समोसा, पकौडा, चटपटे जस्ता फास्ट फुडहरूलाई पत्रपत्रिकामा राखेर दिने गरेको तपाईंले पक्कै देख्नु भएको हुन सक्छ । अथवा तपाईं आफैंले यसरी पनि खानु भएको हुन सक्छ ।
तर यसरी पत्रपत्रिका वा छापिएका अन्य कागजमा खानेकुरा पस्कनु स्वास्थ्यका लागि हानिकारक हुने गर्छ । यससम्बन्धी विभिन्न देशहरूले कडा कानून नै बनाएका छन् । उदाहरणका लागि, भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले त पत्रपत्रिका अथवा प्लास्टिकमा ग्राहकहरूलाई य सरी खानेकुरा नदिन भनेर निर्देशन नै जारी गरेको छ ।
प्राधिकरणका अनुसार कागजको छपाइमा प्रयोग हुने मसीमा विभिन्न रसायनका साथै सिसा जस्ता घातक धातुहरू हुन्छन् । कागजमा खानेकुरा राख्न साथै हानिकारक तत्वहरू खानेकुरामा मिसिन पुग्छन् । यसरी खानेकुरासँगै ती रसायनहरू हाम्रो पेटसम्म पुग्छन् । जुन स्वास्थ्यको दृष्टिकोणबाट निकै हानिकारक हो ।
पत्रपत्रिकाको प्रयोग कुनकुन काममा गर्नुहुँदैन ?
मानिलिउँ, पत्रपत्रिका नयाँ नै भए पनि त्यो कैयौं मान्छेको हात हुँदै विभिन्न स्थान र वातावरणबाट गुज्रिएर पसलसम्म आइपुगेको हुन्छ । त्यो क्रममा पत्रिकामा धूलो, ब्याक्टेरिया र अन्य फोहोर जम्मा भएको हुन्छ । जुन सामान्यतया नाङ्गो आँखाले नदेख्न सक्छ । यसैले सामान्यतया तलका कामहरूमा पत्रपत्रिकालाई प्रयोग गर्न हुन्न –
१. खानेकुराबाट बढी भएको तेल सोस्नका लागि,
२. खानेकुरा वा खाना पकाउने सामग्री छोप्नका लागि,
३. खाना पस्किन वा पस्किने आधार बनाउनका लागि,
४. खानेकुरा प्याक गर्न वा बेर्नका लागि ।
छपाइमा प्रयोग हुने मसी शरीरभित्र गयो भने के हुन्छ ?
पत्रपत्रिकाको छपाइमा प्रयोग हुने मसीमा सिसा (लिड) नामको धातु हुन्छ । यो खानेकुरामा मिसिएर शरीरभित्र पुग्न सक्छ । त्यसले कलेजोलाई क्षति पुर्याउन सक्छ । यो रगतमा मिसिएर शरीरका अन्य अङ्गहरूलाई पनि हानि पुर्याउँछ । कतिपय अवस्थामा यसले मस्तिष्कलाई समेत क्षति पुर्याउने जोखिम रहन्छ ।
घरमा पनि कतिपयले रोटी वा पूरी पकाएपछि पुराना पत्रपत्रिकामा राख्ने गर्छन् । यसको के असर हुन सक्छ ?
यो बानीको असर वयस्कहरूको तुलनामा बालबालिकामा बढी हुन्छ । यसले बालबालिकाको मानसिक र शारीरिक विकासमा असर पार्न सक्छ । बालबालिकाका शारीरिक अङ्गहरू पूर्ण रूपमा विकसित भइनसकेका हुनाले उनीहरूमा यसको असर झन् बढी पर्न जान्छ ।
गर्भवती महिलाहरूमा यसको के असर पर्न सक्छ ?
गर्भवती महिलाहरूले छापिएका कागजमा राखिएको खानेकुरा भुलेर पनि खानुहुँदैन । यो निकै खतरनाक हुन सक्छ । गर्भधारणको सुरुआती अवस्थामा यी रसायनहरू गर्भवती महिलाको शरीरमा प्रवेश गरेमा गर्भपतन हुने, जन्मिने बच्चा मानसिक रूपमा अपाङ्ग हुने वा मृत शिशु जन्मिने जोखिम रहन्छ । त्यसैले गर्भवती महिलाहरूले यस विषयमा विशेष सावधानी अपनाउनुपर्छ ।
त्यसो भए के गर्ने ?
माथि उल्लेख गरिएका समस्याहरूदेखि बँच्न फूड ग्रेड प्याकेजिङ प्रयोग गर्न सकिन्छ । अर्थात् खाद्य व्यवसायीहरूलाई खानेकुरा बिक्री गर्न वा पोका पारेर पठाउनका लागि सुरक्षित र आधिकारिक रूपमा मान्यता प्राप्त फूड ग्रेड प्याकेजिङ सामग्री मात्र प्रयोग गर्नुपर्छ । त्यस्ता सामग्रीमा प्रदूषण वा रोग फैलाउने तत्वहरू हुँदैनन् ।
यदि घरमा हो स्टेनलेस स्टिलका भाँडा, दुना-टपरी वा सिसाका भाँडाहरूमा राख्न सकिन्छ । यदि गर्दा हामी ठूलो समस्याबाट बँच्न सक्छौं ।
प्रतिक्रिया 4