+
+
Shares

हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

हेटौँडा-ढल्केबर प्रसारण लाइनलाई विद्युत् प्रणालीको ‘ब्याकबोन’ का रूपमा लिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १८:३४

१८ असोज, काठमाडौं । करिब १२ वर्षदेखि अल्झिएको हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।

बाँकी दुई मल्टिसर्किट टावर निर्माण सम्पन्न गरेर दसैंलगत्तै प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आइतबार हेटौँडा-ढल्केबर ४०० केभी सबस्टेसन निरीक्षण गर्दै निर्माणाधीन दुई मल्टिसर्किट टावरको प्रगति विवरण लिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारण लाइन अन्तर्गत १६ वटा टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण सम्पन्न भइसकेका छन् । बाँकी दुइटा मल्टिसर्किट टावर पनि निर्माण अन्तिम चरणमा छन् ।

‘१४ वटा टावर तयार भइसक्यो, बाँकी दुइटा टावरको कार्यप्रगति राम्रो छ, १०/१५ दिनमै तयार गरेर चार्ज गर्छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘दसैंलगत्तै चार्ज गर्ने तयारी छ ।’

उनका अनुसार हेटौँडा-ढल्केबर प्रसारण लाइनलाई विद्युत् प्रणालीको ‘ब्याकबोन’ का रूपमा लिइएको छ । यो प्रसारण लाइन सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता बढ्नुका साथै विद्युत् खपत र निर्यात दुवै बढाउन सहज हुनेछ ।

करिब १२ वर्षदेखि विभिन्न कारण रोकिएको प्रसारण लाइनको बाँकी काम अगाडि बढाउन ऊर्जामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अघि बढाएका थिए । त्यसपछि रोकिएको कामले गति लिएको प्राधिकरणले जनाएको छ ।

मन्त्री श्रेष्ठले हेटौँडा-ढल्केबर प्रसारण लाइनलाई नेपालको ऊर्जा क्षेत्रको ‘मेरुदण्ड’ भएको बताए ।

‘१६ वटा टावरको काम विगत लामो समयदेखि, १२ वर्षदेखि रोकिएको थियो, राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेको थियो तर के गर्ने भन्ने अन्योल थियो,’ निरीक्षण क्रममा मन्त्री श्रेष्ठले भने, ‘सबैको सत्प्रयासले ऐतिहासिक काम भएको छ, अब यहाँबाट बुटवल जाने र ढल्केबर जाने, इनरुवाबाट बुटवल जानेजस्ता लाइनहरू जोडिएर ऊर्जाको राजमार्ग बन्छ ।’

उनका अनुसार प्रसारण लाइन सञ्चालनमा आएपछि नेपालको विद्युत् प्रणाली थप सन्तुलित र गुणस्तरीय बन्ने छ ।

‘यो प्रसारण लाइन चार्ज भइसकेपछि नेपालको ऊर्जा धेरै सन्तुलित र गुणस्तरीय हुन्छ, १२ वर्षदेखि अलमल परेको प्रसारण लाइनले अहिले गति लिएको छ, ऊर्जा क्षेत्र अब स्थिर हुन्छ,’ मन्त्री श्रेष्ठले भने ।

हाल करिब ३ सय मेगावाट क्षमतामा विद्युत् प्रवाह भइरहेको यो खण्ड सम्पन्न भएपछि करिब २ हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने उनको भनाइ छ ।

हेटौँडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व-पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने प्राधिकरणको अपेक्षा छ । यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्नसमेत सहयोग पुग्ने छ ।

त्यस्तै वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् देश भित्रै खपत गर्न तथा भारत लगायतसँग हुने अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न पनि प्रसारण लाइन महत्त्वपूर्ण हुने बताइएको छ ।

प्रसारण लाइन सञ्चालनमा आएपछि राष्ट्रिय ग्रिडको विश्वसनीयता बढ्नुका साथै एक ठाउँमा उत्पादन भएको विद्युत् माग भएका अन्य क्षेत्रमा लैजान सहज हुनेछ । यसले विद्युत् खेर जाने जोखिम घटाउने र मुलुकको विद्युत् व्यापार सम्भावना विस्तार गर्ने अपेक्षा गरिएको छ ।

लामो समयदेखि रोकिएको आयोजनाको अन्तिम दुई टावर निर्माणको काम अहिले तीव्र गतिमा अघि बढिरहेको र १०/१५ दिनभित्र निर्माण सम्पन्न गरी परीक्षण तथा चार्जिङ प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी छ । त्यसअनुसार दसैंलगत्तै हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइन सञ्चालनमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?