+

दसैंमा प्रेसरका बिरामीले के गर्ने, के नगर्ने ?

२०८३ कात्तिक  ३ गते १४:३० २०८३ कात्तिक ३ गते १४:३०
Shares
दसैंमा प्रेसरका बिरामीले के गर्ने, के नगर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैंमा उच्च रक्तचाप भएका व्यक्तिले नुन, तेल, घिउ कम प्रयोग गरेर पकाइएका परिकार मात्र खानुपर्ने सुझाव दिइएको छ।
  • विश्व स्वास्थ्य सङ्गठनका अनुसार वयस्कले दिनमा पाँच ग्रामभन्दा कम नुन खानु उपयुक्त हुन्छ, र अचार तथा प्याकेट खानेकुरा सीमित गर्नुपर्छ।
  • लेखमा औषधि नियमित खाने, मदिरा र गुलियो पेय पदार्थबाट टाढा बस्ने, र रक्तचाप १८०/१२० एमएमएचजीभन्दा माथि पुगे तत्काल स्वास्थ्य सेवा लिनुपर्ने भनिएको छ।

दसैं भनेकै खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने मात्र होइन । मीठोमसिनो खाएर रमाउने पर्व पनि हो । वर्षभरि कामको व्यस्तताले खानपानमा ध्यान दिन नपाएकाहरू पनि दसैंमा परिवारसँग बसेर मनपर्ने परिकारको स्वाद लिन चाहन्छन् ।

आफन्तसँगको जमघटमा ‘आज त खानैपर्छ’ भन्दै धेरैजसोले आफ्नो खानपानको ख्याल गर्न बिर्सिन्छन् । यस्तोमा उच्च रक्तचापका बिरामीका लागि चाडपर्वको यही खानपान चुनौती बन्न सक्छ ।

सामान्य दिनमा नुन कम खाने, खानपानमा ध्यान दिने र नियमित औषधि सेवन गर्नेहरू पनि दसैंमा खानपानमा लापरबाही गर्दा रक्तचाप नियन्त्रणमा समस्या आउन सक्छ ।

त्यसो भए दसैंमा स्वाद पनि लिने तर रक्तचापलाई पनि नियन्त्रणमा राख्न के गर्ने त ? टीका र जमरासँगै खाइने परिकारमा कसरी सन्तुलन मिलाउने ? चिकित्सकीय दृष्टिले ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण कुरा छन् ।

मासुको मात्रा र पकाउने तरिकामा ध्यान दिने

उच्च रक्तचाप भएका व्यक्तिले मासु खाँदैमा रक्तचाप बढ्छ भन्ने होइन । तर, मासु पकाउँदा प्रयोग गरिने नुन, तेल, घिउ र अन्य सामग्रीले खानालाई अस्वस्थ बनाउन सक्छन् । विशेषगरी धेरै नुन र चिल्लो प्रयोग गरेर पकाइएका परिकार नियमित वा अत्यधिक मात्रामा खानु उपयुक्त हुँदैन ।

दसैंमा रातो मासुको सट्टा छालारहित कुखुराको मासु वा कम बोसो भएको मासु रोज्न सकिन्छ । सम्भव भए मासु उसिनेर, झोल बनाएर वा कम तेलमा पकाएर खानु तुलनात्मक रूपमा राम्रो हुन्छ । बोसो धेरै भएको मासु, भुटेको मासु र धेरै घिउतेल प्रयोग गरिएका परिकार सकेसम्म सीमित गर्नुपर्छ ।

मासु खाँदैमा सागसब्जी र अन्य खाद्य पदार्थ छुटाउनु हुँदैन । थालमा मासुको मात्रा सीमित राखेर सागसब्जी, सलाद र अन्य पौष्टिक खानेकुरा पनि समावेश गर्दा रक्तचाप अत्याधिक बढ्न पाउँदैन ।

शाकाहारी खान्कीमा पनि ध्यान दिने

दसैंमा मांसाहारीले मासुका परिकार खाँदा शाकाहारीले पनिर, तारेका आलु र च्याउका परिकारलाई प्राथमिकता दिन्छन् । तर, मासुले मात्रै होइन, बढी मात्रामा मसालेदार पनिर, तारेको आलु र च्याउ पकाउँदा धेरै तेल, नुन र मसला प्रयोग गरिएको छ भने त्यस्ता परिकार बढी खाँदा पनि रक्तचाप नियन्त्रणमा समस्या ल्याउन सक्छ । त्यसैले, पकाउँदा कम तेल र नुन प्रयोग गरिएर पकाउने र खाँदा मात्रा मिलाएर खानु उपयुक्त हुन्छ ।

अचार, चिउरा र नुनको मात्रा कति ?

धेरै नुन प्रयोग गरेर बनाइएको अचार, गुन्द्रुकको अचार, नुनिलो भुजिया, चिप्स, पापड तथा प्याकेटमा पाइने खानेकुरा दसैंको हरेक छाकमा पाक्ने गर्छ । यस्ता परिकारमा सोडियमको मात्रा बढी हुने हुँदा धेरै खाएमा रक्तचाप नियन्त्रणमा समस्या आउन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वयस्कले दिनमा पाँच ग्रामभन्दा कम नुन खानु उपयुक्त हुन्छ । त्यसैले, खाना पकाउँदा नुन कम प्रयोग गर्ने, थालमा थप नुन नराख्ने र अचार थोरै मात्र खाने बानी बसाल्नुपर्छ । स्वाद बढाउन कागती, लसुन, अदुवा, जिरा, धनियाँ र अन्य मसला प्रयोग गर्न सकिन्छ ।

सागसब्जी र फलफूल उत्तिकै आवश्यक

दसैंमा चिल्ला परिकारलाई बढी प्राथमिकता दिँदा सागसब्जी, फलफूल र अन्य पौष्टिक खानेकुरा छुट्ने गर्छन् । तर, उच्च रक्तचाप नियन्त्रणका लागि सन्तुलित खानपान महत्त्वपूर्ण हुन्छ ।

हरियो सागसब्जी, लौका, फर्सी, काउली, काँक्रो, गाजर र मौसमी फलफूल खान सकिन्छ । त्यस्तै, दाल, गेडागुडी र कम चिल्लो भएका खानेकुरा पनि खानामा समावेश गर्नुपर्छ ।

यस्तो खान्कीले रक्तचाप नियन्त्रणमा सहयोग गर्न सक्छ । तर, मिर्गौलाको समस्या भएका वा शरीरमा पोटासियमको मात्रा नियन्त्रण गर्नुपर्ने व्यक्तिले चिकित्सकको सल्लाहबिना पोटासियमयुक्त खानेकुरा अत्यधिक बढाउनु हुँदैन ।

मदिरा र गुलियो पेय पदार्थबाट टाढा बस्ने

साथीभाइले र आफैंले पनि बल्लबल्ल आएको चाडपर्वमा एकछिन खाएर केही हुँदैन भन्दै दसैंमा रक्सी खानेहरू धेरै हुन्छन् । तर स्वास्थ्य समस्याले चाडपर्व हेर्दैन ।

रक्सी बढी खाँदा रक्तचाप बढाउने मात्र होइन, अत्यधिक दवावले दीर्घकालीन रूपमा मुटुसम्बन्धी जोखिमसमेत बढाउँछ । त्यसैले, उच्च रक्तचाप भएका व्यक्तिले मदिरा नपिउनु उपयुक्त हुन्छ ।

त्यस्तै, कोल्ड ड्रिंक्स, धेरै चिनी भएको जुस र गुलियो पेय पदार्थको सेवन पनि सीमित गर्नुपर्छ ।

औषधि नछुटाउनुहोस्, रक्तचाप जाँचिरहनुहोस्

दसैंको व्यस्ततामा औषधि खाने समय बिर्सिने वा रक्तचाप सामान्य देखिएपछि औषधि बन्द गर्ने गल्ती गर्नु हुँदैन । चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नुपर्छ ।कतिपयले चिल्लोचाप्लो बढी खाइयो भनेर औषधि नै डबल खाने पनि गर्छन्, जुन गलत हो। आफुखुसी मात्रा घटाउने र चिप्लोले बढाउने वा औषधि बन्द गर्ने गर्नु हुँदैन ।

लामो समय घरबाहिर बस्नुपर्ने भए आवश्यक औषधि साथमै राख्नुपर्छ । सम्भव भए घरमै रक्तचाप जाँच्ने र चिकित्सकले दिएको लक्ष्यअनुसार नियन्त्रणमा छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । उच्च रक्तचापमा प्रायः स्पष्ट लक्षण नदेखिने भएकाले आफूलाई सामान्य महसुस हुँदैमा रक्तचाप नियन्त्रणमा छ भन्ने निश्चित हुँदैन ।

छुटयाउनै नहुने कुरा

-खाना एकैपटक धेरै नखाने, मात्रा मिलाएर खाने ।

-नियमित समयमा सुत्ने र पर्याप्त आराम गर्ने ।

-सम्भव भएसम्म दैनिक हिँडडुल गर्ने ।

-तनाव कम गर्ने र नियमित दिनचर्या कायम राख्ने ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार रक्तचाप १८०÷१२० एमएमएचजी वा त्यसभन्दा माथि पुगेको अवस्थामा विशेष सावधानी आवश्यक हुन्छ । रक्तचाप धेरै बढेको छ र छाती दुख्ने, सास फेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने वा शरीरको एक भाग कमजोर हुनेजस्ता लक्षण देखिएका छन् भने तुरुन्तै आकस्मिक स्वास्थ्य सेवा लिनु उपयुक्त हुन्छ ।

दसैंमा खानपानमा नियन्त्रण गर्नु भनेको चाडपर्वको खुसीबाट टाढा रहनु होइन । स्वादिला परिकारको मात्रा मिलाउने, नुन र चिल्लो कम गर्ने, औषधि नियमित खाने र सक्रिय रहने हो भने उच्च रक्तचाप भएका व्यक्तिले पनि परिवारसँग दसैंको रमाइलो गर्न सकिन्छ।

उच्च रक्तचाप खानपान दसैं
डा. अशोक श्रेष्ठ
लेखक
डा. अशोक श्रेष्ठ
मुटुरोग विशेषज्ञ

डा. अशोक श्रेष्ठ काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा कार्यरत छन् । कार्डियोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल नम्बर १७३२२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय