+

सन्यासपछि मेसीले भने : मलाई थाहा छ मैले सही निर्णय लिएको छु

२०८३ असोज  २२ गते ८:१४ २०८३ असोज २२ गते ८:१४

२२ असोज, काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेलेपछि भावुक सन्देश दिएका छन् । उनले अर्जेन्टिनाको प्रतिष्ठित निलो र सेतो जर्सी लगाउन आफूले अहिले नै सम्झिन थालेको बताएका छन् ।

मेसीले सामाजिक सञ्जालमार्फत आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई सम्झिँदै आफूले सही निर्णय लिएकोमा स्पष्ट रहेको उल्लेख गरेका छन् । उनले अर्जेन्टिनाको जर्सीमा बिताएको समयलाई खुसी र केही दुःखले भरिएको अविस्मरणीय यात्राका रूपमा वर्णन गरेका छन् ।

‘हिजो मेरो अन्तिम खेल थियो र मैले निलो र सेतो जर्सी लगाउन पहिले नै सम्झिन थालेको छु । मलाई थाहा छ, मैले सही निर्णय लिइरहेको छु। यो खुसी र केही दुःखले भरिएको अविश्वसनीय यात्रा थियो। तर मैले चालेका हरेक कदम सार्थक थिए भन्नेमा म स्पष्ट छु’ मेसीले लेखेका छन् ।

उनले आफ्नो यात्रामा परिवारले दिएको साथलाई सबैभन्दा महत्वपूर्ण बताएका छन् । विशेषगरी कठिन समयमा परिवारले आफूलाई निरन्तर साथ दिएको भन्दै मेसीले साथीहरू, आफूले सँगै खेलेका खेलाडी, प्रशिक्षक तथा प्राविधिक टोलीलाई पनि धन्यवाद दिएका छन् ।

मेसीले अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनालाई पनि सम्झिएका छन् । उनले म्याराडोनाले अर्जेन्टिनालाई योग्य स्थानमा पुर्‍याएको उल्लेख गर्दै आफ्नो यात्राका हरेक कदममा म्याराडोनाको साथ रहेको महसुस गर्ने बताएका छन् ।

‘डिएगोले हाम्रो देशलाई जहाँ हुनुपर्ने थियो, त्यहाँ पुर्‍याए । मैले सधैँ भन्दै आएको छु, उनी हामीसँग यहाँ हुँदा र स्वर्गबाट पनि हामीले चालेका हरेक कदममा सहयोग गरिरहेका छन्’ मेसीले लेखेका छन् ।

राष्ट्रिय टोलीका लागि खेल्न अनुमति र समर्थन गरेको भन्दै उनले आफूले प्रतिनिधित्व गरेका क्लबहरूलाई पनि धन्यवाद दिएका छन् । राष्ट्रिय टोलीको जर्सी लगाउँदा देशका लागि समर्पित हुन क्लबहरूले दिएको स्वतन्त्रता आफूका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ ।

मेसीले आफ्नो यात्राका लागि भगवानप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् । ‘म कृतज्ञ छु। म तपाईंहरू सबैलाई धेरै माया गर्छु, तपाईंहरूलाई सम्झिरहनेछु र सधैँ कृतज्ञ रहनेछु’ उनले लेखेका छन् ।

लियोनल मेसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय