+
+
Shares

विदेशी मुद्रा सटही सुविधामा राष्ट्र बैंक लचक, उपचारका लागि ३० हजारसम्म दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १३:०८

२० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही नीति खुकुलो बनाएको छ । केन्द्रीय बैंकले औषधि उपचार, दूरसञ्चार तथा वायुसेवाका उपकरण आयातमा विदेशी मुद्रा सटही सुविधा सीमा बढाएको हो ।

केन्द्रीय बैंकले निर्देशन जारी गर्दै विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकहरूलाई वार्षिक ३० हजार अमेरिकी डलर सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो सीमा यसभन्दा अघि १५ हजार डलर थियो ।

बैंकका अनुसार नेपाली वायुसेवा कम्पनीहरूले हवाई जहाजका इन्जिन वा पार्टपूर्जा जस्ता सामान आयात गर्दा सम्बन्धित नियमनकारी निकायको सिफारिस समेतका कागजातका आधारमा ५ लाख डलरसम्मको अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयमले पठाउन सक्नेछन् । तर यस प्रयोजनको लागि विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्ने छैन । यसभन्दा अघि यस्तो सीमा एक लाख डलर थियो ।

साथै दूरसञ्चार सम्बन्धी सेवा प्रदायक नेपाली कम्पनीहरूले विदेशी सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरी स्याटेलाइट सेवा भाडामा लिने वा प्रयोगवापत वार्षिक ५ लाख डलरसम्म भुक्तानी बैंक तथा वित्तीय संस्थामार्फत नै गर्न सक्ने व्यवस्था गरिएको छ ।

चीनतर्फबाट वस्तु आयातकर्ताहरूले विदेशी मुद्रा सहटी गर्न वस्तुहरू आयात गरी नसकेको प्रतिबद्धता अनिवार्य रूपमा लिनुपर्नेछ । साथै, वस्तु आयात मूल्यको न्यूनतम दश प्रतिशत रकम सामान सिपमेन्ट हुनुपूर्व नै पठाइसकेको हुनुपर्नेछ । भन्सारबाट सामान जाँचपास हुनुपूर्व नै पूर्ण भुक्तानी पठाइसकेको हुनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। यसअघि आयातित वस्तुको मुल्यको १० प्रतिशत सिपमेन्ट पूर्व भुक्तानी गर्नु पर्ने व्यवस्था थिएन ।

ड्राफ्ट/टी.टी. को माध्यमबाट आयात हुने वस्तुको सिपमेन्ट हुनुपूर्व आंशिक भुक्तानी भएको मासिक विवरण महिना समाप्त भएको १५ दिन भित्र पेश गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । त्यसैगरी भारत बाहेका मुलुबाट हुने सेवा आयातको भुक्तानी दिन नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सटही सिफारिसको आधारमा प्रति पटक अमेरिकी डलर ३० हजार वा सो बराबरको मुद्रासम्म वाणिज्य बैंकहरूबाट नै सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था भएको छ, पहिले  यस्तो सीमा १५ हजार थियो ।

भारतबाट हुने सेवा आयातको हकमा प्रति पटक भारतीय रुपैयाँ ६० लाखसम्मको भुक्तानी वाणिज्य बैंकहरूबाट सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

यसभन्दा अघि यस्तो सीमा ४० लाख भारु थियो । यो सहटी सुविधाका लागि सम्बन्धित नियकायको सिफारिस आवश्यक हुने केन्द्रीय बैंकले जनाएको छ । पर्यटकीय सेवा बिक्री गर्ने ट्राभल/टूर एजेन्टले अन्य ट्राभल/टूर एजेन्टबाट सेवा खरिद गरी ग्राहकलाई उपलब्ध गराएमा उक्त सेवा बिक्री गर्ने ट्राभल/टूर एजेन्टले विदेशी मुद्राको विजक जारी गरेको हुनुपर्ने छ। सेवा खरिद गर्ने ट्राभल/टूर एजेन्टबाट बैंक खातामा विदेशी मुद्रा प्राप्त गरेको हुनुपर्ने तथा सेवा खरिद गर्ने एजेन्टबाट सो प्रयोजनको लागि प्राप्त गरेको विदेशी मुद्रा भन्दा बढी नहुने गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

सूचना प्रविधि उद्योग, व्यवसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, पर्यटन उद्योग ऊर्जामूलक उद्योगसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशी संस्थाबाट नेपालमा विदेशी ऋण भित्र्याउने प्रयोजनका लागि इजाजतपत्रप्राप्त “क” वर्गका बैंकले विदेशी मुद्राको बैंक ग्यारेन्टी जारी गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसअघि यस्तो सुविधा उर्जामुलक उद्योगका लागि थिएन ।

विद्युतीय कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत् सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रा समेत कार्डमा जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ । यसरी विदेशी मुद्रा प्राप्त रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्था समेत गर्नु पर्ने केन्द्रीय बैंकले तोकेको छ ।

कार्डको मौज्दात अमेरिकी डलर १० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्राभन्दा बढी भएको अवस्थामा सो बढी रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?