइनसँगको सहकार्य टुटेको बताइएको छ।
संस्मरणका सात खण्डहरूमध्ये कयौँ ठाउँमा मोदी सरकारको आलोचना गरिएको छ । तापनि चिनियाँ अतिक्रमणको सन्दर्भ पुस्तकको अन्त्यतिर आउँछ।
चिनियाँ अतिक्रमणबारे गान्धीले पुस्तकमा लेखेकी छन्, ‘संसद्मा सत्तारुढ दलले अत्यन्तै महत्त्वपूर्ण विषयहरू छल्ने गर्दछ: सीमामा हाम्रो भूभागको केही हिस्सामा चीनको कब्जा, सङ्घीय सिद्धान्तमाथि अतिक्रमण गर्ने कानुन, अल्पसङ्ख्यकको अधिकार, नागरिकको गोपनीयता र एक राष्ट्रका रूपमा हाम्रो अखण्डताका लागि आधारभूत रहेका अन्य कयौँ ठोस मुद्दाहरू।’
त्यस्तै पुस्तकमा अर्को विवादास्पद सन्दर्भ सन् २०१९ को पुलवामा आतङ्कवादी आक्रमणसँग जोडिएको छ । उक्त आक्रमणमा ४० जना भारतीय अर्धसैनिक जवानहरूले ज्यान गुमाएका थिए।
सोनियाले स्मरण गर्दै लेखेकी छन्, ‘यो देशलाई नै स्तब्ध र मर्माहत बनाउने महाविपत्ति थियो। मोदी सरकारले सम्भावित आतङ्कवादी आक्रमणको चेतावनी दिने कयौँ गुप्तचर सूचनाहरूलाई बेवास्ता गर्यो र सैनिकहरूलाई सुरक्षित रूपमा ओसार्न माग गरिएको हवाई यातायात उपलब्ध गराएन, जसको कुनै तर्कसङ्गत कारण दिइएन। आजको दिनसम्म पनि सरकारले यसबारे स्पष्टीकरण दिन सकेको छैन।’
वैचारिक भिन्नता र यूपीएका ३० योजनाको नाम परिवर्तनको आरोप
आलोचनाका अतिरिक्त गान्धीले नरेन्द्र मोदी र आफू बिल्कुलै फरक वैचारिक धरातल र पृष्ठभूमिबाट आएको तथा देशप्रतिको मोदीको दृष्टिकोण आफ्नोभन्दा नितान्त भिन्न रहेको स्वीकार गरेकी छन्।
उनले लेखेकी छन्, ‘नरेन्द्र मोदीको भारतप्रतिको विचार आरएसएसको विचारधारा र उनको आफ्नै हुर्काइको अनुभवबाट निर्मित थियो । उनी आफ्नो भारतको परिकल्पनाका लागि लडिरहेका थिए, र म मेरो लागि । राजनीतिमा उनको बाटो मेरोभन्दा पूर्ण रूपमा फरक मार्गबाट तय भएको थियो। तर तत्कालीन शासक वर्गप्रतिको उनको असहजताका केही पक्षहरू थिए, जसलाई मैले पनि राम्ररी बुझ्न थालेकी थिएँ ।’
रोचक तथ्याङ्क प्रस्तुत गर्दै गान्धीले एनडीए सरकारले शासनका कुनै पनि नयाँ विचार ल्याउन असफल भएको र यसको सट्टा कङ्ग्रेस नेतृत्वको यूपीए शासनकालका कम्तीमा ३० वटा कार्यक्रमहरू अपनाएको दाबी गरेकी छन्।
उनका अनुसार ती योजनाहरूलाई आकर्षक नयाँ नाम दिइयो, तिनको दायरा निकै घटाइयो र तीमध्ये कतिपय कल्याणकारी योजनाहरूको प्रधानमन्त्री मोदी स्वयम्ले विगतमा आलोचना गरेका थिए।
निर्वाचित प्रदेश सरकारहरू ढालिएको आरोप र आरएसएसको प्रोपागान्डा मेसिन
सोनिया गान्धीले कङ्ग्रेस र उसका सहयोगी दलका कुल नौ वटा निर्वाचित प्रदेश सरकारहरूलाई अनुपयुक्त र गोप्य तरिका अपनाएर ढालिएको उल्लेख गरेकी छन्।
यसप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उनले लेखेकी छन्, ‘मोदी शासनले जनमतलाई लत्याउँदै र छलकपटपूर्ण तथा अलोकतान्त्रिक तरिका अपनाएर हाम्रा निर्वाचित प्रदेश सरकारहरू ढालेको देख्दा हरेक पटक मेरो हृदय आक्रोश र निराशाले भरिन्थ्यो।’
पुस्तकका कयौँ अध्यायहरूमा उनले भारतीय राजनीतिमा नेहरू-गान्धी परिवारविरुद्ध आरएसएसले अपनाएको रवैयाको कडा आलोचना गरेकी छन्।
उनले लेखेकी छन्, ‘आरएसएसको प्रोपगाण्डा मेसिन दशकौँदेखि अहोरात्र खटिएको छ र एक दिन पनि बिदा लिएको देखिँदैन। आजको समयसम्म आइपुग्दा सामाजिक सञ्जालबाट यसको उत्पादन र वितरणको गतिमा ठूलो वृद्धि भएको छ। अहिले यसमा देखा परिरहेका एआई सिर्जना र डिपफेकले यसका दुर्भावनापूर्ण मनगढन्ते कथाहरूलाई थप विश्वसनीयता प्रदान गर्ने सम्भावना छ।’
व्यक्तिगत आक्रमण, साइबर आर्मी र नोटबन्दी तथा जीएसटीको प्रभाव
आफू स्वाभाविक रूपमा भाजपाको मनपर्ने निसाना बनेको उल्लेख गर्दै गान्धीले आफूले भोगेका व्यक्तिगत आक्रमणहरूको प्रकृति वर्णन गरेकी छन्, ‘म सधैँझैँ रोम राज ल्याउन लागेकी थिएँ, त्यो जेसुकै होस्। मलाई क्याबरे डान्सर, मोनिका लेविन्स्की, र एक जासुस भनियो…।’
उनका अनुसार, सन् २०१९ को निर्वाचनसम्म आइपुग्दा जब जनमत कङ्ग्रेसको पक्षमा बदलिँदै गरेको देखिन्थ्यो, भाजपाले प्रचारबाजीको खेलमा उत्कृष्टता हासिल गरिसकेको थियो।
उनको आरोप छ, ‘त्यस समयसम्म सरकारले सामाजिक सञ्जालमा आफ्नो सन्देश फैलाउन मानवीय एजेन्टहरू प्रयोग गर्नुका अतिरिक्त, भाष्य नियन्त्रण गर्न र मतदातालाई प्रभावित पार्न बटहरूको साइबर सेना प्रयोग गर्दै राम्रो आर्थिक स्रोत भएको साइबर अस्त्र भण्डार विकास गरिसकेको थियो। यसका साथै मूलधारका मिडिया र राज्यका निकायहरू पनि उसकै नियन्त्रणमा थिए।’
पुस्तकमा उनले वर्तमान सरकारका निरङ्कुश तरिकाहरूको सूची समेत प्रस्तुत गरेकी छन्, जसमा सन् २०१६ को नोटबन्दी योजना प्रमुख छ।
नोटबन्दीको स्मरण गर्दै उनले लेखेकी छन्, ‘उक्त कदमका घोषित उद्देश्यहरूमध्ये कुनै पनि पूरा भएन । बरु एकै झट्कामा व्यापार व्यवसाय अस्तव्यस्त भयो । अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रहरू बन्द भए र लाखौँ मानिसहरू कष्टकर जीवन जिउन बाध्य भए। जटिल र बहुस्तरीय कर प्रणाली जीएसटी लागू गरिएपछि उनीहरूको पीडा झन् थपियो । जसले हाम्रो अर्थतन्त्रको मेरुदण्डमा प्रतिकूल असर पारेको छ।’
आफ्नो निष्कर्ष विश्लेषणमा सोनिया गान्धीले प्रभुत्व जमाउने र एउटै धर्म तथा एउटै भाषा थोपर्ने आरएसएसको दीर्घकालीन योजनाको निश्चित रूपमा प्रतिरोध हुनेमा आफूलाई कुनै शङ्का नरहेको स्पष्ट पारेकी छन्। (एज्नेसीहरूको सहयोगमा )
प्रतिक्रिया 4