१३ असोज, काठमाडौं । हामी धेरैजसो दिन २४ घण्टाको हुन्छ भन्ने सोच्छौँ। तर वास्तवमा पृथ्वीको घुम्ने गति सधैँ एउटै हुँदैन। यो फरक धेरै सानो हुन्छ। भौतिकशास्त्रीहरूले यसलाई मापन गर्न सक्छन्। पृथ्वीको भित्री भागमा हुने सूक्ष्म परिवर्तनका कारण केही दिन अलि छोटा वा लामा हुन्छन्।
वैज्ञानिकहरूले करिब तीन दशकदेखि पृथ्वीको तरल कोर एउटै गतिमा नघुम्ने कुरा थाहा पाएका छन्। चुम्बकीय क्षेत्रमा हुने परिवर्तनले तरल कोर केही दशकमा तीव्र र त्यसपछिका दशकमा सुस्त हुने देखाएको छ। पृथ्वीको म्यान्टलले यसको विपरीत प्रतिक्रिया दिन्छ। कोरको गति बढ्दा म्यान्टल सुस्त हुन्छ र कोर सुस्त हुँदा म्यान्टलको गति बढ्छ।
यो आदानप्रदान पृथ्वीको कुल एङ्गुलर मोमेन्टम स्थिर रहने भएकाले हुन्छ। म्यान्टलको घुम्ने गतिमा हुने साना परिवर्तनले पनि दिनको लम्बाइमा केही मिलिसेकेन्डको फरक पार्छन्।
वैज्ञानिकहरूले कोर र म्यान्टलले यो मोमेन्टम कसरी साटासाट गर्छन् भनेर लामो समयदेखि अध्ययन गरिरहेका थिए। सेप्टेम्बर २३ मा नेचर पत्रिकामा प्रकाशित अध्ययनमा अल्बर्टा युनिभर्सिटीका पिएचडी विद्यार्थी हुइफेङ झाङ र प्रोफेसर म्याथ्यु डम्बरीले यसको समाधान प्रस्तुत गरेका छन्।
उनीहरूका अनुसार पृथ्वीको भित्री कोरको घुम्ने गतिमा हुने परिवर्तनले ग्याभिटेशनल टर्क सिर्जना गर्छ। भित्री कोर पूर्ण रूपमा गोलो नभएकाले यसको गतिले म्यान्टलको माससँग गुरुत्वाकर्षण अन्तरक्रिया गर्छ। यसले म्यान्टलको घुम्ने गतिमा थोरै परिवर्तन ल्याउँछ। यसैका कारण दिनको लम्बाइमा साना परिवर्तनहरू आउँछन्।
कोर र म्यान्टलको सिमानामा अर्को बलले पनि काम गर्छ। यसलाई कोर म्यान्टल बाउन्ड्री टर्क भनिन्छ। यसले घर्षण र इलेक्ट्रोम्याग्नेटिक ड्र्याग सिर्जना गर्छ। यसले गुरुत्वाकर्षण खिचावको विरोध गर्छ। यो प्रतिरोधले दिनको लम्बाइ कति परिवर्तन हुन सक्छ भन्ने सीमा तय गर्छ। अनुसन्धानकर्ताहरूका अनुसार यी दुई टर्कबिचको सन्तुलनमा आउने फेरबदलले दिनको लम्बाइमा भिन्नता ल्याउँछ।
यो खोजले पृथ्वीको गहिरो भागमा के भइरहेको छ भन्नेबारे नयाँ जानकारी दिएको छ। झाङ र डम्बरीका अनुसार भित्री कोर करिब १० वर्षको समयसीमामा भिस्कस्ली डिफर्म हुन्छ। यसले पृथ्वीको सबैभन्दा भित्री भाग हामीले सोचेभन्दा धेरै गतिशील रूपमा परिवर्तन हुन सक्ने देखाउँछ।
प्रतिक्रिया 4