+
+
Shares

बाढीका डरलाग्दा भिडियोले बालबालिकामा बढाउँदै छ मानसिक तनाव

सामाजिक सञ्जालमा विपद्का दृश्य दोहोरिएर देखिँदा डर, चिन्ता र निद्रामा समस्या हुन सक्ने विज्ञको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपहिरोबाट प्रभावित बालबालिका सामाजिक सञ्जालमा देखिने शव र विनाशका दृश्यले थप मानसिक त्रासमा परेको सरोकारवालाले बताएका छन् ।
  • विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले नुवाकोट र रसुवाका शिविरमा आमा–बुवासहित सबै सदस्य गुमाएका बालबालिका भेटिएको बताइन् ।
  • राष्ट्रिय साइबर सुरक्षा केन्द्रले हानिकारक सामग्री र गलत सूचनाको नियन्त्रणका लागि सरकारी निकाय र सामाजिक सञ्जाल प्लेटफर्मबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ ।

३१ असोज, काठमाडौं । बाढीपहिरोले घरबारविहीन बनाएका बालबालिका आफैँमा गहिरो मानसिक पीडामा छन् । त्यसमाथि सामाजिक सञ्जाल खोल्दा देखिने बगाउँदै गरेका मानिस, मृत्यु भएका व्यक्तिका शव र ध्वस्त घरका डरलाग्दा दृश्यले उनीहरूको त्रास झन् बढाइरहेको छ ।

बाढीपहिरोमा मृत्यु भएका व्यक्तिका तस्बिर र भिडियो सामाजिक सञ्जालमा बारम्बार पोस्ट तथा सेयर भइरहेका छन् । एकपटक हेरिसकेको पीडादायी भिडियोसमेत सामाजिक सञ्जालको एल्गोरिदमका कारण पटकपटक देखिन सक्छ । यसले विशेषगरी विपद्बाट प्रत्यक्ष प्रभावित बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने सरोकारवालाले बताएका छन् ।

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीका अनुसार बाढी प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श दिँदा परिवारका सबै सदस्य गुमाएर एक्लिएका बालबालिकासमेत भेटिएका छन् । उनीहरूका लागि विपद्का दृश्य केवल सामाजिक सञ्जालमा देखिने भिडियो मात्र नभई आफूले भोगेको पीडालाई पुन: सम्झाउने माध्यम बनिरहेका छन् ।

‘बाढी प्रभावित महिला तथा बालबालिकाको मानसिक स्वास्थ्य अवस्था जटिल छ । नुवाकोट र रसुवामा सञ्चालित शिविरमा मनोसामाजिक परामर्शलगायत कार्यक्रम गर्दा आमा, बुवासहित मामाघरका सबै सदस्य गुमाएर एक्लै परेका बालबालिकासमेत भेटिएका छन्,’ भण्डारीले भनिन्, ‘सामाजिक सञ्जालमा देखिने विपद्का दृश्यले उनीहरू झन् कहालिन्छन् ।’

उनका अनुसार सामाजिक सञ्जालको एल्गोरिदमले एउटै प्रकृतिका भिडियो पटकपटक देखाउने भएकाले प्रभावित बालबालिका थप तनावमा पर्ने गरेका छन् । मनोसामाजिक परामर्शका क्रममा विभिन्न उमेर समूहका प्रभावितले यस्ता दृश्य हेरेपछि डर लाग्ने, शरीर काँप्ने र भोक हराउनेजस्ता समस्या सुनाएको उनले बताइन् ।

एउटै भिडियोले पटकपटक सम्झाउन सक्छ पीडा

विपद्सम्बन्धी दृश्यको असर प्रत्यक्ष प्रभावित बालबालिकामा मात्रै सीमित हुँदैन । मृत्यु, विनाश र उद्धारका डरलाग्दा दृश्यको पटकपटक सम्पर्कमा आउँदा अन्य बालबालिकासमेत त्रसित हुन सक्छन् ।

सामाजिक सञ्जालमा विपद्सम्बन्धी संवेदनशील दृश्यको अनियन्त्रित प्रसार रोक्न प्रभावकारी निगरानी र सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिएको विज्ञहरुको भनाइ छ ।

भ्वाइस अफ चिल्ड्रेनको बाल सल्लाहकार समितिका सदस्य सोहन भुजेलका अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रका अस्थायी आश्रयस्थलमा रहेका धेरै बालबालिका तथा किशोरकिशोरी मोबाइल चलाएर समय बिताउने र विपद्सम्बन्धी भिडियो हेर्ने गरेको पाइएको छ ।

विपद्बाट प्रभावित बालबालिका सुरक्षित वातावरण, पर्याप्त हेरचाह र मनोसामाजिक सहयोगको आवश्यकतामा रहेका बेला मोबाइलमा देखिने पीडादायी दृश्यले उनीहरूको तनाव थप बढाउन सक्ने भुजेलले बताए ।

भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक तथा चिल्ड्रेन एज जोन अफ पिस (सीजेडओपी) नेपालका महासचिव राजु घिमिरेले पनि विपद्सम्बन्धी भिडियोको दोहोरिएको सम्पर्कले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने बताए ।

यस्ता सामग्रीका कारण चिन्ता, असुरक्षाको भावना, निद्रामा समस्या तथा घटनासँग सम्बन्धित दृश्य बारम्बार सम्झनामा आइरहने समस्या देखिन सक्ने उनको भनाइ छ । त्यसैले बालबालिकालाई यस्ता सामग्रीको पहुँचबाट जोगाउने र उनीहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउने उपाय अपनाउनुपर्नेमा उनले जोड दिए ।

हानिकारक सामग्री नियन्त्रण गर्न सरकारी समन्वय आवश्यक

सामाजिक सञ्जालमा विपद्सम्बन्धी संवेदनशील दृश्यको अनियन्त्रित प्रसार रोक्न प्रभावकारी निगरानी र सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिएको विज्ञहरुको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयको राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक तथा प्रवक्ता राजकुमार महाराजनले हानिकारक सामग्री, भ्रामक सूचना र गलत सूचनाको नियन्त्रणका लागि सरकारी निकाय तथा सामाजिक सञ्जाल प्लेटफर्मबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

‘हानिकारक अनलाइन सामग्री, भ्रामक सूचना तथा गलत सूचनाको नियन्त्रणका लागि सम्बन्धित सरकारी निकाय र सामाजिक सञ्जाल प्लेटफर्मबीच थप प्रभावकारी समन्वय गर्न ढिला भइसकेको छ,’ महाराजनले भने ।

उनका अनुसार फेसबुक र एक्स (पहिले ट्विटर) जस्ता प्लेटफर्मसँग सर्वसाधारणलाई असर गर्ने हानिकारक सामग्री हटाउन सहकार्य गर्ने प्रयास भइरहेको छ । तर, हटाइसकेको सामग्रीसमेत पुन: देखा पर्ने गरेको उनले बताए । पटकपटक नियम उल्लङ्घन गर्नेविरुद्ध प्रचलित कानुन र प्रक्रियाअनुसार थप कदम चाल्नुपर्ने उनको भनाइ छ ।

महाराजनले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट वास्तविकजस्तै देखिने नक्कली तस्बिर, भिडियो तथा अडियो तयार गरी गलत सूचना फैलाउने क्रम बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे । यस्तो चुनौती सामना गर्न जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको उनले बताए ।

बालबालिका हानिकारक डिजिटल सामग्रीप्रति बढी संवेदनशील हुने र त्यसको असर उनीहरूको मानसिक तथा भावनात्मक स्वास्थ्यमा लामो समयसम्म रहन सक्ने भएकाले अनलाइन सुरक्षासम्बन्धी स्पष्ट कानुनी व्यवस्था, मापदण्ड र निर्देशिका आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

विपद्सम्बन्धी सामग्री सार्वजनिक गर्दा पीडितको सम्मान, गोपनीयता र बालबालिकाको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु आवश्यक छ ।

बालबालिकालाई अनलाइन जोखिमबाट कसरी जोगाउने ?

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन ‘बाल अनलाइन सुरक्षा निर्देशिका, २०७६’ तथा विभिन्न जनचेतनामूलक सामग्रीमार्फत अभिभावकीय निगरानी र डिजिटल सुरक्षामा जोड दिँदै आएको छ ।

विशेषगरी विपद्का समयमा अभिभावकले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा ध्यान दिनु आवश्यक हुन्छ । उनीहरूले कस्ता सामग्री हेरिरहेका छन्, कति समय मोबाइलमा बिताइरहेका छन् र त्यस्ता सामग्रीले उनीहरूको व्यवहारमा कस्तो प्रभाव पारेको छ भन्ने विषयमा चासो राख्नुपर्छ ।

बालबालिकाको स्क्रिन टाइम व्यवस्थापन गर्ने, आवश्यकताअनुसार अभिभावकीय नियन्त्रणका सुविधा प्रयोग गर्ने र शङ्कास्पद अनलाइन गतिविधिबारे जानकारी दिन उनीहरूलाई प्रोत्साहित गर्नुपर्ने प्राधिकरणको सुझाव छ ।

त्यसैगरी, विपद्का डरलाग्दा दृश्य देखिएमा बालबालिकालाई गाली गर्ने वा मोबाइल खोस्नेभन्दा पनि उनीहरूलाई त्यस्ता सामग्रीबाट टाढा राख्ने, डर र भावनाबारे खुलेर कुरा गर्ने तथा आवश्यकताअनुसार मनोसामाजिक सहयोग उपलब्ध गराउने वातावरण बनाउनुपर्छ ।

विपद्का बेला सामाजिक सञ्जाल सूचना आदानप्रदान र उद्धार तथा राहतसम्बन्धी जानकारी प्राप्त गर्ने माध्यम भए पनि संवेदनशील दृश्यको अनियन्त्रित प्रसारले थप मानसिक पीडा सिर्जना गर्न सक्छ । त्यसैले विपद्सम्बन्धी सामग्री सार्वजनिक गर्दा पीडितको सम्मान, गोपनीयता र बालबालिकाको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु आवश्यक छ ।

बालबालिकामाथि हुने दुर्व्यवहारसम्बन्धी घटनाको उजुरी दिन सकिने अनलाइन प्रणालीको विकास तथा कार्यान्वयनमा समेत जोड दिइएको छ । हानिकारक सामग्रीको प्रसार नियन्त्रण गर्ने, अभिभावकीय निगरानी बढाउने र बालमैत्री डिजिटल वातावरण बनाउने प्रयास प्रभावकारी हुन सके विपद्का बेला बालबालिकालाई थप मानसिक आघातबाट जोगाउन सहयोग पुग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?