२० भदौ, काठमाडौं । नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ । सरकारी तथ्यांकअनुसार जनवरी २०२६ यता किर्नाले टोकेर देशभर १० हजारभन्दा बढी संक्रमित भएका छन् ।
यो अवधिमा २२ जनाको मृत्यु भइसकेको ईडीसीडीमा रिपोर्ट भए पनि ७ जनाको मात्रै स्क्रब टाइफसको कारण मृत्यु भएको पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार १५ जनाको मृत्युको कारणबारे थप पुष्टि गर्ने काम भइरहेको छ ।
स्क्रब टाइफस नेपालमा हरेक वर्ष देखिने संक्रमण हो । विगतका वर्षहरूमा पनि ८–१० हजारको हाराहारीमा संक्रमित हुने गरेका थिए । तर यस पटक सल्यानमा मृत्युका घटना देखिएपछि संक्रमणको जोखिमबारे थप चासो बढेको हो ।
ईडीसीडीका अनुसार २०८० मा ९ हजार ३३० जनामा स्क्रब टाइफस संक्रमण देखिएको थियो । २०८१ मा ११ हजार ५०० र २०८२ मा भने ७ हजारमा संक्रमण पुष्टि भएको थियो । तर कसैको ज्यान गएको थिएन ।
‘स्क्रब टाइफस हरेक वर्ष देखिन्छ । पोहोर–परार पनि हजारौंमा संक्रमण भएको थियो । फरक यति हो, यस पटक सल्यानमा मृत्युका घटना देखिएका छन्,’ दाहालले भने अनलाइखबरसँग भने ।

ईडीसीडीको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा मात्रै २ हजार ७७९ जना स्क्रब टाइफसबाट संक्रमित भएका छन् । त्यसैगरी, सुदूरपश्चिममा १ हजार ९४७, गण्डकीमा १ हजार ८६४, बागमतीमा १ हजार २२६, कोशीमा १ हजार १३२, कर्णालीमा ७२९ र मधेशमा २४६ जनामा संक्रमण पुष्टि भएको छ ।
दाङ, सल्यान, बझाङ, स्याङ्जा, बर्दिया, पाल्पा, संखुवासभा लगायतका जिल्लाहरूमा यो रोगको संक्रमण धेरै देखिएको छ ।
ढिला उपचार गर्दा अंगमा असर
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्छ । माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिन्छ ।
सल्यानमा मृत्यु भएका व्यक्तिहरूको प्रारम्भिक अध्ययन गर्दा स्वास्थ्य संस्था पुग्न ढिला गर्नु प्रमुख कारणमध्ये एक देखिएको दाहाल बताउँछन् ।
‘केन्द्रबाट गएर अध्ययन गर्दा उहाँहरू समयमै अस्पताल नपुगेर मृत्यु भएको देखिन्छ,’ डा. दाहालले भने, ‘ज्वरो आएपछि पनि घरमै सिटामोल खाएर बस्ने र स्वास्थ्य संस्था पुग्न ढिला गर्ने प्रवृत्तिले मृत्यु भएको देखिन्छ ।’
स्क्रब टाइफसको उपचारका लागि आवश्यक औषधि स्वास्थ्य संस्थामा वर्षभरि निःशुल्क उपलब्ध हुने भएकाले समयमै उपचार पाएमा बिरामी निको हुने दाहाल बताउँछन् ।
स्क्रब टाइफसको समयमै उपचार नपाए मल्टी अर्गन डिसफङ्क्सन अर्थात् शरीरका विभिन्न अंगले एकसाथ काम गर्न छाड्ने अवस्था आउँछ । त्यसपछि बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ र मृत्युको जोखिमसमेत बढ्छ ।
‘ज्वरो आउनेबित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गरियो भने औषधि उपलब्ध हुन्छ र उपचार सम्भव छ,’ उनी भन्छन्, ‘तर ढिला हुँदा संक्रमणले अन्य अंगमा असर गरिसकेको हुन्छ । त्यसपछि जटिलता थपिँदै जान्छ ।’

हालसम्म २० जनाभन्दा बढीको मृत्यु भइसकेको ईडीसीडीमा रिपोर्ट भएको छ । तर त्यसबारे यकिन गर्ने काम भइरहेको डा. दाहालले बताए ।
उनका अनुसार स्क्रब टाइफसबाट भएको मृत्यु पुष्टि गर्न मृत्यु प्रमाणपत्र, उपचारको विवरण र चिकित्सकसँगको छलफलबाट यकिन गरिन्छ ।
‘कतिपय अवस्थामा बिरामीको मृत्युको प्रमुख कारण अरू नै हुनसक्छ। रिपोर्टिङका क्रममा स्क्रब टाइफस भनेर मात्रै उल्लेख भएको हुनसक्छ,’ उनले भने, ‘त्यसैले हामी डेथ सर्टिफिकेट र मेडिकल रेकर्ड हेरेर चिकित्सकसँग छलफल गरेपछि मात्रै भेरिफाइड डेथमा राख्छौं ।’
किन बढ्छ वर्षायामपछि संक्रमण ?
स्क्रब टाइफस ओरिएन्टिया सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने संक्रमण हो । डा. दाहालका अनुसार यसको मुख्य स्रोत मुसा हो । संक्रमित मुसाको सम्पर्कमा आएको किर्ना संक्रमित हुन्छ । त्यस्तो संक्रमित किर्नाले मानिसलाई टोकेपछि ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गर्छ ।
नेपालमा स्क्रब टाइफस डेंगुपछिको दोस्रो सबैभन्दा धेरै देखिने कीटजन्य रोगमा पर्छ। २०७२ सालको भूकम्पपछि नेपालमा यो रोग देखिन थालेको हो ।
जंगल, झाडी तथा घाँसपात नजिकका क्षेत्रमा यसको जोखिम बढी हुने उनले बताए । वर्षायामपछि वातावरणमा चिस्यान र आर्द्रता बढी हुने, घाँसपात बढ्ने तथा मानिसको जंगल–झाडी र खेतबारीसँगको सम्पर्क बढ्ने भएकाले किर्नाको सक्रियता पनि बढ्ने गर्छ ।

यही समयमा मकै तथा अन्य कृषि उपज भित्र्याउने काम हुने भएकाले मानिस र किर्नाबीच सम्पर्क बढ्दा संक्रमणको जोखिम थप बढ्न सक्ने दाहालको भनाइ छ ।
‘यो सिजनमा ह्युमिडिटी र तापक्रम किर्नाको विकासका लागि अनुकूल हुन्छ । मानिस पनि घाँसपात, खेतबारी र जंगलसँग बढी सम्पर्कमा हुन्छन्,’ उनले भने, ‘मुसाको गतिविधि पनि बढ्ने भएकाले संक्रमण बढी देखिन्छ ।’
ज्वरो आए तत्काल स्वास्थ्य संस्था जान आग्रह
ईडीसीडीले अहिले नागरिकलाई ज्वरो आएमा घरमै बसेर औषधि खानेभन्दा तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ ।
विशेषगरी सल्यानमा संक्रमण र मृत्युका घटना देखिएकाले स्थानीयस्तरमा जनचेतना बढाउन आवश्यक रहेको दाहालले बताए । स्क्रब टाइफसको परीक्षणमा प्रयोग हुने कीटमा केही सीमितता भए पनि चिकित्सकीय मूल्यांकन र समयमै उपचार महत्वपूर्ण हुने उनको भनाइ छ ।
‘कुनै पनि टेस्ट कीट शतप्रतिशत सुनिश्चित हुँदैन । कहिलेकाहीँ अरू कारणले आएको ज्वरोमा पनि पोजिटिभ देखिन सक्छ,’ उनले भने, ‘तर बिरामीको अवस्था हेरेर चिकित्सकले समयमै उपचार सुरु गर्न सकेमा मृत्यु रोक्न सकिन्छ ।’

नेपालमा स्क्रब टाइफस वर्षभरि देखिने भए पनि वर्षायामपछि संक्रमण तुलनात्मक रूपमा बढी देखिने गरेको ईडीसीडीको भनाइ छ । अहिले ७४ जिल्लामा संक्रमण देखिनुले यो रोग कुनै निश्चित भूगोलमा मात्र सीमित नरहेको देखाएको छ ।
स्क्रब टाइफसका लक्षण
ग्रामीण तथा पहाडी क्षेत्रमा फैलावट बढी देखिएको स्क्रब टाइफसले ज्वरो आउने, टाउको दुख्ने, गिर्खा आउने, पसिना धेरै आउने, खान मन नलाग्ने, आँखा रातो हुने, खोकी लाग्ने, झाडापखाला लाग्ने, निमोनिया हुने, शरीर दुख्ने, शरीरमा गिर्खा बढेको जस्तो महसुस हुने लक्षण देखाउँछ ।
त्यसैगरी किरा (माइट) ले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिने र पछि गएर कालो दाग बस्ने गर्छ ।
खेतबारीमा काम गर्दा वन-जंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउनुपर्छ ।
त्यसैगरी, घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने, बारी, झाडी, घाँस तथा धुरान बढ्न नदिने र मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरण सिर्जना गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4