+

विश्वभरि चर्चित ‘भ्याम्पायर फेसियल’ : दाग, खत, चाउरीपन हटाउन कति प्रभावकारी ?

२०८३ कात्तिक  ९ गते १४:५१ २०८३ कात्तिक ९ गते १४:५१

सामान्यतया एक महिनादेखि ६ हप्ताको अन्तरमा यसका सेसन गर्न सकिन्छ । खत, फाइन लाइन वा छालाको बनावट सुधारका लागि धेरै सत्र आवश्यक पर्न सक्छ ।

विश्वभरि चर्चित ‘भ्याम्पायर फेसियल’ : दाग, खत, चाउरीपन हटाउन कति प्रभावकारी ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माइक्रोनिडलिङमा साना सुईले छालामा सूक्ष्म घाउ बनाएर कोलाजिन उत्पादन बढाइ छालाको बनावट र केही दाग कम गर्ने उपचार गरिन्छ ।
  • डा. प्रज्जवल पुडासैनीका अनुसार माइक्रोनिडलिङ पीआरपीसँग जोडेर डन्डीफोरका खत, स्ट्रेच मार्क, फाइन लाइन र केही चाउरी सुधार्न प्रयोग गरिन्छ ।

सामाजिक सञ्जालमा अनुहारमा स–साना सुईले घोचिरहेको र त्यसपछि रगतजस्तो रातो देखिने विभिन्न दृश्य निकै देखिन्छन् । कतिपयले यसलाई ‘भ्याम्पायर फेसियल’ भनेर चिनाउँछन् भने कतिपयले माइक्रोनिडलिङ उपचारका रूपमा बुझ्छन् ।

छालाको दाग, डन्डीफोरका खत, फाइन लाइन, चाउरी र छालाको बनावट सुधार्ने दाबीका कारण यसको चर्चा पनि बढिरहेको छ । के यसले दावी गरिए र सामाजिक सञ्जालमा देखिएजस्तो काम गर्छ ?

यिनै विषयमा छाला रोग विशेषज्ञ डा. प्रज्जवल पुडासैनीसँग गरिएको कुराकानीको सम्पादित अंश:

माइक्रोनिडलिङ भनेको वास्तवमा के हो ?

माइक्रोनिडलिङमा साना–साना सुई प्रयोग गरी छालामा स–साना सूक्ष्म घाउ अर्थात् माइक्रो इन्जुरी बनाएर छालाका समस्या निको पार्ने उपचार प्रक्रिया हो ।

सामान्यतया करिब ०.५ देखि ३ मिलिमिटरसम्मको लम्बाइ भएका सुई प्रयोग गर्न सकिन्छ । हाम्रो शरीरमा घाउ भएपछि त्यसलाई निको पार्ने प्राकृतिक प्रक्रिया हुन्छ । त्यही प्रक्रियालाई छालाको उपचारमा प्रयोग गर्ने हो । सूक्ष्म घाउ बनेपछि शरीरले त्यसलाई निको पार्ने क्रममा कोलाजिन लगायतका प्रोटिन बनाउन थाल्छ । यसले छालाको बनावट सुधार्न र केही प्रकारका दाग तथा खत कम गर्न सहयोग गर्छ ।

माइक्रोनिडलिङ र पीआरपी छुटाछुट्टै विधि हो, तर आजभोलि यी दुईलाई जोडेर उपचार किन गरिन्छ ?

पीआरपी भनेको प्लेटलेट र ग्रोथ फ्याक्टरयुक्त प्लाज्मा हो । यसका लागि बिरामीकै रगत निकालिन्छ र सेन्ट्रीफ्युज गरेर आवश्यक प्लाज्मा छुट्याइन्छ । त्यसमा रहेका प्लेटलेट र ग्रोथ फ्याक्टरलाई उपचारमा प्रयोग गरिन्छ ।

यता, माइक्रोनिडलिङले छालामा सूक्ष्म घाउ बनाएर घाउ निको हुने प्रक्रिया सुरु गर्छ भने पीआरपीले त्यस प्रक्रियालाई थप सहयोग गर्छ । ग्रोथ फ्याक्टरले घाउ निको पार्ने र कोलाजिन बनाउन सहयोग गर्ने भएकाले माइक्रोनिडलिङसँग पीआरपी प्रयोग गर्ने गरिन्छ ।

यसरी यी दुईलाई जोडेर गर्नुको मुख्य उद्देश्य छालाको पुनर्निर्माण र बनावट सुधार गर्नु हो । डन्डीफोरका कारण बनेका केही प्रकारका खत, विशेषगरी बक्सकारजस्ता दागमा यसको प्रयोग गरिन्छ । पुराना घाउका खत, स्ट्रेच मार्क, फाइन लाइन र छालाको बनावट सुधारका लागि पनि माइक्रोनिडलिङ प्रयोग हुन्छ ।

यसले छालामा कोलाजिन निर्माणलाई बढावा दिने भएकाले छालाको कसिलोपन र समग्र बनावटमा सुधार ल्याउन सक्छ । फाइन लाइन पनि केही हदसम्म कम देखिन सक्छ । तर यसलाई एकैपटकमा सबै समस्या समाधान गर्ने उपचारका रूपमा बुझ्नु हुँदैन ।

माइक्रोनिडलिङलाई ‘भ्याम्पायर फेसियल’ भनेर पनि चिनिन्छ । नाम सुन्दै डर लाग्ने यो उपचारलाई आखिर ‘भ्याम्पायर’ किन भनिएको हो ?

यसमा दुई कारणले यस्तो नाम लोकप्रिय भएको हो । पहिलो, उपचारका क्रममा माइक्रोनिडलिङ गर्दा छालाबाट थोरै रगत आउन सक्छ । दोस्रो, पीआरपीका लागि पनि बिरामीकै रगत निकालिन्छ । त्यसैले सामाजिक सञ्जालमा यसलाई ‘भ्याम्पायर फेसियल’ भनेर प्रचार गरिएको पाइन्छ ।

तर चिकित्सकीय रूपमा माइक्रोनिडलिङ र पीआरपी नै प्रयोग हुने उपचार हो । ‘भ्याम्पायर फेसियल’ भन्ने नाम बढी प्रचारात्मक रूपमा लोकप्रिय भएको हो ।

डन्डीफोरका खतमा कसरी यसले उपचार गर्न सहयोग गर्छ ?

डन्डीफोरका खतमा यसको प्रयोग धेरै हुन्छ । विशेषगरी छाला केही दबिएको जस्तो देखिने बक्सकार प्रकारका खतमा यो उपयोगी हुन सक्छ । तर खत कति गहिरो छ भन्ने आधारमा उपचारको तरिका र सुईको गहिराइ निर्धारण गर्नुपर्छ ।

सतही खतका लागि तुलनात्मक रूपमा कम गहिराइमा काम गर्न सकिन्छ । गहिरो खतमा भने बढी गहिराइ आवश्यक पर्न सक्छ । त्यसैले सबै व्यक्तिमा एउटै गहिराइमा माइक्रोनिडलिङ गर्नु उचित हुँदैन । खत सुधार हुन समय पनि लाग्छ । उपचार गरेलगत्तै केही परिवर्तन देखिए पनि कोलाजिन बन्न समय लाग्ने भएकाले खतका लागि धेरै महिना कुर्नुपर्ने हुन सक्छ । प्रायः धेरै सत्र आवश्यक पर्न सक्छ । त्यो मात्र होइन, नेपालीको छालामा यो उपचार गराउँदा विशेष ध्यान दिनुपर्छ ।

माइक्रोनिडलिङ सबैले गर्न सक्छन्, कि यसको पनि दायरा तोकिएको छ ?

छालामा सक्रिय संक्रमण भइरहेको अवस्थामा माइक्रोनिडलिङ गर्नु हुँदैन । सक्रिय डन्डीफोर, ब्याक्टेरियल वा भाइरल संक्रमण, हर्पिस, सक्रिय एक्जिमा वा अत्यधिक संवेदनशील तथा सुन्निएको छालामा यो उपयुक्त हुँदैन । त्यसैगरी, असामान्य रूपमा खत बस्ने समस्या भएका व्यक्तिमा पनि सावधानी आवश्यक हुन्छ ।

रगत पातलो बनाउने औषधि अर्थात् एन्टिकोएगुलेन्ट प्रयोग गरिरहेका व्यक्तिले पनि चिकित्सकसँग परामर्श नगरी यस्तो उपचार गर्नु हुँदैन । त्यो, मात्र होइन, नेपालीहरूको छालमा अझ विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

नेपालीहरूको छालामा त्यस्तो के फरक हुन्छ र, जसका कारण यो उपचार गर्दा थप सावधानी चाहिन्छ ?

नेपालीहरूको छालामा पिग्मेन्टेसन हुने सम्भावना तुलनात्मक रूपमा बढी हुने भएकाले माइक्रोनिडलिङ गर्दा विशेष सावधानी अपनाउनुपर्छ । माइक्रोनिडलिङले छालामा साना–साना घाउ वा चोट बनाउने भएकाले त्यसपछि मेलानिन उत्पादन बढ्न सक्छ । त्यसले उपचार गरिएको ठाउँमा कालो दाग वा पिग्मेन्टेसन देखिन सक्ने जोखिम हुन्छ । विशेषगरी पहिलेदेखि पोतो वा पिग्मेन्टेसन भएको छालामा यो जोखिम अझ बढी हुन सक्छ ।

त्यसैले, पोतो भएको छालामा माइक्रोनिडलिङ गर्दा चिकित्सकले छालाको अवस्था हेरेर उपचारको गहिराइ र विधि निर्धारण गर्नुपर्छ । धेरै गहिराइमा सुई प्रयोग गर्दा छालामा बढी चोट पुग्न सक्छ र त्यसले पिग्मेन्टेसन बढाउन सक्छ ।

उपचारपछि पनि केही दिन घामबाट जोगिनु, चिकित्सकले सिफारिस गरेको सनस्क्रिन प्रयोग गर्नु र छालामा अनावश्यक कस्मेटिक वा सक्रिय पदार्थ प्रयोग नगर्नु महत्वपूर्ण हुन्छ । विशेषगरी उपचारपछि छाला रातो र संवेदनशील हुने भएकाले घाममा धेरै बस्दा कालो दाग बस्ने जोखिम बढ्न सक्छ।

त्यसैले, सामाजिक सञ्जालमा विदेशी छालामा गरिएको उपचार देखेर त्यही तरिका नेपाली छालामा जस्ताको तस्तै अपनाउनु उचित हुँदैन । छालाको प्रकार, समस्या र संवेदनशीलताअनुसार उपचारको गहिराइ र विधि निर्धारण गर्नुपर्छ ।

उपचार गर्नुअघि कसरी तयारी गरिन्छ ?

माइक्रोनिडलिङ गर्दा छालामा सानो घाउ बनाइने भएकाले केही दुखाइ वा असहजता हुन सक्छ । त्यसैले, उपचारअघि भन्दा करिब आधा घण्टा अघि संवेदनशीलता हटाउने क्रिम प्रयोग गर्न सकिन्छ ।

उपचारअघि अनुहारको मेकअपलगायतका सामग्री राम्ररी हटाएर छाला सफा गर्नुपर्छ । उपचारको क्रममा प्रयोग हुने सुईको गहिराइ भने छालाको अवस्था र उपचार गर्नुपर्ने समस्याअनुसार चिकित्सकले निर्धारण गर्नुपर्छ ।

उपचारपछि के–के कुरामा ध्यान दिनुपर्छ ?

उपचारपछि केही समय छाला रातो हुने, सुन्निने वा पोल्ने हुन सक्छ । सामान्यतया यस्तो प्रभाव एकदेखि केही दिनसम्म रहन सक्छ । उपचारपछि घामबाट विशेष रूपमा जोगिनुपर्छ । उपचार गरिएको छाला संवेदनशील अवस्थामा हुने भएकाले घाममा पर्दा कालो दाग बस्ने सम्भावना बढ्न सक्छ । बाहिर जानैपर्ने अवस्थामा चिकित्सकको सल्लाहअनुसार सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

त्यसैगरी, उपचारपछि केही दिन मेकअप, फेसवास, विभिन्न सिरम वा अन्य कस्मेटिक सामग्री प्रयोग नगर्न सल्लाह दिइन्छ । अत्यधिक पसिना आउने व्यायाम वा अन्य गतिविधि पनि कम्तीमा एक–दुई दिन नगर्नु राम्रो हुन्छ, किनकि पसिनाले संवेदनशील छालामा थप जलन गराउन सक्छ ।

आवश्यक परे चिकित्सकले केही दिनका लागि औषधि वा मलम पनि दिन सक्छन् । रातोपन वा असहजता भए चिसो सेकाइले राहत दिन सक्छ ।

सुई लगाएर रगत राखेर गरिने यो उपचारको साइड इफेक्ट पनि होलान्, नि ?

सामान्यतया उपचारपछि हल्का रातोपन, सुन्निने, पोल्ने वा संवेदनशीलता देखिन सक्छ । यी प्रभाव प्रायः केही समयपछि कम हुँदै जान्छन् । तर गलत अवस्थामा वा अनुचित तरिकाले उपचार गरिएमा संक्रमण, लामो समयसम्म रातोपन देखिने, खत बस्ने जोखिम हुन सक्छ । विशेषगरी पहिले नै असामान्य रूपमा खत बस्ने समस्या भएका व्यक्तिमा सावधानी आवश्यक हुन्छ ।

कुन उमेरदेखि माइक्रोनिडलिङ गर्न सकिन्छ ?

सामान्य अवस्थामा १८ वर्षपछि गर्न सकिन्छ । तर कुनै चिकित्सकीय कारणले कम उमेरमै आवश्यक परेको अवस्थामा अभिभावकको उपस्थितिमा चिकित्सकको सल्लाहअनुसार गर्न सकिन्छ । केवल सौन्दर्यका लागि भने सामान्यतया १८ वर्षभन्दा माथिको उमेरलाई प्राथमिकता दिइन्छ ।

कति सत्र आवश्यक पर्छ ?

छालाको समस्या र उपचारको उद्देश्यअनुसार फरक हुन्छ । सामान्यतया एक महिनादेखि ६ हप्ताको अन्तरमा यसका सेसन गर्न सकिन्छ । खत, फाइन लाइन वा छालाको बनावट सुधारका लागि धेरै सत्र आवश्यक पर्न सक्छ । प्रायः चार सेसन सम्मको उपचारबाट राम्रो सुधार खोजिन्छ । त्यसपछि आवश्यकता र उद्देश्यअनुसार ६ महिनादेखि एक वर्षको अन्तरमा एक–दुई पटक मर्मत उपचार गर्न सकिन्छ ।

माइक्रोनिडलिङसँग पीआरपीजस्तै अन्य उपचार पनि जोड्न सकिन्छ ?

आवश्यकताअनुसार माइक्रोनिडलिङलाई पीआरपी, रेडियोफ्रिक्वेन्सी, सबसिजन वा केही अवस्थामा अन्य उपचारसँग संयोजन गर्न सकिन्छ । गहिरो डन्डीफोरका खतमा सबसिजन उपयोगी हुन सक्छ । केही अवस्थामा टीसीए क्रस वा केमिकल पिलिङसँग पनि संयोजन गरिन्छ । तर, सबै उपचार एकैपटक सबैलाई आवश्यक हुन्छ भन्ने होइन । कुन समस्या छ, खत कति गहिरो छ अथवा छालाको अवस्था कस्तो छ भन्ने आधारमा उपचार छनोट गर्नुपर्छ ।

यो उपचार फाइन लाइन र चाउरिपनाका लागि कति प्रभावकारी हुन्छ ?

उमेर बढ्दै जाँदा छालालाई सन्तुलित राख्ने कोलाजिन र इलास्टिनको मात्रा घट्दै जान्छ । त्यसले छाला केही खुकुलो हुने र फाइन लाइन देखिने हुन्छ । माइक्रोनिडलिङले कोलाजिन निर्माणलाई प्रोत्साहन गर्ने भएकाले फाइन लाइन र छालाको बनावटमा केही सुधार ल्याउन सक्छ । तर गहिरा चाउरिपनाका लागि यो सबैभन्दा प्रभावकारी उपचार हो भनेर बुझ्नु हुँदैन । समस्या र अपेक्षाअनुसार अन्य उपचार पनि आवश्यक हुन सक्छ ।

छाला भ्याम्पायर फेसियल सौन्दर्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय