News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको कृषि समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताए।
- चौधरीले किसानलाई अनुदानको लाइनमा नभई उत्पादनका आधारमा सम्मान गर्ने राज्यको नीति रहेको उल्लेख गरे।
- आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन अपनाएर नेपाललाई कृषिमा आत्मनिर्भर बनाई निर्यातमुखी बनाउन सकिने उनले स्पष्ट पारे।
१५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
शुक्रवार राष्ट्रपतिको सरकारी निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले कृषिलाई परम्परागत पेशाका रूपमा नभई सम्मानित, आधुनिक र व्यवसायिक क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको समेत बताए ।
‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताले हामीलाई कृषि क्षेत्रमा अपार सम्भावना दिएको छ । आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी बनाउन सक्यौँ भने नेपाल आत्मनिर्भर मात्रै होइन कृषि निर्यात गर्नसक्ने राष्ट्र हुनसक्छ,’ उनले भने, ‘यसको लागि हामी पनि लागिपरेका छौँ भन्ने कुरा म राख्न चाहान्छु । सरकारले कृषिलाई परम्परागत पेशाको रुपमा मात्र नभई सम्मानित, आधुनिक र व्यवसायिक पेसाको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अगाडि बढेको छ ।’
नेपालको भौगोलिक विविधताले कृषि क्षेत्रमा अपार सम्भावना सिर्जना गरेको उल्लेख गर्दै आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमार्फत कृषि उत्पादन वृद्धि गर्न सकिने धारणा उनले राखे ।
‘अब युवाहरुलाई विदेश पलायन हुने अवस्थाको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्नको लागि र उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा पनि जानकारी गराउन चाहान्छु । किसानलाई अनुदानको लाइनमा होइन उत्पादनमा पनि आधारित सम्मान गर्ने राज्यको नीति रहेको छ,’ उनले भने ।
प्रतिक्रिया 4