News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्र संघ डेटा गभर्नेन्स कार्यसमूह सदस्य निक एस्टन–हार्ट शनिबार काठमाडौंमा हुने ‘नेसनल एआई समिट २०२६’ का प्रमुख वक्ता बन्न बिहीबार नेपाल आएका छन् ।
- डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले निकले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता तेस्रो विश्वका मुलुकको स्थानबारे मन्तव्य दिने बताए ।
- ‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ शीर्षकको सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरका विज्ञ र नीतिनिर्माता सहभागी हुने आयोजकले जनाएको छ ।
२० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघ डेटा गभर्नेन्स कार्यसमूह सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन् ।
शनिबार राजधानीको होटल हिमालयमा हुने ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार नेपाल आइपुगेका हुन् । निक कार्यक्रमको प्रमुख वक्ता रहेको सम्मेलन आयोजक संस्था डिजिटल मिडिया फाउन्डेसन अध्यक्ष प्रवेश सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार निकले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता तेस्रो विश्वका मुलुकले कसरी आफ्नो स्थान बनाउन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर मन्तव्य दिनेछन् ।
विश्वव्यापी एआई प्रतिस्पर्धा, डिजिटल सार्वभौमिकता र नेपालमा एआईको रणनीतिक सम्भावना तथा चुनौतीजस्ता विषय उनको मन्तव्यमा समेटिनेछन् ।
निक लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षा सम्बन्धी विश्वव्यापी नीति निर्माणमा सक्रिय छन् ।
उनले दुई दशकभन्दा बढी समयदेखि संयुक्त राष्ट्र संघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा डिजिटल अर्थतन्त्र र प्रविधि सम्बन्धी नीति निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् । यस वर्ष ‘फ्रम प्रमिस टु प्रोग्रेसेस अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ भन्ने मूल नारामा केन्द्रित हुनेछ ।
‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’, (प्रतिबद्धतादेखि प्रगतिसम्म : नेपालको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तार) शीर्षकसहित हुन लागेको एक दिवसीय सम्मेलनमा नेपाल सहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र सञ्चारर्मी सहित विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4