+

अझै एक दिन !

२०८३ असोज  २० गते १६:२९ २०८३ असोज २० गते १६:२९
Shares
अझै एक दिन !

अस्पतालमा रात कहिले हुदैन्, त्यहाँ केवल एउटा सुन्दर बिहानीको प्रतिक्षा हुन्छ । दिनभरि सुनिने आवाजहरू विस्तारै पातलिँदै जान्छन् । मानिसहरूको आवतजावत कम हुन्छ । करिडोरका बत्तीहरूले रातको अन्धकार माथि आशा र विश्वासको उज्यालो छरिरहेका हुन्छन् ।

प्रसूति कक्षको ढोकाबाहिर कहिलेकाहीँ कसैको हतारिएको पाइला सुनिन्छ । कतै बच्चा रोएको आवाज आउँछ । त कतै नर्सहरूको कुराकानी । अनि फेरि सबै कुरा शान्त… । त्यस्तो शान्तिमा पनि चिकित्सकको मन भने प्रायः शान्त हुँदैनन् ।

त्यो रात पनि म शान्त थिइनँ । मेरो मनमा एउटी गर्भवती महिला थिइन् । गर्भमा हुर्किरहेको बच्चा अझै संसारमा आउन तयार भइसकेको थिएन । तर बच्चालाई घेरेर राख्ने पानी भने समयअगावै बग्न थालेको थियो।

गर्भ करिब अठ्ठाइस हप्ताको थियो । अर्थात् बच्चाले आमाको गर्भभित्र अझै केही हप्ता बस्नुपर्ने समय बाँकी नै थियो । तर प्रकृतिले कहिलेकाहीँ आफ्नो समयभन्दा अगाडि नै ढोका खोल्न खोज्छ । त्यस्तो बेला चिकित्सकका अगाडि एउटा कठिन प्रश्न उभिन्छ, ढोका बन्द गर्ने कोशिश गरेर अझै केही समय रोकिराख्ने कि ढोका खोल्न दिने ? यी दुवै निर्णयसँग डर जोडिएको हुन्छ । सफलताको ग्यारेन्टि हुँदैन । त्यो गर्भावस्थामा पनि त्यस्तै थियो ।

बच्चालाई अहिले नै जन्मायौँ भने ऊ समयभन्दा पहिले संसारमा आउनेछ । उसलाई श्वास फेर्न गार्‍हो हुनेछ । दूध निल्न र पचाउन झनै गार्‍हो हुने सम्भावना छ । अझै केही समय आमाको गर्भभित्र रहन पायो भने उसको शरीरलाई थप परिपक्व हुने अवसर मिल्नेछ ।

तर अर्को डर पनि थियो । पानी बगिसकेको थियो । संक्रमणको खतरा बढ्न सक्छ । अर्थात्, पर्खाइ पनि जोखिममुक्त थिएन । र रोक्न सक्ने ग्यारेन्टि गर्ने उपचार थिएन । त्यो दिन मैले आफूलाई एउटा चिकित्सकभन्दा बढी एउटा पर्खालको छेउमा उभिएको मान्छे जस्तो महसुस गरेको थिएँ । एकातिर समय … । अनि अर्कोतिर जोखिम .. । बीचमा एउटी आमा । र उनको गर्भभित्र एउटा सानो जीवन .. ।

पहिलोपटक उनी अस्पतालमा भर्ना भइन् । जाँचहरू भए । बच्चाको मुटुको चाल ठीक थियो । आमालाई ज्वरो थिएन । तत्काल संक्रमण देखाउने संकेतहरू पनि थिएनन् । तर गर्भभित्रको पानी निकै कम भइसकेको थियो ।

म उनको रिपोर्ट हेर्दै थिएँ । अझै कति समय कुर्न सकिन्छ ? एक हप्ता ? दुई हप्ता ? वा त्यसभन्दा बढी ? कसैसँग उत्तर थिएन । चिकित्सकले भविष्यको ग्यारेन्टी दिन सक्दैन ।

त्यस दिन तत्काल बच्चालाई नजन्माउने प्रयास गर्ने निर्णय भयो । अझै केही समय पर्खनु नै उपयुक्त ठानियो । औषधि दिइयो । निगरानी गरियो । आमाको अवस्था हेरियो । बच्चाको चाल र मुटुको धड्कन हेरियो । र केही दिनको अस्पताल बसाईपछि उनी अस्पतालबाट घर गइन् ।

उनी घर गए पनि मेरो मन भने पूर्ण रूपमा घर जान सकेको थिएन । गर्भमा पानी कम थियो । त्यसैले मनमा एउटा प्रश्न अड्किइरह्यो, ‘फेरि कहिले आउलिन् ?’

दोस्रोपटक केही दिनपछि उनी फेरि आइन् । गर्भ ३० हप्ताभन्दा माथि पुगेको थियो । फेरि पानी बग्ने समस्या भयो । यस पटक पनि ज्वरो थिएन । प्रसवव्यथा सुरु भएको थिएन । बच्चाको अवस्था पनि तत्काल चिन्ताजनक थिएन ।

मैले फेरि हिसाब गरे । अघिल्लो पटकभन्दा केही समय जितिसकेका थियौँ । मलाई लाग्यो, हामीले केही दिन बचाएका छौँ ।

यस पटक पनि ५ दिनको अस्पताल बसाई पछि उनी घर गइन् । तर फेरि त्यही प्रतीक्षा थियो । फेरि त्यही फोनको सम्भावना .. । अनि फेरि त्यही प्रश्न, ‘अब के हुन्छ ?’

गर्भ बत्तीस हप्तामा पुग्यो । उनी फेरि अस्पताल आइन् । यसपटक रिपोर्टमा एउटा सानो राहत थियो । गर्भभित्रको पानी पहिलेभन्दा केही बढेको देखियो । बच्चाको अवस्था सन्तोषजनक थियो । संक्रमणको तत्काल संकेत थिएन । मलाई लाग्यो, सायद हामीले कठिन बाटोको केही दूरी पार गरिसकेका छौँ । २८ हप्ताबाट ३२ हप्तासम्म आइपुग्नु सानो कुरा थिएन । गर्भावस्थाका लागि चार हप्ता धेरै हुन्छ । विशेषगरी त्यस्तो गर्भावस्थामा, जहाँ प्रत्येक दिन आफैँमा एउटा उपलब्धि हुन्छ ।

अस्पतालमा मैले एउटा कुरा धेरैपटक सिकेको छु, राहतलाई धेरै लामो समय अँगालेर बस्न पाइँदैन । अर्को क्षणले फेरि सबै कुरा बदल्न सक्छ । श्रावणको १४ गते । त्यो दिन अकाशको पानीलाई धर्तीलाई चिस्याउने प्रयास गर्दै थियो । जताततै पानी र हिलो थियो । अनि गर्भ तेत्तीस हप्ता दुई दिन पुगेको थियो । उनी फेरि अस्पताल आइन् । यसपटक थप जटिलता थियो । पेट दुखिरहेको थियो । ज्वरो आएको थियो । रगत परीक्षणमा संक्रमणको सम्भावना देखाएको थियो । तर गर्भमा बच्चाको ढुकढुकी राम्रो थियो । शरीरले हामीलाई संकेत गरिरहेको थियो, अब पर्खिनु हुँदैन ।

हामीले आकस्मिक शल्यक्रियाको तयारी गर्‍यौँ । बाहिर परिवारका मानिसहरू थिए । कसैको आँखामा प्रश्न । कसैको अनुहारमा डर । कसैले धेरै कुरा सोध्न खोजेको थियो होला । तर त्यस्तो समयमा शब्दहरू पनि कहिलेकाहीँ साना लाग्छन् ।

शल्यक्रिया कक्ष । त्यहाँ बाहिरको संसारभन्दा फरक एउटा संसार हुन्छ । सेतो उज्यालो । मेसिनहरूको आवाज । छिटोछिटो चलिरहेका हातहरू .. । आवश्यकभन्दा बढी बोल्न नपर्ने एउटा मौनता । तर त्यो मौनतामा सबैलाई एउटै कुरा थाहा हुन्छ, अहिले हतार गर्नुपर्छ ।

शल्यक्रिया सुरु भयो । केही समयपछि बच्चा जन्मियो । सानो छोरा । तौल करिब दुई किलो । उसले पहिलो साससँगै एउटा सानो आवाज निकाल्यो । त्यो आवाज ठूलो थिएन । तर त्यो क्षणमा त्योभन्दा ठूलो आवाज संसारमा अर्को थिएन ।

मैले उसको अनुहारतिर हेरेँ । यति सानो । यति अपूर्ण । तर जीवनले भरिएको थियो । उसको अवस्था हेर्दै गर्दा मनले फेरि अर्को प्रश्न सोध्यो, ‘अब ऊ कस्तो रहला ?’ बच्चालाई विशेष हेरचाह चाहियो । ऊ आमाको काखमा जान पाएन । त्यो क्षण सायद आमाका लागि सबैभन्दा लामो क्षण थियो।

बच्चा जन्मिसकेको थियो । तर आमाले उसलाई आफ्नो छातीमा टाँस्न पाएकी थिइनन् । आमाको गर्भबाट बाहिर आएको बच्चा अब एउटा अर्को कोठामा थियो । मेसिनहरूको बीचमा थियो । अक्सिजनको सहारामा .. । र आमा आफ्नै शरीरको घाउ र थकानसँग अर्को कोठामा थियो । जन्म र आमाबीच केही समयका लागि अस्पतालको एउटा भित्तो उभिएको थियो ।

त्यस रात शल्यक्रिया सकिएको थियो । तर मेरो मनमा शल्यक्रिया सकिएको थिएन । म सोचिरहेको थिएँ, यदि २८ हप्तामै बच्चा जन्माएको भए ? यदि त्यति बेला पर्खन नसकेको भए ? यदि अवस्था बिग्रिएको भए ? यदि अन्तिम दिन पनि हामीले ‘अझै केही समय’ भनेको भए ?

चिकित्सकसँग निर्णय गर्ने अधिकार हुन्छ । तर निर्णयको परिणाममाथि पूर्ण नियन्त्रण हुँदैन । यही नै चिकित्सकको डर हो । हामीले आफ्नो ज्ञान प्रयोग गर्छौ । अनुभव प्रयोग गर्छौ । उपलब्ध प्रमाण हेर्छौ । तर अन्तिम परिणाम भने हाम्रो हातमा हुँदैन । त्यसैले कुनै बिरामीको राम्रो परिणाम आएपछि हामी एउटा लामो सास फेर्छौ । त्यो सासमा खुसी हुन्छ । र राहत पनि .. । तर कहिलेकाहीँ पछुतोको डर पनि ।

अर्को बिहान आमा स्थिर थिइन् । बच्चा अझै विशेष हेरचाहमा थियो । केही घण्टापछि बच्चालाई सास फेर्न थप सहयोग चाहिएको थियो । तर विस्तारै अवस्था सम्हालिँदै गयो । केही दिन उसले अस्पतालकै विशेष कक्षमा बितायो ।

उता आमाको शरीर पनि आफ्नो संघर्षमा थियो । रगतको मात्रा घट्यो । तेस्रो दिन रगत दिनुपर्‍यो । शरीरले प्रसव र शल्यक्रियाको मूल्य तिर्दै थियो । तर उनी बिस्तारै उठ्न थालिन् । हिँड्न थालिन् । र केहि दिनमा नै उनी बच्चालाई भेट्न गइन् । सायद त्यो भेटको कुनै शब्द थिएन । सायद बच्चाले पनि केही बोलेन । तर आमाले आफ्नो हात बच्चाको शरीरमा राखेको त्यो दृश्य नै अदभूत थियो ।

केही दिनपछि बच्चाले आमाको दूध खान थाल्यो । त्यो सुन्दा मेरो मनमा एउटा अनौठो शान्ति आयो । मैले सोचेँ, यति लामो यात्रा हामीले केका लागि गरेका रहेछौँ ? एउटा बच्चा आफ्नी आमाको दूध खान सक्ने अवस्थामा पुग्नका लागि … ।

कहिलेकाहीँ बिरामीका आफन्तहरू भन्छन्न्, ‘डाक्टर साब, तपाईंले बचाइदिनुभयो ।’ म त्यो सुन्दा मुस्कुराउँछु । तर मनभित्र भने एउटा प्रश्न उठ्छ, साँच्चै मैले बचाएको हो त ?

मैले निर्णय गरेको हुँ । समयमा शल्यक्रिया गरेको हुँ । औषधि चलाएको हुँ । तर त्यो बच्चालाई २८ हप्ताबाट ३३ हप्ता दुई दिनसम्म आफ्नो गर्भभित्र कसले बोकेर राखिन् ? त्यो आमा । हामीले भनेका थियौँ, ‘अझै केही समय’ । उनले त्यो ‘केही समय’ सहिन् । हामीले प्रत्येक पटक जाँच्यौँ । उनले प्रत्येक पटक आशा गरिन् । हामीले जोखिम तौलियौँ । उनले डर तौलिन् । हामीले निर्णय गर्‍यौँ । उनले परिणाम भोगिन् ।

त्यसैले त्यो बच्चाको जन्मलाई केवल चिकित्सकको सफलता भन्नु अन्याय हुनेछ । त्यो आमाको धैर्यतम थियो । त्यो परिवारको विश्वास थियो । स्वास्थ्यकर्मीहरूको निरन्तर साथ थियो । र त्यस सबैभन्दा माथि, जीवनले आफूलाई बचाउने बाटो आफैँ खोजेको एउटा कथा थियो ।

जीवनका केही ठूला निर्णयहरू ठूलो आवाजमा हुँदैनन् रहेछ । ती प्रायः एउटा सानो वाक्यमा लुकेका हुन्छन्, ‘अझै एक दिन हेरौँ’। तर त्यो ‘एक दिन’ सामान्य दिन हुँदैन । त्यसभित्र आशा हुन्छ । डर हुन्छ । प्रार्थना हुन्छ । चिकित्सकको जिम्मेवारी हुन्छ । आमाको पीडा हुन्छ । परिवारको प्रतीक्षा हुन्छ । र गर्भभित्र चुपचाप हुर्किरहेको एउटा जीवन हुन्छ ।

अस्पताल आमा शिशु
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अझै एक दिन !

अझै एक दिन !

चिन्ता कुन बेला मानसिक स्वास्थ्य समस्याको संकेत बन्न पुग्छ ?

चिन्ता कुन बेला मानसिक स्वास्थ्य समस्याको संकेत बन्न पुग्छ ?

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?