News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियामा ७३ वर्षीय माइकलले भिडियो कलमा भेटिएकी 'प्रेमिका' डीपफेक भएको नपाउँदा १ लाख ८० हजार अस्ट्रेलियाली डलर गुमाए।
- ठगहरूले अमेरिकी महिला डाक्टरको तस्बिर र भिडियो, भ्वाइस-क्लोनिङ, एआई र फेस-स्वापिङ प्रयोग गरी नक्कली 'मेलानी' बनाएर १२ महिना प्रेमसम्बन्ध चलाए।
- साइबर सुरक्षा विशेषज्ञ डा. प्रियंका सिंहले भिडियो वा फोनमा देखिएको अनुहार र आवाजकै आधारमा कसैलाई विश्वास नगर्न सुझाव दिइन्।
१२ कात्तिक, सिड्नी । प्रविधिको विकाससँगै अनलाइन ठगीका स्वरूप कति खतरनाक बन्दै गएका छन् भन्ने एउटा उदाहरण अस्ट्रेलियामा देखिएको छ। अस्ट्रेलियाका ७३ वर्षीय अवकाशप्राप्त मनोवैज्ञानिक माइकलले भिडियो कलमा देखिएकी ‘प्रेमिका’ वास्तविक नभई डीपफेक भएको पत्तो नपाउँदा १ लाख ८० हजार अस्ट्रेलियाली डलर गुमाएका छन्।
माइकलले दक्षिण अफ्रिकाकी ‘मेलानी’ नाम गरेकी नर्ससँग आफ्नो मन मिलेको ठानेका थिए। १२ महिना लामो भर्चुअल प्रेमसम्बन्धका क्रममा उनीहरू नियमित भिडियो कल गर्थे। तर, माइकलले गहिरो प्रेम गरेकी ती महिला वास्तवमा छँदै थिइनन्।
माइकल आफैँमा एक बौद्धिक व्यक्ति हुन्। उनले ती महिलाको राहदानी, दक्षिण अफ्रिकी परिचयपत्र र नर्सिङ दर्ता प्रमाणपत्रसमेत मागेर अनुसन्धान गरेका थिए। ‘सुरुमै उनले मलाई साथीहरूसँगका धेरै व्यक्तिगत तस्बिर पठाएकी थिइन्,’ माइकलले भने, ‘करिब ५० वर्षकी महिला २० वर्ष जेठो व्यक्तिप्रति आकर्षित हुनु मेरा लागि खुसीको कुरा थियो।‘
नियमित भिडियो कल, कुराकानीको शैली र अनुहार वास्तविकजस्तै देखिने भएकाले माइकलले उनलाई आर्थिक सहयोग गर्न थाले। ‘म छिट्टै प्रेममा परेँ, एक भावुक मानिस भएकाले उनलाई सहयोग नगरी बस्न सकिनँ,’ उनले भने।
तर, यो एउटा सुनियोजित ठगी थियो। ठगहरूले अमेरिकाकी एक महिला डाक्टरको तस्बिर र भिडियो सामाजिक सञ्जालबाट चोरेर त्यसलाई फोटोसप गरेका थिए। त्यसपछि भ्वाइस-क्लोनिङ, एआई र फेस-स्वापिङ एपमार्फत भिडियो कलमा प्रयोग गर्न मिल्ने ‘डिजिटल मास्क’ तयार पारेका थिए।
क्विन्सल्यान्ड युनिभर्सिटीकी साइबर सुरक्षा तथा डिजिटल फोरेन्सिक विशेषज्ञ डा. प्रियंका सिंहले यो प्रविधि निकै खतरनाक बन्दै गएको बताएकी छन्। ठगहरूले अहिले नक्कली प्रोफाइलको साटो नक्कली मानिस नै खडा गर्न थालेको र उनीहरू लाइभ भिडियो कल गर्नसमेत नहिचकिचाउने उनले बताइन्।
माइकल र मेलानीबीचको १० मिनेट लामो भिडियो कलको विश्लेषण गर्दै डा. सिंहले केही प्राविधिक त्रुटिहरू औँल्याइन्। भिडियो कलमा ती महिलाको कानको मुन्द्रा र कपालको चाल अस्वाभाविक थियो। भिडियोको गति बढाएर हेर्दा उनी बसेको कुर्सीको आकार बदलिने र हराउने गरेको देखिन्थ्यो।
सबैभन्दा अचम्मको कुरा त, अनुहारमा हात लैजाँदा भिडियोमा ती महिलाका ६ वटा औँला देखिएका थिए।
‘यो फेस-स्वापिङ एपको त्रुटि थियो, जसले ठगलाई रङ्गेहात पक्रिन मद्दत गर्यो,’ डा. सिंहले भनिन्। प्रविधिको त्रुटि जाँच्नुभन्दा आफ्ना परिवार र नजिकका मानिसको सल्लाह लिनु यस्ता ठगीबाट बच्ने उत्तम उपाय भएको उनको सुझाव छ।
माइकलकी छोरीले उक्त सम्बन्धप्रति शङ्का व्यक्त गरेपछि उनी झस्किएका थिए। अन्ततः माइकलले आफ्नो अन्तिम भिडियो कल रेकर्ड गर्दै ती महिलालाई उनको वास्तविक नाम मेलानी नभएको भन्दै प्रतिकार गरे।
पोल खुलेपछि पनि ठगले भावनात्मक बार्गेनिङ गर्दै थप पैसा माग्ने प्रयास गरेको थियो। तर, माइकल टसमस नभएपछि ठगले फोन काटेको थियो।
माइकलले यसबारे प्रहरीमा उजुरी दिए पनि अन्तर्राष्ट्रिय गिरोह भएकाले पैसा फिर्ता हुने सम्भावना लगभग असम्भव देखिएको छ ।
विज्ञहरू के भन्छन् ?
अनलाइनमा कसैसँग चिनजान हुनु, नियमित कुराकानी हुनु वा भिडियोमा अनुहार देखिनु मात्रै ती व्यक्ति वास्तविक हुन् भन्ने प्रमाण नहुने विज्ञहरू बताउँछन्। प्रविधिको दुरुपयोग गरेर अरूको तस्बिर, आवाज र भिडियोसमेत नक्कली बनाउन सकिने भएकाले ठगी गर्ने व्यक्तिले आफ्नो वास्तविक पहिचान सजिलै लुकाउन सक्छन्।
अनलाइनखबरसँग कुरा गर्दै नेपाली सामाजिक सञ्जाल एप ‘थोप्ला’का विकासकर्ता उज्वल खनालले कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट ठगी गर्नेहरूले मानिसको अनुहार, आवाज र भिडियोमा परिवर्तन गर्न सक्ने बताए।
खनालका अनुसार एआई प्रविधिले वास्तविकजस्तै देखिने नक्कली तस्बिर, आवाज र भिडियो तयार पार्न सहज बनाएको छ। यसका कारण भिडियो वा टेलिफोनमा कुरा गरेको आधारमा मात्रै कसैको पहिचान पुष्टि गर्न कठिन हुन सक्छ। ठगी गर्नेहरूले अरू व्यक्तिको परिचय प्रयोग गरेर विश्वास जित्ने र त्यसपछि आर्थिक लाभ लिन खोज्ने जोखिम बढेको छ।
‘भिडियोमा देखिएको अनुहार वा फोनमा सुनिएको आवाजकै आधारमा कसैलाई पूर्ण रूपमा विश्वास गर्नु हुँदैन। प्रविधिको दुरुपयोग गरेर नक्कली दृश्य र आवाज बनाउन सकिने भएकाले भिडियो वा टेलिफोन कुराकानीकै आधारमा आर्थिक कारोबार गर्नु जोखिमपूर्ण हुन्छ,’ उनले बताए।
अनलाइनमा बनेको सम्बन्धलाई आधार बनाएर पैसा पठाउन, लगानी गर्न वा बैंक तथा व्यक्तिगत विवरण उपलब्ध गराउनुअघि सम्बन्धित व्यक्तिको पहिचान स्वतन्त्र रूपमा पुष्टि गर्नुपर्ने उनको सुझाव छ।
कसरी चिन्ने एआईमार्फत हुने प्रेम ठगी ?
यस्ता ठगीमा संलग्न व्यक्तिले सुरुमा सामाजिक सञ्जाल वा डेटिङ एपमार्फत सम्पर्क गर्न सक्छन्। उनीहरूले नियमित कुराकानी गर्ने, भावनात्मक सम्बन्ध स्थापित गर्ने र बिस्तारै विश्वास जित्ने प्रयास गर्छन्।
सम्बन्ध गहिरिएको जस्तो देखिएपछि आकस्मिक समस्या परेको बहाना बनाएर पैसा माग्ने, नाफा हुने लगानीको प्रस्ताव गर्ने वा क्रिप्टोकरेन्सीमा रकम राख्न प्रोत्साहित गर्ने सम्भावना हुन्छ।
कहिलेकाहीँ ठगी गर्नेहरूले आफू अस्ट्रेलिया वा अन्य देशमा रहेको, व्यवसायमा संलग्न भएको वा आर्थिक रूपमा सक्षम रहेको दाबी गर्न सक्छन्। तर, उनीहरूले प्रस्तुत गरेका तस्बिर, परिचय र विवरण वास्तविक हुन् भन्ने स्वतः मान्न मिल्दैन।
एआईबाट बनाइएका नक्कली भिडियो र आवाज सधैँ आँखाले हेरेर वा कानले सुनेर छुट्याउन सकिन्छ भन्ने पनि छैन। त्यसैले अनुहारमा अस्वाभाविक परिवर्तन देखिएमा मात्रै शङ्का गर्ने होइन, व्यक्तिको पहिचान र आर्थिक अनुरोधलाई अलग-अलग रूपमा जाँच्नुपर्छ।
ठगीबाट बच्न के गर्ने ?
अनलाइनमा चिनजान भएको व्यक्तिले पैसा मागेमा, लगानी गर्न दबाब दिएमा वा बैंक विवरण उपलब्ध गराउन भनेमा तत्काल निर्णय लिनु हुँदैन। आफूले पहिले नचिनेको व्यक्तिलाई भिडियोमा देखेको वा फोनमा कुरा गरेको आधारमा मात्र रकम पठाउनु जोखिमपूर्ण हुन्छ।
व्यक्तिको पहिचान पुष्टि गर्न उसले दिएको सम्पर्क विवरणमा मात्रै निर्भर नभई स्वतन्त्र स्रोतबाट जाँच गर्नुपर्छ। तस्बिरको उल्टो खोजी (रिभर्स इमेज सर्च), सम्बन्धित संस्थाको आधिकारिक सम्पर्क विवरण र विश्वसनीय व्यक्तिको सहयोग उपयोगी हुन सक्छ। तर, यी उपायले पनि पहिचान शतप्रतिशत पुष्टि गर्छन् भन्ने नहुने जानकारहरू बताउँछन् ।
कुनै व्यक्तिले सम्बन्ध गोप्य राख्न दबाब दिने, तुरुन्तै रकम पठाउन लगाउने, थप पैसा नपठाए सम्बन्ध बिग्रने धम्की दिने वा आफूले पठाएको रकम फिर्ता पाउन फेरि शुल्क तिर्नुपर्ने बताउने गरेमा विशेष सतर्क हुनुपर्छ।
ठगीमा परेमा लाज वा डरका कारण चुप बस्नु हुँदैन। बैंक वा भुक्तानी सेवा प्रदायकलाई तत्काल सम्पर्क गरी कारोबार रोक्न वा रकम फिर्ता ल्याउन सकिने सम्भावनाबारे बुझ्नुपर्छ। प्रमाणका रूपमा सन्देश, खाताको विवरण, फोन नम्बर र कारोबारका रसिद सुरक्षित राख्नुपर्छ।
अस्ट्रेलियामा यस्ता घटनाबारे ‘स्क्यामवाच’ वा अस्ट्रेलियाली साइबर सुरक्षा केन्द्रमार्फत जानकारी दिन सकिन्छ।
प्रविधि आफैँमा समस्या होइन, तर यसको दुरुपयोगबाट हुने ठगीबाट बच्न सचेतना र सावधानी आवश्यक छ। अनलाइनमा देखिएको अनुहार, सुनिएको आवाज र व्यक्त गरिएका भावनालाई मात्र सत्यको प्रमाण मान्नु हुँदैन।
डिजिटल सम्बन्धमा विश्वास गर्नुअघि पहिचान पुष्टि गर्ने, आर्थिक निर्णय हतारमा नगर्ने र शङ्का लागेमा पैसा नपठाउने बानी बसाल्नुपर्ने जानकारहरू बताउँछन् ।
( नाइन डट कमको सहयोगमा)
प्रतिक्रिया 4