२१ असोज, काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीको व्यवसायिक क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायत पदाधिकारी तथा परिषद् सदस्यहरूको उपस्थिति थियो।
सम्झौतापछि सातै प्रदेशमा र क्रमशः अन्य क्षेत्रमा समेत व्यवसायिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने वरिष्ठ उपाध्यक्ष वैद्यले बताए। यस्ता कार्यक्रमले उद्योगी तथा व्यवसायीको वित्तीय ज्ञान बढाउनुका साथै वित्तीय अनुपालनसम्बन्धी क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले उद्योगी तथा व्यवसायीलाई आफ्नो वित्तीय विवरण तयार गर्न तथा त्यससँग सम्बन्धित वित्तीय अनुपालन कायम गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिने बताए। तालिमका लागि आवश्यक प्राविधिक सहयोग बैंकले उपलब्ध गराउने उनले जानकारी दिए।
बैंकले ‘गतिशील नेतृत्व’ अवधारणाअनुरूप सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको जनाएको छ।
प्रतिक्रिया 4