+

मधुमेह छ भन्दैमा दसैँको स्वाद किन छोड्ने ?

२०८३ कात्तिक  ३ गते १५:०१ २०८३ कात्तिक ३ गते १५:०१
मधुमेह छ भन्दैमा दसैँको स्वाद किन छोड्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधुमेह भएका व्यक्तिले दसैंमा भात, मासु, मिठाई र फलफूल मात्रा मिलाएर खानुपर्ने लेखमा उल्लेख गरिएको छ।
  • खाना ढिला गर्न, औषधि छाड्न र मदिरा पिउन मधुमेह भएका व्यक्तिलाई जोखिम हुने लेखमा बताइएको छ।
  • स्वास्थ्य अवस्थाले अनुमति दिए खाना खाएपछि हल्का हिँडडुल गर्न र नियमित व्यायाम जारी राख्न सुझाव दिइएको छ।

दसैंको रमाइलो नै खानपिनमा छ । मिठो खाने, परिवारसँग बसेर खाने र मन लागेको परिकारको स्वाद लिने । तर, यही रमाइलोको बीचमा कतिपयलाई भने पीर पर्न थाल्छ । मुख बार्नुपर्ने रोग मधुमेह छ, अब के खाने ?

छाकै पिच्छे भान्सामा पाक्ने मासुको बास्नाले तान्छ । देख्दा खान मन लाग्छ । मिठाई देख्दा जिब्रो रसाउँछ । अरूले थपेको देख्दा आफूले पनि थपूँजस्तो लाग्छ । तर, रगतमा चिनीको मात्रा बढ्ने डरले मन मार्नुपर्ने अवस्था आउँछ ।

मधुमेह भएका मानिसका लागि दसैँ खानै नहुने पर्व होइन । न त दसैँमा पाक्ने सबै परिकार विष हुन् । समस्या खानेकुरामा मात्रै होइन, कति खाइन्छ, कसरी पकाइन्छ र एकैपटक कति धेरै खाइन्छ भन्नेमा पनि छ।

भात खान हुन्छ, तर थालभरि होइन

नेपालीको दसैँको थालीमा भातको आफ्नै स्थान छ । मासु र अचारसँग भात नखाए चाडपर्वको खाना खाएको जस्तै नलाग्न सक्छ । तर, मधुमेह भएका व्यक्तिले भातको मात्रा भने ख्याल गर्नुपर्छ । भातमा कार्बोहाइड्रेट हुन्छ । शरीरले यसलाई पचाएर ग्लुकोज बनाउँछ, जसले रगतमा चिनीको मात्रा बढाउँछ । त्यसैले एकैपटक धेरै भात खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ ।

यसको अर्थ भात पूर्ण रूपमा छाड्नुपर्छ भन्ने होइन । आफ्नो औषधि, शारीरिक गतिविधि र रगतमा चिनीको अवस्थाअनुसार मात्रा मिलाउनुपर्छ । खाना खाने एउटा सजिलो तरिका छ । खानालाई तीन भागमा बाँड्ने । थालको आधा भाग सागसब्जी र कम स्टार्च भएका तरकारीले भर्ने, एक चौथाइ भाग माछा, कुखुराको मासु, अण्डा वा अन्य प्रोटिनयुक्त खानेकुराले भर्ने र बाँकी एक चौथाइ भाग भात वा अन्य अन्नका लागि छुट्याउने ।

यो विधिले खानाको मात्रा मिलाउन मद्दत गर्छ । तर, यो सबैका लागि एउटै निश्चित नियम भने होइन । कसैलाई औषधि र स्वास्थ्य अवस्थाअनुसार फरक मात्रा आवश्यक पर्न सक्छ ।

सेतो चामलको सट्टा बढी रेसायुक्त अन्न रोज्न सकिन्छ । तर, खैरो चामल वा अन्य अन्न खाँदैमा जति खाए पनि हुन्छ भन्ने होइन । खानेकुराको प्रकारसँगै मात्रा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

‘मासु खान हुन्छ, तर पकाउने तरिका ख्याल गरौं’

दसैँमा धेरैजसो नेपालीको भान्सामा मासु पाक्छ नै । खसीको मासु, कुखुरा, माछा वा अन्य परिकार हुन्छन् । मधुमेह भएका व्यक्तिले पनि मासु खान सक्छन् । तर, मासु कसरी पकाइएको छ र त्यसमा कति बोसो छ भन्ने कुराले फरक पार्छ ।

मासुमा कार्बोहाइड्रेट कम भए पनि त्यसमा भएको बोसो, विशेषगरी बढी मात्राको संतृप्त बोसोले मुटुको स्वास्थ्यमा असर पार्न सक्छ । मधुमेह भएका व्यक्तिमा मुटुरोगको जोखिमसमेत बढ्न सक्ने भएकाले मासु छनोट र पकाउने तरिकामा ध्यान दिनुपर्छ ।

बोसो कम भएको मासु रोज्ने, देखिने बोसो हटाउने र धेरै तेलमा तारेर वा घिउमा डुबाएर पकाउनुको सट्टा कम तेलमा पकाउने बानी राम्रो हुन्छ । मासुको झोलमा तेलको बाक्लो तह जमेको छ भने त्यो पनि सकेसम्म कम खानुपर्छ ।

मासु खाँदा भात, चिउरा, रोटी र आलुजस्ता कार्बोहाइड्रेटयुक्त खानेकुरा पनि एकैपटक धेरै नथपौँ । मासु खाएको दिन भात पूरै छाड्नैपर्छ भन्ने होइन । दुवैको मात्रा
मिलाउनु महत्त्वपूर्ण हुन्छ ।

मासुसँग साग, काँक्रो, मुला, गोलभेँडा वा अन्य तरकारी पनि राख्न सकिन्छ । यसले थालीमा विविधता थप्छ र खानाको सन्तुलन मिलाउन सहयोग गर्छ ।

शाकाहारीले केमा ध्यान दिने ?

मासु नखानेले पनि दसैँमा पनिर, चिज र अन्य दुग्धजन्य परिकार खाँदा मात्रा र पकाउने तरिकामा ध्यान दिनुपर्छ । पनिरमा प्रोटिन र चिल्लोको हुन्छ । प्रोटिनले शरीरमा इन्सुलिनको प्रतिक्रिया बढाउन सक्छ, तर त्यसैले मात्र रगतमा चिनीको मात्रा बढ्छ भन्ने होइन ।

पनिर आफैँमा स्वस्थ कुरा हो, तर, धेरै घिउ वा तेलमा पकाइएको पनिर, क्रिमयुक्त ग्रेभी र धेरै बोसो भएका दुग्धजन्य परिकार बारम्बार वा ठूलो मात्रामा खाँदा अतिरिक्त क्यालोरी र संतृप्त बोसो शरीरमा पुग्न सक्छ । त्यसैले, कम बोसो भएको पनिर रोज्ने, कम तेलमा पकाउने र परिमाण मिलाएर खाने बानी राम्रो हुन्छ ।

मिठाई देख्दैमा मन थाम्नुपर्छ ?

दसैँमा मिठाईको आकर्षण छुट्टै हुन्छ । सेलरोटी, खीर, लड्डु, जेरी, रसबरी र विभिन्न प्रकारका गुलिया परिकारहरु यही बेला बढी खाइन्छ । घरमा आउने पाहुनालाई खुवाउन होस् वा आफन्तले दिएको प्रसाद, मिठाई दसैँको खानपिनको अभिन्न हिस्सा बनेको हुन्छ ।

मधुमेह भएका व्यक्तिका लागि यस्ता परिकारमा चिनीको मात्रा ख्याल गर्नु आवश्यक हुन्छ । धेरै चिनी भएको खानेकुरा एकैपटक खाँदा रगतमा ग्लुकोजको मात्रा बढ्न सक्छ ।

तर, मिठाईको नाम सुन्नासाथ सधैँका लागि प्रतिबन्ध लगाउनुपर्छ भन्ने पनि होइन । आफ्नो स्वास्थ्य अवस्था र खानाको योजनाअनुसार सानो मात्रा रोज्न सकिन्छ । मिठाई खाँदा त्यसलाई अतिरिक्त खानाका रूपमा थप्नुको सट्टा त्यसमा भएको कार्बोहाइड्रेटलाई समग्र खानाको योजनामा समेट्नु राम्रो हुन्छ ।

चिनीको सट्टा मह, सख्खर वा अन्य प्राकृतिक गुलियो पदार्थ प्रयोग गर्दैमा मधुमेहका लागि सुरक्षित भइहाल्छ भन्ने होइन । यी पदार्थले पनि रगतमा चिनीको मात्रा बढाउन सक्छन् ।

जुसभन्दा सिंगो फल खाऔं

दसैँमा फलफूल पनि प्रशस्तै खाइन्छ । स्याउ, सुन्तला, केरा, मेवा र अन्य मौसमी फलफूल घरमा ल्याइन्छन् । फलफूलमा भिटामिन, खनिज र रेसा पाइन्छ । त्यसैले, मधुमेह भएका व्यक्तिले फलफूल पूर्ण रूपमा छाड्नुपर्ने आवश्यकता हुँदैन ।

तर, फलफूलको प्रकार र मात्रा ख्याल गर्नुपर्छ । एकैपटक धेरै फलफूल खानु वा दिनभरि बारम्बार ठूलो मात्रामा फलफूल खानु उचित हुँदैन । सिंगो फल खानु जुस पिउनुभन्दा राम्रो विकल्प हो, किनकि जुस बनाउँदा रेसा कम हुन सक्छ र धेरै फलको रस एकैपटक पिउन सजिलो हुन्छ ।

फलफूलको रसमा थपिएको चिनी छ भने झन् सावधानी आवश्यक हुन्छ । फलफूल खाँदा आफ्नो नियमित खानाको योजनाअनुसार मात्रा मिलाउनुपर्छ ।

अचार, चिउरा र पेय पदार्थमा पनि ध्यान दिऊँ

मासु र भातसँग अचार, चिउरा, आलु तथा अन्य परिकार थप्ने बानी हुन्छ । यी खानेकुरा छुट्टाछुट्टै थोरै खाँदा पनि सबै जोडिँदा कार्बोहाइड्रेट र क्यालोरीको मात्रा धेरै हुन सक्छ । विशेषगरी आलु, चिउरा र चामलबाट बनेका परिकार खाँदा मात्रा मिलाउनुपर्छ । अचारमा नुन र तेल धेरै हुन सक्ने भएकाले यसको सेवन पनि सीमित गर्नु राम्रो हुन्छ ।

दसैँमा चिसो पेय र गुलियो जुस पनि अन्य बेला भन्दा बढी खाइन्छ ।यस्ता पेय पदार्थले थाहै नपाई शरीरमा धेरै चिनी पुर्‍याउन सक्छन् । अर्कोकुरा, दसैँमा मासुसँगै मदिरा पिउने चलन भए पनि मधुमेह भएका व्यक्तिका लागि मदिरा जोखिमपूर्ण हुन सक्छ । यसले रगतमा चिनीको मात्रा घटाउन वा बढाउन सक्छ ।

विशेषगरी इन्सुलिन वा रगतमा चिनी घटाउने केही औषधि सेवन गर्ने व्यक्तिमा मदिराले चिनीको मात्रा खतरनाक रूपमा घटाउन सक्छ । मदिराले शरीरमा क्यालोरी पनि थप्छ र खानपानको नियमिततालाई बिगार्न सक्छ । त्यसैले मधुमेह भएका व्यक्तिले मदिरा नपिउनु नै सुरक्षित विकल्प हो ।

खानाको समय नबिगारौँ, औषधि नछाडौँ

दसैँमा टीका थाप्न जाने, आफन्तको घरमा बस्ने र भोजभतेरमा सहभागी हुने गर्दा खानाको नियमित समय बिग्रन सक्छ । बिहानको खाना ढिला गर्ने, दिउँसो नखाई साँझ धेरै खाने वा औषधि खान बिर्सने समस्या हुन सक्छ ।

मधुमेह भएका व्यक्तिले आफ्नो खानाको समय र औषधिको तालिका सकेसम्म नियमित राख्नुपर्छ । विशेषगरी इन्सुलिन वा रगतमा चिनीको मात्रा घटाउन सक्ने केही औषधि प्रयोग गर्ने व्यक्तिले खाना छाड्दा वा ढिलो गर्दा चिनीको मात्रा अत्यधिक घट्ने जोखिम हुन सक्छ ।

त्यसैले, मिठाई वा भोज खान पाइने आशामा बिहानदेखि भोकै बस्नु उचित होइन । औषधिको मात्रा आफैँ घटाउने, बढाउने वा छाड्ने गर्नु हुँदैन । यात्रा वा भोजभतेरमा जाँदा आवश्यक औषधि र स्वास्थ्य सामग्री साथमा राख्नु राम्रो हुन्छ ।

हिँडडुल पनि गरौँ

दसैँ भनेको खाने र बस्ने मात्रै होइन । आफन्त भेट्न हिँड्ने, घरका काममा सघाउने र परिवारसँग समय बिताउने अवसर पनि हो । तर, बिदाको समयमा शारीरिक गतिविधि घट्न सक्छ । मधुमेह रोग नै यस्तै हो, जति खाइन्छ, त्यो पचाउन त्यही अनुसारको शारिरीक गतिविधिमा लाग्नै पर्छ ।

स्वास्थ्य अवस्थाले अनुमति दिएमा खाना खाएपछि हल्का हिँडडुल गर्न सकिन्छ । नियमित व्यायाम गर्ने व्यक्तिले आफ्नो दिनचर्या सकेसम्म निरन्तर राख्नु राम्रो हुन्छ । परिवारका सदस्यले पनि उनीहरूलाई बारम्बार ‘यो नखाऊ, त्यो नखाऊ’ भन्नुभन्दा उपयुक्त विकल्प रोज्न सहयोग गर्न सक्छन् ।

खाना दशै‌ं मधुमेह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय