२१ असोज, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीले युवालाई मेहनत गर भनेर नपुग्ने बताएका छन् । सरकारले युवाको मेहनतलाई अवसरमा बदल्ने वातावरण निर्माण गर्नुपर्ने उनको आग्रह छ ।
इटहरीमा आयोजित ‘सीप तथा रोजगार मेला–२०८३’ को बधाई तथा धन्यवाद ज्ञापन समारोहलाई सम्बोधन गर्दै चौधरीले नेपालको समस्या बेरोजगारीमा मात्र सीमित नभएको बताए ।
उनले शिक्षा, सीप र श्रमबजारबीच रहेको दूरी पनि रोजगारीको प्रमुख चुनौती भएको उल्लेख गरे ।
उनी भन्छन्, ‘युवालाई केवल मेहनत गर भनेर पुग्दैन । सरकारले युवाको मेहनतलाई अवसरमा बदल्ने वातावरण निर्माण गर्नुपर्छ ।’
युवाको सीप, श्रम, ऊर्जा र सम्भावनालाई रोजगारी तथा उद्यमशीलतासँग जोड्न सरकार, निजी क्षेत्र, उद्योग र तालिम प्रदायक संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले औंल्याएका छन् ।
उनकाअनुसार इटहरी पूर्वी नेपालको व्यापार, उद्योग, शिक्षा, यातायात र उद्यमशीलताको महत्वपूर्ण केन्द्र हो । स्थानीय युवामा रहेको ऊर्जा र क्षमतालाई बजारसँग जोड्नुपर्ने छ ।
सम्बोधनका क्रममा चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षमा १२ लाख युवालाई रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता स्मरण गरे । यसका लागि स्पष्ट योजना, पर्याप्त बजेट, निजी क्षेत्रसँग सहकार्य, बजारको मागअनुसार सीप विकास र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए ।
सम्बोधनको क्रममा चौधरीले युवाको पहिलो विकल्प विदेश नभई स्वदेशमै अवसर हुने वातावरण निर्माण गर्नुपर्ने दोहो¥याए ।
उनले भनेका छन्, ‘युवालाई विदेश जानबाट रोक्ने होइन, स्वदेशमै बस्नुपर्ने कारण र सम्भावना सिर्जना गर्नुपर्छ । युवाले रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने शक्ति बन्नुपर्छ ।’
प्रतिक्रिया 4