१३ असोज, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुन: सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
सञ्चार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी (अर्याल) लगायत नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले बाढीपहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध दूरसञ्चार सेवा, हालसम्मको पुनर्स्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिए ।
छलफलमा उनले प्राकृतिक विपत्तिका कारण सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित नागरिक, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय तथा अन्य सरोकारवाला निकायलाई समेत कठिनाइ हुने भएकाले सञ्चार सेवा पुनर्स्थापनालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए ।
सञ्चारमन्त्री तिमिल्सिनाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सडक तथा विद्युत् संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भए गरेका कामबारे समेत जानकारी लिए । उनले तत्काल विद्युत् आपूर्ति पुर्याउन नसकिने स्थानमा वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सञ्चालनमा ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिए ।
छलफलमा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालले बाढीपहिरोका कारण टेलिकमका विभिन्न साइटमा पुगेको क्षति र सेवा पुनर्स्थापनाका लागि भइरहेको कामबारे जानकारी गराए ।
सडक तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेका कारण केही स्थानमा प्राविधिक टोली तथा आवश्यक उपकरण लैजान कठिनाइ भएको उनले बताए ।
टेलिकमले अवरुद्ध सेवा पुन: सञ्चालनका लागि आवश्यक जनशक्ति तत्काल परिचालन गरेको र प्रभावित साइटलाई प्राथमिकताका आधारमा पुन: सञ्चालन गरिरहेको जनाएको छ ।
१ हजार २ साइट पुन: सञ्चालन
टेलिकमका अनुसार ८ देखि ११ असोजसम्म देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण विद्युत् आपूर्तिसमेत अवरुद्ध हुँदा १ हजार १ सय ३२ टेलिफोन टावर प्रभावित भएका थिए । तीमध्ये हालसम्म १ हजार २ वटा साइट पुन: सञ्चालनमा आइसकेका छन् ।
सञ्चालनमा आउन नसकेका १ सय ३० टावर शीघ्र सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति, उपकरण, प्राविधिक जनशक्ति तथा ढुवानी व्यवस्था प्रभावकारी परिचालन गर्न सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन दिए ।
प्रतिक्रिया 4