+
+
Shares
सन्दर्भ : गाई पूजा :

गाईको नाकको डोरी

डा. ङमिन्द्र दाहाल डा. ङमिन्द्र दाहाल
२०८३ कात्तिक २३ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गाईतिहार र गोवर्धन पूजाका बेला सहरका धेरै गाईगोठ साँघुरा, डोरीले बाँधिएका र स्वच्छ वातावरणविनाका रहेको लेखमा उल्लेख छ।
  • दूधको मूल्य निर्धारणमा गाईको बसोबास, हिँडडुल र स्वास्थ्यको अवस्था सामान्यतया समावेश नहुने तथा उपभोक्ताले त्यो थाहा पाउने बाटो नभएको बताइएको छ।
  • लेखले स्थानीय तह र सरकारले गोठको न्यूनतम मापदण्ड, प्रमाणीकरण र अनुगमन गरेर स्वस्थ गोठको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

हाम्रो तिहारमा मनाइने पाँचवटा उत्सवमध्ये दुई दिन गाईतिहार र गोवर्धन पूजा गाईगोठ केन्द्रित छन्। गाउँघरमा गाईगोठमै गएर पूजा गर्ने चलन भए पनि सहरमा त्यो प्रचलन बनेको छैन ।

राजधानी उपत्यकामा हजारौँको सङ्ख्यामा रहेका गाईगोठहरूमध्ये सीमित गाईगोठहरू मात्रै गाईको स्वास्थ्यलाई ध्यान दिएर स्वच्छ र खुला वातावरणमा निर्मित छन् । अधिकांश भने साँघुरा र घुमफिर गर्न नमिल्ने गरी किला र डोरीको भरमा सञ्चालन गरिएका छन् ।

म बसेको टोलवरपर आधा दर्जन गाईगोठ सञ्चालनमा छन् । तीमध्ये नजिक रहेको गोठमा वर्षको दुई–चार पटक जाने काम पर्दा त्यहाँको अवस्था नजिकैबाट अवलोकन गर्ने गर्छु। त्यहाँ देखेका दृश्य अर्को पटक गएर नवीकरण नगरेसम्म मनमा गढेर बस्छन् । अक्सर मेरो नजर गाईको नाक र घाँटीमा कसिएका डोरी र ती डोरीले बनाएका गहिरा डाम र घाउमा पर्छ । साँघुरो गोठमा गाईहरू कोचाकोच गरेर राखिएका हुन्छन्। शरीर फर्काउन, दुई पाइला हिँड्न र ढल्किन पनि ठाउँ हुँदैन । दूध दिने गाई प्रशस्त देखिन्छन्, तर बाछाबाछी विरलै भेटिन्छन् ।

पोषिलो दूधका लागि गाईको जात र आहारसँगै बसोबास र हिँडडुलको वातावरण पनि स्वच्छ हुनुपर्ने परम्परागत र लिखित मापदण्डहरू प्रचलनमा छन् । तर दूध सङ्कलन र प्रशोधन गर्ने व्यावसायिक निकायले दूधमा रहेको चिल्लोपन जाँच गर्नेबाहेक अरू कुरामा ती मापदण्ड लागू गरेको पाइँदैन ।

यसको असर दूधको मूल्य निर्धारणमा देखिन्छ । दूधको मूल्य र गुणस्तर तोक्दा गाईले कस्तो गोठमा, कस्तो अवस्थामा बाँचिरहेको छ भन्ने सूचना सामान्यतया समावेश हुँदैन। उपभोक्ताले किनेको दूधबाट त्यो थाहा पाउने बाटो पनि प्रायः हुँदैन । दूध दिन छाडेपछि गाईको अवस्था के हुन्छ भन्ने कुरा पनि यही प्रणालीको बाहिर रहन्छ ।

गाईप्रतिको सम्मानलाई हाम्रो परम्परामा पूजासँगै स्याहारको विषयका रूपमा पनि हेरिएको पाइन्छ । कतिपय समुदायमा बाछो नभएको गाई अर्थात् हलसारोको दूधदही पूजा र पितृकार्यमा प्रयोग नगर्ने चलन छ । यो चलनले दूधभन्दा पहिले गाईको मातृत्व र बाछोसँगको सम्बन्धलाई महत्त्व दिएको सङ्केत गर्छ ।

प्राचीन  ग्रन्थमा त यो जिम्मेवारी समाज र राज्यसम्म पुगेको देखिन्छ। कौटिल्यको अर्थशास्त्रमा गाईको हेरचाहका लागि छुट्टै अधीक्षक नियुक्त गर्ने, चरिचरणका लागि सुरक्षित क्षेत्र छुट्याउने, घाँस र पानीको व्यवस्था गर्ने तथा बाछाबाछी, बूढा र बिरामी गाईको स्याहार गर्ने व्यवस्था उल्लेख छ। दूध र घिउको लोभमा बाछाबाछीलाई दूधबाट वञ्चित गर्दा तिनको जीवन जोखिममा पर्ने चेतावनी पनि त्यसमा भेटिन्छ। अथर्ववेदले पनि गाईबस्तुको संरक्षण र गोठको समृद्धिको कामना गरेको छ।

परम्परागत पशुपालनमा गाई गोठभित्र मात्र सीमित थिएनन् । गाउँघरका गाईबस्तु वनपाखा, खेतबारी र खुला चरनमा घुम्थे, घाँसपात खाँदै बाछाबाछीसँगै हुर्कन्थे र साँझ घर फर्कन्थे । गोरुले खेत जोत्थ्यो, गोबरबाट प्राङ्गारिक मल बन्थ्यो र त्यसले खेतबारीको उर्वराशक्ति जोगाउँथ्यो । दूध त्यस चक्रको एउटा अंश थियो। गाई ग्रामीण जीविकोपार्जन र पारिस्थितिक प्रणालीको जोडिएको कडी थियो ।

समयसँगै यो प्रणालीमा परिवर्तन आएको छ । सामुदायिक वन व्यवस्थापनले वन संरक्षणमा महत्त्वपूर्ण योगदान दियो, तर कतिपय ठाउँमा चरिचरण नियन्त्रण वा निषेध भएपछि परम्परागत खुला चरन खुम्चिँदै गयो । अर्कोतर्फ, बढ्दो बजार मागले पशुपालनलाई उत्पादनमुखी व्यवसायमा बदलेको छ ।

उन्नत जातका गाई, कृत्रिम गर्भाधान र औद्योगिक दानाले दूध उत्पादन बढाएका छन् । यी प्रविधि आफैँमा समस्या होइनन्; गाईलाई कसरी राखिन्छ भन्ने कुराले नै परिणाम निर्धारण गर्छ । हिँडडुलको स्वतन्त्रता, आराम, उचित आहार, उपचार र बाछोसँगको सम्बन्धलाई उत्पादन प्रणालीमा कति ठाउँ दिइन्छ भन्ने नै मुख्य प्रश्न हो ।

गाईको अवस्था सुधार्न प्रयास गर्ने व्यक्ति र टोली पनि छन्, र तिनको काम काठमाडौँ उपत्यकाभित्रै देख्न सकिन्छ । गोठाटारमा उत्तम पुडासैनीको टोलीले सडकमा छाडिएका र झाडीमा फालिएका गाईबाछाबाछीको उद्धार गरेर गौशाला सञ्चालन गरिरहेको छ । दाताहरूबाट प्राप्त सहयोगले उद्धारका लागि पशु एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ । यसैगरी पशुपति मन्दिर प्राङ्गणमा छाडिने साँढेलाई व्यवस्थित रूपमा पाल्ने र उपचार गर्ने काम अर्को गोसेवक टोलीले व्यक्तिगत पहलमा गौशाला सञ्चालन गरेर गरिरहेको छ। सडक र झाडीमा पुगेका गाईगोरुको समेत उद्धार सम्भव छ भन्ने यी प्रयासले देखाएका छन्। यस्ता काम देख्दा मनमा आनन्द लाग्छ।

यस्तै नमुना नेपाल र भारतका अन्य ठाउँमा पनि छन्। गोरखाको टाप्लेमा सञ्चालित श्री आशुतोष गौग्रामले परित्यक्त गाई, गोरु र बाछाबाछीलाई संरक्षण दिने उद्देश्य राखेको छ। केरलाको दक्षिण वृन्दावनले उद्धार गरिएको एउटा बाछोबाट यात्रा सुरु गरी आजीवन आश्रयको अवधारणा अघि बढाएको छ भने बेंगलुरुको श्री रामकृष्ण गौसेवाले बूढा, घाइते र दूध दिन छाडेका गाईको जीवनभर हेरचाह गर्दै आएको छ । यी सबैको साझा विशेषता दूध दिन छाडेपछि पनि गाईको जीवनलाई मूल्य दिनु हो ।

तर व्यक्तिगत एवम् निजी पहलमा गरिने यस्ता प्रयासको सीमा पनि स्पष्ट छ । गौशालालाई नियमित आहारा, औषधोपचार, पशु चिकित्सक, पर्याप्त जमिन र जनशक्ति चाहिन्छ, जबकि अनियमित चन्दामा निर्भर रहँदा दीर्घकालीन सञ्चालन कठिन हुन्छ। अझ महत्त्वपूर्ण कुरा, गौशालाले उद्धार गरिएका गाईगोरुलाई मात्र समेट्न सक्छन् ।

सहरका हजारौँ गोठमा बाँधिएका गाईको दैनिक अवस्था तिनले बदल्न सक्दैनन् ।  त्यसैले यस्ता प्रयास गाईपालनको दुरवस्था घटाउन प्रभावकारी हुन सक्दैनन्; ती समस्याका परिणाम सम्हाल्ने काम हुन्, कारण हटाउने होइनन् । स्थानीय समुदाय, दुग्ध सहकारी, स्थानीय सरकार र सामाजिक संस्थाको सहकार्यले मात्र तिनलाई स्थायित्व दिन सक्छ ।

पशु कल्याणको मूल्याङ्कनमा अन्तर्राष्ट्रिय रूपमा व्यापक प्रयोग हुने ‘पाँच स्वतन्त्रता’ को अवधारणा यसमा उपयोगी आधार हुन सक्छ । यसले भोक र तिर्खाबाट, असहज वातावरणबाट, पीडा, चोट र रोगबाट तथा डर र तनावबाट मुक्ति र स्वाभाविक व्यवहार गर्न पाउने स्वतन्त्रतालाई मापदण्ड बनाउँछ ।

सनातन संस्कृतिमा गोदान, गौसेवा र पञ्चगव्य सेवन (दूध, दही, घिउ, गहुँत र गोबर) जस्ता गाईसँग जोडिएका क्रियाकलाप धार्मिक जीवनको अभिन्न अङ्ग मानिन्छन् । यी सबै क्रियाकलाप गाईको अस्तित्व र स्वास्थ्यमा निर्भर छन् । यस सन्दर्भमा गाई, गोरु र बाछाबाछी अर्थात् गाईको समग्र परिवारको स्वास्थ्यलाई महत्त्व दिएर सञ्चालन गरिने गौशाला धार्मिक र सामाजिक दुवै दृष्टिले मूल्यवान् छन् । गाईलाई दूध उत्पादन गर्ने मेसिनजस्तो गरी दोहन गर्नु पशुप्रतिको अपराध मात्र होइन, मानव कल्याणका दृष्टिले पनि प्रतिकूल कार्य हो । यो कुरा बुझ्नु र अरूलाई बुझाउनु जरुरी छ ।

गौशालाले दूध दिन छाडेका गाईको समस्या सम्बोधन गर्छन्, तर दूध दिइरहेका गाईको जीवनस्तर भने उत्पादन प्रणालीभित्रै सुधार गर्नुपर्ने विषय हो । पशु कल्याणको मूल्याङ्कनमा अन्तर्राष्ट्रिय रूपमा व्यापक प्रयोग हुने ‘पाँच स्वतन्त्रता’ को अवधारणा यसमा उपयोगी आधार हुन सक्छ । यसले भोक र तिर्खाबाट, असहज वातावरणबाट, पीडा, चोट र रोगबाट तथा डर र तनावबाट मुक्ति र स्वाभाविक व्यवहार गर्न पाउने स्वतन्त्रतालाई मापदण्ड बनाउँछ । यही आधारमा ‘स्वस्थ गोठ’ को पहिचान गर्न सकिन्छ : पर्याप्त खुला ठाउँ, हिँडडुलको सुविधा, स्वच्छ वातावरण, उचित आहार, स्वास्थ्य उपचार र बाछोको हेरचाह । त्यस्ता गोठको दूधमा उपभोक्ताले केही बढी मूल्य तिरेमा किसानलाई सुधारको आर्थिक आधार बन्न सक्छ ।

यस्तो मापदण्ड तयार गर्न र लागू गर्न सबैभन्दा नजिकको भूमिका स्थानीय तहको हो । दुग्ध सहकारीसँग मिलेर गोठको न्यूनतम मापदण्ड बनाउने, प्रमाणीकरण गर्ने र नियमित अनुगमन गर्ने काम स्थानीय सरकारले गर्न सक्छन्। उपत्यकाजस्ता घना बस्तीमा गोठ छिमेकमै हुने भएकाले यसको असर पनि प्रत्यक्ष देखिन्छ । त्यसैले उचित कानुनी र नीतिगत निर्णय गर्न स्थानीय तहले ढिलाइ गर्नु हुँदैन । राष्ट्रिय तहमा सरकारले पनि व्यावसायिक दुग्ध गाईको आवास, प्रजनन, स्वास्थ्य, हेरचाह र उत्पादनपछिको जीवन समेट्ने स्पष्ट मापदण्ड बनाउन सक्छ ।

गाईतिहारमा गाईको निधारमा टीका र घाँटीमा माला लगाइन्छ। सहरका धेरै गोठमा त्यही गाईको नाकमा डोरी र घाँटीमा घाउ पनि हुन्छ । एउटै गाईमा देखिने यी दुवै दृश्यबीचको दूरी घटाउनु आस्था र दूध उत्पादन प्रणाली दुवैको साझा जिम्मेवारी  हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?