+

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

२०८३ असोज  १९ गते १७:१९ २०८३ असोज १९ गते १७:१९
Shares
हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

हाम्रो वरिपरि रहेका मानिसहरूको व्यक्तित्वमा कुनै न कुनै विशेषता हुन्छ, जसले उनीहरूलाई अरूभन्दा फरक बनाउँछ । कसैलाई धेरै उत्साही देखिन्छ, कोही शान्त र धैर्यवान हुन्छन् भने कोही सानो कुरामै तनाव वा रिसमा आउँछन् । आखिर मानिसको मुड र व्यवहारमा यस्ता फरक किन देखिन्छन् ? मानिसको मुड, व्यवहार र भावनामा न्युरोट्रान्समिटर तथा हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ ।

कसरी काम गर्छ मस्तिष्क ?

मानव मस्तिष्कलाई एउटा जटिल सञ्चार प्रणालीका रूपमा बुझ्न सकिन्छ । मस्तिष्क र शरीरका विभिन्न भागबीच सन्देश आदान–प्रदान गर्न विशेष रासायनिक पदार्थले काम गर्छन्, जसलाई न्युरोट्रान्समिटर भनिन्छ ।

यिनै न्युरोट्रान्समिटरले मस्तिष्कबाट शरीरका विभिन्न भागमा सन्देश पुर्‍याउने काम गर्छन् । गम्भीर रोग, केही औषधिको साइड इफेक्ट वा उमेर बढ्दै जाँदा न्युरोट्रान्समिटरको उत्पादन वा गतिविधिमा परिवर्तन आउन सक्छ । यसले मानिसको मुड, व्यवहार, निद्रा तथा सोच्ने क्षमतामा समेत असर पार्न सक्छ ।

ऊर्जावान र प्रेरित बनाउने डोपामिन

डोपामिन मस्तिष्कको महत्वपूर्ण न्युरोट्रान्समिटर हो । यसले ध्यान केन्द्रित गर्ने, सिक्ने, स्मरणशक्ति, समस्या समाधान गर्ने क्षमता र कुनै लक्ष्य हासिल गर्न प्रेरित हुने प्रक्रियामा भूमिका खेल्छ ।

कुनै नयाँ काम गर्न वा आफूले तय गरेको लक्ष्यतर्फ अघि बढ्न मानिसलाई उत्प्रेरित गर्ने प्रक्रियामा डोपामिनको महत्वपूर्ण भूमिका हुन्छ । निद्रा तथा शरीरका अन्य धेरै प्रक्रियामा पनि यसको भूमिका हुन्छ ।

डोपामिनको असन्तुलनले मुड र व्यवहारमा असर पार्न सक्छ । विशेषगरी लतसम्बन्धी व्यवहारमा मस्तिष्कको ‘रिवार्ड सिस्टम’ र डोपामिनको भूमिका महत्वपूर्ण मानिन्छ । त्यसैले स्वस्थ व्यवहारका लागि डोपामिनको सन्तुलन आवश्यक हुन्छ ।

सेरोटोनिनको साथ

सेरोटोनिनलाई मुड, निद्रा, भोक तथा यौन इच्छासहित विभिन्न शारीरिक प्रक्रियासँग जोडिएको न्युरोट्रान्समिटरका रूपमा बुझिन्छ । यसको उचित स्तरले मुडलाई सन्तुलित राख्न सहयोग गर्छ ।

सेरोटोनिनको असन्तुलनले डिप्रेसनलगायतका मानसिक स्वास्थ्य समस्यासँग सम्बन्ध देखाउन सक्छ। यसको प्रभाव निद्रा र भोकमा समेत पर्न सक्छ । अत्यधिक उतार–चढाव हुँदा मुडमा असामान्य परिवर्तन देखिन सक्छ ।

जोश बढाउने नोरएड्रेनालिन

नोरएड्रेनालिनले शरीरलाई तनाव वा चुनौतीपूर्ण अवस्थाका लागि तयार पार्न महत्वपूर्ण भूमिका खेल्छ । युद्ध, खेलकुद वा आपत्कालीन अवस्थाजस्ता परिस्थितिमा यसको गतिविधि बढ्न सक्छ ।

यसले मुटुको धड्कन र रक्तचाप बढाउने तथा शरीरलाई तत्काल प्रतिक्रिया दिन तयार पार्ने काम गर्छ । यसको सन्तुलन बिग्रिँदा थकान, घबराहट वा रक्तचापमा समस्या देखिन सक्छ ।

प्रेम र भावनात्मक सम्बन्धसँग जोडिएको अक्सिटोसिन

अक्सिटोसिनलाई प्रेम, विश्वास, भावनात्मक सम्बन्ध र हेरचाहसँग जोडिएको हार्मोनका रूपमा चिनिन्छ । स्तनधारी जीवमा पाइने यो हार्मोन महिलामा प्रसूतिको समयमा विशेष रूपमा महत्वपूर्ण हुन्छ ।

प्रसवका बेला अक्सिटोसिनले पाठेघरको संकुचनमा सहयोग गर्छ । स्तनपानका क्रममा दूध बाहिर निकाल्ने प्रक्रियामा पनि यसको महत्वपूर्ण भूमिका हुन्छ ।

बच्चा जन्मिएपछि आमामा बच्चाप्रतिको भावनात्मक सम्बन्ध विकास हुनमा अक्सिटोसिनसहित विभिन्न जैविक तथा मनोवैज्ञानिक प्रक्रियाको भूमिका हुन्छ । तर अक्सिटोसिनलाई मात्र आमाको प्रेम वा भावनाको एकमात्र कारण मान्न भने मिल्दैन ।

प्राकृतिक पेनकिलरजस्तै काम गर्ने एन्डोर्फिन

एन्डोर्फिन शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने रासायनिक पदार्थ हो, जसले पीडा कम गर्न तथा तनावसँग जुध्न सहयोग गर्छ । शरीरमा चोटपटक वा पीडा हुँदा मस्तिष्कले एन्डोर्फिनको उत्पादन बढाउन सक्छ । यसले पीडा सहने क्षमता बढाउन सहयोग गर्छ । आपत्कालीन अवस्था वा अत्यधिक शारीरिक परिश्रमका बेला पनि यसको स्तर बढ्न सक्छ । प्रसवका क्रममा महिलाको शरीरमा पनि एन्डोर्फिनको भूमिका हुन्छ, जसले प्रसवपीडा व्यवस्थापन गर्न शरीरलाई सहयोग गर्छ ।

कठिन परिस्थितिमा सक्रिय हुने कोर्टिसोल

कोर्टिसोललाई प्रायः ‘स्ट्रेस हार्मोन’ भनिन्छ । तनाव वा चुनौतीपूर्ण परिस्थिति आउँदा शरीरलाई त्यससँग जुध्न तयार पार्न यसको भूमिका हुन्छ । तनावपूर्ण अवस्थामा कोर्टिसोल बढ्दा शरीर सतर्क हुन्छ र तत्काल निर्णय तथा प्रतिक्रिया दिन तयार हुन्छ । छोटो समयका लागि यस्तो प्रतिक्रिया उपयोगी हुन सक्छ । तर लामो समयसम्म कोर्टिसोलको स्तर उच्च रहिरहँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।

प्रजननसँग सम्बन्धित हार्मोन

किशोरावस्थामा शरीरमा एस्ट्रोजन, प्रोजेस्टेरोन र टेस्टोस्टेरोनजस्ता यौन तथा प्रजननसँग सम्बन्धित हार्मोनको उत्पादनमा परिवर्तन आउँछ । यी हार्मोनले शारीरिक विकास, प्रजनन प्रणाली तथा अन्य जैविक प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छन् ।

तर व्यक्तित्वका गुणहरू जस्तै–: महिलाको रूचि हेरचाह जस्ता कुरामा हुने अनि पुरुष साहसी हुने जस्ता अवस्थालाई कुनै एउटा हार्मोनसँग जोडेर व्याख्या गर्न मिल्दैन । मानिसको व्यवहार र व्यक्तित्वमा जैविक, मनोवैज्ञानिक, सामाजिक तथा वातावरणीय धेरै पक्षको संयुक्त प्रभाव हुन्छ ।

महिला र पुरुष दुवैको शरीरमा एस्ट्रोजन, प्रोजेस्टेरोन र टेस्टोस्टेरोन विभिन्न मात्रामा पाइन्छन् । यी हार्मोनको भूमिका लिङ्गअनुसार मात्र सीमित हुँदैन।

थाइराइड हार्मोन र मुड

घाँटीमा रहेको थाइराइड ग्रन्थिले मुख्य रूपमा थायरोक्सिन (टि४) र ट्राइआयोडोथाइरोनिन ( टि३) हार्मोन उत्पादन गर्छ । यी हार्मोनले शरीरको मेटाबोलिज्म, ऊर्जा उत्पादन र विभिन्न शारीरिक प्रक्रियालाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।

थायराइड हार्मोन कम हुँदा थकान, सुस्तता, कब्जियत, तौल बढ्ने, चिसो बढी लाग्ने तथा मुडमा नकारात्मक परिवर्तनजस्ता समस्या देखिन सक्छन् । कतिपयमा डिप्रेसनजस्ता लक्षण पनि देखिन सक्छन् ।

त्यस्तै, थायरइड हार्मोन बढी हुँदा मुटुको धड्कन बढ्ने, घबराहट, बेचैनी, निद्रामा समस्या, तौल घट्ने, अत्यधिक पसिना आउने वा पखालाजस्ता समस्या हुन सक्छन् । थाइराइडसम्बन्धी समस्या महिला र पुरुष दुवैमा हुन सक्छ । तर केही प्रकारका थाइराइड रोग महिलामा बढी देखिन्छन् ।

यी कुरा पनि बिर्सनु हुँदैन

नियमित व्यायाम र बिहान हिँड्ने बानीले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ । व्यायामका क्रममा शरीरमा एन्डोर्फिनलगायतका विभिन्न रासायनिक पदार्थको गतिविधिमा परिवर्तन आउँछ, जसले मुड सुधार्न सहयोग गर्न सक्छ ।

राम्रो स्मरणशक्ति र मानसिक स्वास्थ्यका लागि पर्याप्त तथा गुणस्तरीय निद्रा आवश्यक हुन्छ । वयस्कलाई सामान्यतः प्रत्येक रात ७–९ घण्टा निद्रा आवश्यक पर्छ ।

सुडोकु, पहेली, चेसलगायतका मानसिक गतिविधिले मस्तिष्कलाई सक्रिय राख्न र ध्यान तथा सोच्ने क्षमताको अभ्यास गर्न सहयोग गर्न सक्छन् ।‍ तनावका बेला चकलेट वा स्वादिला खानेकुरा खाँदा केही मानिसलाई क्षणिक रूपमा राम्रो महसुस हुन सक्छ ।

तनाव कम गर्ने मुख्य उपायका रूपमा यस्ता खानेकुरामा निर्भर हुनु उचित हुँदैन । सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निद्रा र आवश्यक परे मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श बढी महत्वपूर्ण हुन्छ ।

धूम्रपानबाट टाढा रहनु तथा वायु प्रदूषणबाट सकेसम्म जोगिनु पनि मस्तिष्क र समग्र स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । धूम्रपान तथा प्रदूषणमा रहेका विभिन्न विषाक्त पदार्थले स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छन् ।

मुड व्यवहार हार्मोन
डा. अनमोलबन्धु कार्की
लेखक
डा. अनमोलबन्धु कार्की
टाउको, नसा तथा मानसिक रोग विशेषज्ञ

डा. कार्की भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका लेक्चरर समेत हुन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२६१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?