News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी अनुसन्धानकर्ताले अनुहारका तस्वीरबाट बिरामीको जीवनकाल अनुमान गर्न सक्ने ‘एफएएचआर–फेससर्भाइभल’ एआई उपकरण विकास गरेका छन्।
बिरामीको अनुहार हेरेर चिकित्सकलाई बिरामीको स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने अनुमान गर्न मद्दत गर्ने उपकरण वैज्ञानिकले विकास गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताहरूले यो उपकरणलाई लाखौँ स्वस्थ व्यक्तिका अनुहार र क्यान्सरका बिरामीका ३५ हजार तस्वीर प्रयोग गरी प्रशिक्षण गरेको बताएका छन्।
यसले विशेषगरी आँखाको वरिपरिको भागलाई सूक्ष्म रूपमा विश्लेषण गरेर बिरामी कति समयसम्म जीवित रहन सक्छ भन्ने अनुमान लगाउन सक्ने उनीहरूको दावी छ।
अनुसन्धानकर्ताहरूका अनुसार, यो उपकरण अहिले नै अस्पतालमा बिरामीको उपचारमा अवस्थामा भने पुगिसकेको छैन । त्यसका लागि लामो समय काम गर्नै बाँकी छ । बिरामीलाई कस्तो उपचार आवश्यक छ भनी छनोट गर्न यसले चिकित्सकहरूलाई सहयोग गरोस् भन्ने उद्देश्यले यो उपकरण बनाइएको वैज्ञानिकहरूको भनाइ छ ।
अध्ययनको सुरुवाती रिपोर्ट ल्यान्सेट हेल्थ जर्नलमा प्रकाशित गरिएको छ ।
अनुहारको कुन भागले सबैभन्दा बढी जानकारी दिन्छ ?
यस एआई उपकरणको नाम ‘एफएएचआर–फेससर्भाइभल’ राखिएको छ । यस उपकरणका अनुसार, कुनै व्यक्ति कति समयसम्म जीवित रहन सक्छ भन्ने अनुमान लगाउन अनुहारका दुई भाग सबैभन्दा महत्त्वपूर्ण हुन्छन् । ती हुन्– आँखामुनिको भाग र दुवै आँखाको बीचमा पर्ने नाकको माथिल्लो भाग ।
बिरामी कति समयसम्म जीवित रहन सक्ने सम्भावना छ भन्ने अनुमान गर्दा यो उपकरणले अनुहारका यिनै भागलाई सबैभन्दा बढी महत्त्व दिन्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार, विभिन्न प्रकारका क्यान्सरमा पनि यी सूचकहरू उपयोगी देखिएका छन् । क्यान्सरको अवस्था कम गम्भीरदेखि निकै गम्भीरसम्म भएका बिरामीमा समेत यसले काम गरेको पाइएको छ । अध्ययनमा हड्डी वा मस्तिष्कसम्म क्यान्सर फैलिएका बिरामीलाई पनि समावेश गरिएको थियो ।
यो उपकरण विकास गर्न प्रयोग गरिएका क्यान्सरका बिरामीका तस्वीरमध्ये अधिकांश अमेरिका र नेदरल्यान्ड्सका बिरामीका थिए । उनीहरूको उमेर ५० देखि ७० वर्षबीच थियो । यद्यपि, अध्ययनमा केही बालबालिका र ९० वर्षभन्दा बढी उमेरका बिरामी पनि समावेश थिए ।
चिकित्सकहरूले बिरामीको अवस्था र भविष्यमा स्वास्थ्य कस्तो रहन सक्छ भन्ने आँकलन गर्न यसअघि नै विभिन्न परीक्षण र स्वास्थ्य जाँच गर्दै आएका छन् । यो एआई उपकरणको पेटेन्टका लागि आवेदन दिइएको छ र त्यसको स्वीकृति आउन बाँकी छ । यसले चिकित्सकको स्थान लिने भन्दा पनि चिकित्सकलाई सहयोग गर्न बनाइएको वैज्ञानिकहरूले बताएका छन् ।
अमेरिकाको बोस्टनस्थित मास जनरल ब्रिघम अस्पतालका प्रमुख अनुसन्धानकर्ता डा. रेमन्ड म्याकका अनुसार, मानिसको औसत आयु बढ्दै जाँदा चिकित्सकहरूलाई विकिरण उपचार, शल्यक्रिया वा शरीरभरि प्रभाव पार्ने औषधीय उपचारजस्ता विकल्पमध्ये उपयुक्त उपचार छनोट गर्न थप सहयोग आवश्यक पर्छ ।
यो उपकरणले बिरामीको शरीरमा कति शक्ति बाँकी छ र उनी कति कमजोर छन् भन्ने आँकलन गर्न चिकित्सकलाई मद्दत गर्ने डा. म्याकको भनाइ छ ।
म्याकका अनुसार, अनुहारको तस्वीरबाट स्वास्थ्यको आँकलनलाई अझ सटीक, एकरूप र ठूलो जनसङ्ख्यामा लागू गर्न सकिने बनाउनु अनुसन्धानकर्ताहरूको उद्देश्य हो । यसले प्रत्येक बिरामीको अवस्थाअनुसार उपचार छनोट गर्न सहयोग पुर्याउन सक्छ, तर चिकित्सकको निर्णयलाई प्रतिस्थापन गर्दैन ।
जैविक उमेर अनुमान गर्ने अर्को एआई उपकरण
म्याक र उनका सहकर्मीहरूले अर्को एआई उपकरणको पनि परीक्षण गरिरहेका छन् । यसले व्यक्तिको जैविक उमेर अनुमान गर्छ । अर्थात्, जन्ममितिका आधारमा उसको उमेर कति हो भन्नेभन्दा पनि शरीर र अनुहार हेर्दा ऊ कति उमेरको देखिन्छ भन्ने कुरा यसले आकलन गर्छ ।
यस उपकरणलाई ‘फेसएज’ नाम दिइएको छ ।
यसका अनुसार, नाकमुनि र मुखवरिपरिको छालाले व्यक्तिको उमेर बढ्ने गति कस्तो छ भन्नेबारे उपयोगी सङ्केत दिन सक्छ । यसमा नाकदेखि ओठको दुवै छेउसम्म देखिने रेखा तथा मुखको छेउबाट चिउँडोतर्फ जाने रेखाहरू पर्छन् । यसका अतिरिक्त, निधारका चाउरी, आँखाको छेउका चाउरी, कन्चट र गालाले पनि उमेर बढ्ने गतिबारे जानकारी दिन सक्छन् ।
डा. म्याकका अनुसार, दैनिक जीवनमा खिचिएका विभिन्न प्रकारका तस्वीरमा पनि यस उपकरणले ‘आश्चर्यजनक रूपमा एकरूप’ नतिजा दिएको छ । तस्वीर खिच्ने तरिका, प्रकाश, अनुहारको भाव र मेकअप फरक हुँदा पनि यसको नतिजामा धेरै परिवर्तन देखिएन ।
यस उपकरणलाई विभिन्न प्रकारका प्लास्टिक सर्जरीपछि पनि परीक्षण गरिएको थियो । अधिकांश शल्यक्रियापछि नतिजा लगभग स्थिर रहे । तर, नाकको आकार परिवर्तन गर्ने शल्यक्रिया अर्थात् राइनोप्लास्टीपछि नतिजामा केही परिवर्तन देखियो ।
‘अहिले सुरुवाती चरणमा छ, थप तथ्याङ्क आवश्यक छ’
यी नतिजा उत्साहजनक भए पनि अनुसन्धानकर्ताहरूले यी उपकरणको प्रभावकारिता सही रूपमा मूल्याङ्कन गर्न अझ धेरै तथ्याङ्क र विभिन्न व्यक्तिका अनुहारका तस्वीर आवश्यक रहेको बताएका छन् ।
विशेषगरी विभिन्न जातीय समूहका मानिसका थप तस्वीर आवश्यक छन् । दुवै उपकरण अझै पूर्ण रूपमा विकसित भइसकेका छैनन् । तिनलाई थप सुधार गर्ने काम जारी छ ।
अनुसन्धान टोलीले सर्वसाधारणलाई पनि यस अध्ययनमा सहभागी हुन आमन्त्रण गरिरहेको छ । इच्छुक व्यक्तिले अनुसन्धानकर्ताहरूलाई आफ्नो अनुहारको तस्वीर पठाएर आफ्नो जैविक उमेरको व्यक्तिगत अनुमान प्राप्त गर्न सक्छन् ।
यो उपकरणले समयसँगै हुने उमेर वृद्धिको प्रक्रिया वा जीवनशैलीमा आउने परिवर्तनलाई निगरानी गर्न सक्छ भनेर अहिले नै दाबी गर्नु हतार बेलायतको युनिभर्सिटी अफ सरेमा भिडियो प्रोसेसिङ तथा मेसिन लर्निङका विशेषज्ञ प्राध्यापक मिरोस्लाभ बोबर बताउँछन् ।
‘यो सुरुवाती चरणमा आशा जगाउने प्रयोग हो, तर अस्पतालमा प्रयोग गर्नका लागि अझै तयार भइसकेको छैन’ उनले भने ।
उनका अनुसार, यस उपकरणले दिएका नतिजालाई चिकित्सकहरूको आफ्नै आकलनसँग तुलना गर्न आवश्यक छ । साथै, विभिन्न अस्पताल र फरक–फरक समूहका बिरामीमा पनि यसको परीक्षण गर्नुपर्छ ।
बीबीसीबाट
प्रतिक्रिया 4