१८ असोज, काठमाडौं । प्रसवका बेला हुने पीडा कम गर्न प्रयोग गरिने ‘एपिड्युरल एनाल्जेसिया’ लाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा प्रयोगात्मक कार्यशाला आयोजना गरिएको छ ।
महाराजगञ्ज मेडिकल कलेजमा आयोजित एकदिने कार्यशालामा एनेस्थेसियोलोजिस्ट तथा एनेस्थेसियोलोजीका आवासीय चिकित्सकलाई प्रशिक्षण प्रदान गरिएको हो । कार्यशालामा काठमाडौं उपत्यकाका २४ जना एनेस्थेसियोलोजिस्ट र मेडिकल रेजिडेन्ट सहभागी भएका थिए । प्रसव वेदनाको व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा केन्द्रित कार्यशालामा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्याससमेत गराइएको थियो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच) महाराजगञ्जको एनेस्थेसियोलोजी विभाग र अब्ट्रेटिक एनेस्थेसिया एण्ड क्रिटिकल केयर नेपालको आयोजनामा कार्यशाला भएको हो । यसलाई सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालले सहयोग गरेको थियो ।
कार्यशालामा विशेषगरी प्रसवका बेला ढाडको मेरुदण्डनजिक औषधि दिएर पीडा कम गर्ने ‘एपिड्युरल एनाल्जेसिया’ मा ध्यान दिइएको थियो। सहभागीलाई बिरामीसँग परामर्श गर्ने, सहमति लिने, अवस्था निरन्तर निगरानी गर्ने तथा औषधिको सही मात्रा निर्धारण गर्नेदेखि सुरक्षित रूपमा प्रसव पीडा व्यवस्थापन गर्ने प्रक्रियासम्म अभ्यास गराइएको थियो।
कार्यशालाका क्रममा सहभागीले प्रसव पीडा पर्याप्त रूपमा कम नभएको अवस्था, गम्भीर टाउको दुखाइजस्ता सम्भावित जटिलता व्यवस्थापन तथा आवश्यक परेको अवस्थामा एपिड्युरललाई शल्यक्रिया अर्थात् सिजेरियन सेक्सनका लागि छिटो रूपान्तरण गर्ने तरिकाबारे पनि अभ्यास गरे।
त्यसैगरी मेरुदण्ड परीक्षणका लागि अल्ट्रासाउन्ड प्रयोग गर्ने र व्यावहारिक अभ्यासका लागि सिमुलेसन मोडल प्रयोग गर्ने उन्नत सीपसमेत सहभागीले सिकेका थिए ।
कार्यशालामा सामान्य अवस्थाका गर्भवतीभन्दा थप सावधानी आवश्यक पर्ने उच्च जोखिमयुक्त अवस्थाबारे पनि विशेष सत्र राखिएको थियो । मुटुरोग, स्नायुसम्बन्धी समस्या, प्रि–इक्लेम्पसिया तथा रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेका महिलामा प्रसव पीडा व्यवस्थापन गर्दा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइएको थियो।
यस्ता जटिल स्वास्थ्य अवस्था भएका गर्भवतीको हेरचाह गर्दा व्यक्तिगत आवश्यकताअनुसार योजना बनाउनुपर्ने र एनेस्थेसियोलोजिस्ट तथा प्रसूति विशेषज्ञबीच स्पष्ट समन्वय आवश्यक हुनेमा कार्यशालाले जोड दिएको थियो ।
कार्यशाला संयोजक डा. बासुदेव पराजुलीले शिक्षण अस्पतालमा एनेस्थेसियोलोजिस्टलाई प्रसव पीडा व्यवस्थापनको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यशालामा डा. तारा गुरुङ, डा. संगीता श्रेष्ठ, डा. उज्मा श्रेष्ठ, डा. प्रमी बज्राचार्य, डा. मञ्जु महर्जन, डा. उत्सव आचार्य, डा. अक्षय प्रधान, डा. हेमन्त अधिकारी, डा. रश्मी थापा, डा. सचिन कोइराला र डा. सुरेश प्रधानलगायत विशेषज्ञको टोलीले प्रशिक्षण दिएको थियो ।
प्रतिक्रिया 4