+

चिन्ता कुन बेला मानसिक स्वास्थ्य समस्याको संकेत बन्न पुग्छ ?

२०८३ असोज  २० गते १५:४१ २०८३ असोज २० गते १५:४१
चिन्ता कुन बेला मानसिक स्वास्थ्य समस्याको संकेत बन्न पुग्छ ?

कहिलेकाहीँ मन अशान्त हुनु, कुनै घटनाले तनावमा पार्नु वा भविष्यलाई लिएर चिन्ता लाग्नु सामान्य हो । तर यही अवस्था लामो समयसम्म रहिरह्यो, दैनिक जीवन प्रभावित हुन थाल्यो र आफूलाई पहिले रमाइलो लाग्ने कामबाट समेत मन हट्न थाल्यो भने त्यसलाई सामान्य तनाव भनेर बेवास्ता गर्नु उचित हुँदैन ।

‘आजकल मनै लाग्दैन’, ‘कुनै काम गर्न मन छैन’, ‘सधैँ केही न केही कुराले तनाव हुन्छ’, ‘मानिसहरूसँग भेट्न मन लाग्दैन’ जस्ता अनुभव लगातार दोहोरिन थाले मानसिक स्वास्थ्यमा समस्या भएको संकेत हुन सक्छ ।

मनोवैज्ञानिक डा. कोमलप्रीत कौरका अनुसार मानसिक स्वास्थ्यमा आएको परिवर्तनलाई समयमै पहिचान गर्नु आवश्यक हुन्छ । विशेषगरी दुई साताभन्दा बढी समयसम्म निरन्तर उदासी, चिन्ता, निद्रामा परिवर्तन, खानपानमा असामान्यता वा सामाजिक गतिविधिबाट टाढिँदै जाने अवस्था देखिए मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्ने हुन सक्छ ।

कुन अवस्थामा मानसिक स्वास्थ्य विशेषज्ञको आवश्यकता पर्छ ?

मानसिक स्वास्थ्यमा समस्या हुँदा सबै व्यक्तिमा एउटै लक्षण देखिन्छ भन्ने हुँदैन । तर केही परिवर्तनलाई भने चेतावनीका रूपमा लिन सकिन्छ । लामो समयसम्म अत्यधिक चिन्ता भइरहनु, आवश्यकता भन्दा धेरै वा कम सुत्नु, खानामा रुचि अत्यधिक बढ्नु वा घट्नु, लगातार तनावमा रहनु र आफूलाई अरू मानिसबाट अलग राख्न थाल्नु त्यस्ता संकेत हुन् ।

यससँगै पहिले खुसी दिने गतिविधिमा समेत रुचि हराउँदै जानु अर्को महत्वपूर्ण संकेत हो । यस्तो परिवर्तनले व्यक्तिको काम, पढाइ, पारिवारिक सम्बन्ध र सामाजिक जीवन प्रभावित गर्न थाले मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनुपर्ने अवस्था हुन सक्छ ।

मनोवैज्ञानिक र मनोचिकित्सकमा के फरक ?

मानसिक स्वास्थ्यको उपचारमा मनोवैज्ञानिक र मनोचिकित्सक दुवैको भूमिका हुन्छ, तर उनीहरूको काम फरक हुन्छ । मनोवैज्ञानिकले व्यक्तिको सोच, भावना र व्यवहार बुझ्न तथा भावनात्मक समस्यासँग जुध्न सहयोग गर्छन् । उनीहरूले परामर्श र मनोचिकित्सकीय विधिमार्फत समस्या समाधान गर्न सहयोग गर्छन् ।

मनोचिकित्सक भने चिकित्सक हुन् । आवश्यक परेको अवस्थामा उनीहरूले औषधिसहित उपचार गर्न सक्छन् । कतिपय अवस्थामा मनोवैज्ञानिक र मनोचिकित्सकले मिलेर पनि बिरामीको उपचार गर्ने गर्छन् ।

तनाव, डिप्रेसन र एन्जाइटी एउटै होइनन्

तनाव प्रायः कुनै विशेष परिस्थिति वा घटनासँग जोडिएको हुन्छ । परिस्थितिमा सुधार आएपछि तनाव पनि कम हुन सक्छ । तर डिप्रेसन वा एन्जाइटीले व्यक्तिको सोच, भावना र दैनिक जीवनमा लामो समयसम्म असर पार्न सक्छ । भविष्यलाई लिएर अत्यधिक वा नियन्त्रण गर्न नसकिने चिन्ता भइरहनु र त्यसले दैनिक जीवनमा असर पार्न थाल्नु एङ्जाइटीको महत्वपूर्ण संकेत हुन सक्छ । त्यसैले ‘सबैलाई तनाव हुन्छ’ भन्दै मानसिक स्वास्थ्यमा देखिएका गम्भीर परिवर्तनलाई बेवास्ता गर्नु उचित हुँदैन ।

मानसिक स्वास्थ्यमा परिवार र वातावरणको पनि भूमिका

मानसिक स्वास्थ्यमा व्यक्तिको आनुवंशिक पृष्ठभूमिसँगै उसको वरपरको वातावरणले पनि प्रभाव पार्न सक्छ । परिवारमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको अवस्थामा जोखिम बढ्न सक्ने भए पनि त्यस्तो समस्या अनिवार्य रूपमा सर्छ भन्ने हुँदैन ।

परिवारमा निरन्तर तनावपूर्ण वातावरण भए त्यसले व्यक्तिको सोचमा समेत नकारात्मक प्रभाव पार्न सक्छ । भविष्यप्रति निराशा बढ्दै जानु र कुनै आशा नदेखिनुजस्ता परिवर्तनलाई समयमै पहिचान गर्नु आवश्यक हुन्छ ।

सामाजिक सञ्जालले पनि मन प्रभावित हुनसक्ने

आजको समयमा सामाजिक सञ्जाल पनि मानसिक स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण पक्ष बनेको छ । लगातार स—साना रिल्स छोटा भिडियो तथा विभिन्न प्रकारका सामग्री हेरिरहँदा एकपछि अर्को फरक भावनात्मक अनुभव हुन्छ । यसले भावनालाई स्थिर रूपमा बुझ्न र व्यवस्थापन गर्न कठिन बनाउन सक्ने मनोवैज्ञानिक डा. कौरको भनाइ छ ।

एकैपटक धेरै सामग्री र सूचनामा ध्यान जाँदा दिमागमा धेरै कुरा एकसाथ चलिरहने अवस्था बन्न सक्छ । यसले निर्णय गर्न कठिन हुने र ‘ब्रेन फग’ जस्तो अनुभव हुन सक्ने बताइएको छ ।
त्यसैले, सामाजिक सञ्जाल प्रयोग गर्दा समय र सीमाबारे सचेत हुनु मानसिक स्वास्थ्यका लागि उपयोगी हुन सक्छ ।

मानसिक स्वास्थ्य जोगाउन दैनिक जीवनमा के गर्ने ?

मानसिक स्वास्थ्यका लागि ठूलो परिवर्तनभन्दा दैनिक जीवनका सामान्य बानी महत्वपूर्ण हुन सक्छन् । दैनिक कम्तीमा आधा घण्टा आफूलाई दिनु, नियमित हिँडडुल वा व्यायाम गर्नु, सन्तुलित खाना खानु, जंक फुड कम गर्नु तथा ध्यान र गहिरो श्वासप्रश्वासको अभ्यास गर्नु उपयोगी मानिन्छ ।

त्यस्तै, काम र व्यक्तिगत जीवनबीच स्पष्ट सीमा बनाउनु पनि आवश्यक हुन्छ । कार्यालयको तनाव घरसम्म र घरको समस्या कार्यस्थलसम्म लगातार बोकेर हिँड्दा मानसिक दबाब बढ्न सक्छ । त्यसैले काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न सिक्नुपर्ने डा. कौरको सुझाव छ ।

महिलामा मानसिक स्वास्थ्यको चुनौती

महिलाले एकैपटक घर, बालबालिका, करियर र आर्थिक जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था हुँदा मानसिक दबाब बढ्न सक्छ । काममा रहेका महिलाले समेत कार्यस्थलमा हुँदा घरको जिम्मेवारीबारे सोचिरहनुपर्ने र घरमा हुँदा कामको तनाव बोकिरहनुपर्ने अवस्था आउन सक्छ ।

अर्कोतर्फ, लामो समय घरपरिवार र बालबालिकाको हेरचाहमा बिताएका महिलाका सन्तान आफ्नो जीवनमा व्यस्त भएपछि एक्लोपन महसुस हुन सक्छ । आफू अब आवश्यक नरहेको जस्तो नकारात्मक भावना विकास हुँदा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने बताइएको छ ।
यस्तो अवस्थामा परिवारको साथ, सामाजिक सम्बन्ध र आवश्यक परे परामर्श महत्वपूर्ण हुन्छ ।

बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका

बालबालिकाको मानसिक स्वास्थ्य निर्माणमा अभिभावकको व्यवहारको ठूलो भूमिका हुन्छ । अभिभावकले बालबालिकालाई अरूसँग तुलना गर्नुको सट्टा उनीहरूले गरेको प्रयासको प्रशंसा गर्नुपर्छ । ‘तिमी अल्छी छौ’, ‘तिमी फेल हुन्छौ’ वा ‘तिमी खराब छौ’ जस्ता नकारात्मक शब्दले बालबालिकाको आत्मविश्वासमा असर पार्न सक्छ ।

गल्ती हुँदा बच्चालाई नै खराब भन्नुभन्दा उसको व्यवहार वा काम गलत भएको कुरा बुझाउनु आवश्यक हुन्छ । व्यक्ति र उसको व्यवहारबीच फरक छुट्याएर कुरा गर्नु बालबालिकाको भावनात्मक विकासका लागि महत्वपूर्ण हुन्छ ।

अभिभावकले बालबालिकासँग गुणस्तरीय समय बिताउने, उनीहरूसँग खेल्ने, कुराकानी गर्ने र उनीहरूको कुरा बीचमै नरोकी सुन्ने वातावरण बनाउनुपर्छ । विशेषगरी बच्चाले आफ्नो समस्या वा गल्ती सुनाउँदा तुरुन्तै गाली गर्ने वा सजाय दिने हो भने उसले भविष्यमा आफ्ना कुरा अभिभावकसँग भन्न डराउन सक्छ । त्यसैले बच्चाले आफ्ना भावना र समस्या खुलेर व्यक्त गर्न सक्ने सुरक्षित पारिवारिक वातावरण आवश्यक हुन्छ ।

उपचार सम्भव छ

मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिँदैमा व्यक्ति जीवनभर त्यही अवस्थामै रहन्छ भन्ने होइन । आवश्यकताअनुसार विभिन्न प्रकारका मनोचिकित्सकीय विधि र उपचारबाट सहयोग लिन सकिन्छ ।
स्रोतमा संज्ञानात्मक व्यवहार थेरापी, द्वन्द्वात्मक व्यवहार थेरापी, हिप्नोथेरापी, न्युरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ तथा गेस्टाल्ट थेरापीजस्ता विधिको उल्लेख गरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको समस्या लुकाएर बस्नु होइन, समयमै पहिचान गर्नु हो ।

मानसिक स्वास्थ्यमा आएको परिवर्तनले दैनिक जीवन, काम, सम्बन्ध वा आफ्नो हेरचाहमा असर पार्न थालेको छ भने ‘आफैँ ठीक हुन्छ’ भनेर लामो समय पर्खिनुभन्दा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ ।

मन खराब हुनु कमजोरी होइन । मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण भएकाले समस्या देखिँदा सहयोग माग्नु उपचारतर्फको पहिलो कदम हुन सक्छ ।

चिन्ता मानसिक समस्या
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिन्ता कुन बेला मानसिक स्वास्थ्य समस्याको संकेत बन्न पुग्छ ?

चिन्ता कुन बेला मानसिक स्वास्थ्य समस्याको संकेत बन्न पुग्छ ?

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?