News Summary
Generated by OK AI. Editorially reviewed.- प्रिन्स्टन युनिभर्सिटीले छापेको लरेन्जा एन्टोनुसीको पुस्तकले असुरक्षाको राजनीति, पपुलिस्ट समर्थन र अस्थिर जीवनबीचको सम्बन्ध व्याख्या गरेको छ।
- पुस्तकका अनुसार बेरोजगारी र महँगी मात्र होइन, सुरक्षित जीवनमा पनि एकै अनुहारको राजनीति र निरन्तरताले असन्तुष्टि र विद्रोह जन्माउन सक्छ।
- लेखले नेपालमा जेनजी आन्दोलनपछिका सरकार, प्रेस स्वतन्त्रता, नियुक्ति विवाद र महँगीबारे प्रश्न उठाउँदै जवाफदेहितामाथि जोड दिएको छ।
जेनजी विद्रोहका बेला एउटा नारा चर्चित थियो : ‘तिम्रो बाउ गाडीमा, हाम्रो बाउ खाडीमा।’ अरू थुप्रै नाराहरू थिए; तीमध्ये केही स्वतःस्फूर्त थिए, केही त प्रायोजितजस्ता पनि लाग्थे। सारमा तिनको भावार्थ थियो : देशमा रोजगारीको वातावरण छैन, भएका सीमित अवसर पनि सानो र सुरक्षित वर्गले लिइरहेको छ। ३५ वर्षदेखि यो देशमा केही भएन, अब हामी नेपाल हाँसेको हेर्न चाहन्छौँ।
त्यसबेला केपी ओलीको नेतृत्वमा कांग्रेस र एमालेको सरकार थियो। लामो समयदेखि थुप्रिँदै गएका नागरिक आक्रोशहरूको तारोमा ओली–देउवा गठबन्धन पर्नु स्वाभाविक थियो। किनभने, नेताहरूले यसलाई मलजल गर्ने बोली–व्यवहार प्रशस्तै देखाएका थिए। ओली आफू १८ घण्टा काम गर्छु त भन्थे, तर तिनी दिनैपिच्छेजस्तो भन्नु–नभन्नु भन्थे।
तिनका कार्यकर्ताहरू अहिले त बोल्न सक्दैनन् भने त्यसबेला बोल्थे होलान् त ? तर जे भए पनि ‘३५ वर्षको भाष्य’ कति गलत र अपूर्ण थियो भन्ने समीक्षा त्यसबेला नहुनु पनि खासै अनौठो भएन; किनभने यो देशमा बसेर मूलधार हुनु नै गल्तीजस्तो गरी चित्रित गरिएको बेला थियो। कतिपय पत्रकार र बौद्धिकहरूसमेत लोकप्रियतावादको लहरमा लतारिएर आफ्नो पृष्ठभूमिलाई समालोचना होइन, सराप दिन थालेका थिए।
जेनजी विद्रोहपछि दुईवटा सरकार बने। पछिल्लो निर्वाचित बालेन शाह सरकारका पनि ६ महिना बितिसके। त्यसैले हिजो ३५ वर्षको न्यारेटिभ दिनेहरूलाई ६ महिनाको वाचा अवधि छोटै हो। रास्वपा सभापति रवि लामिछानेले ‘सय दिन दिनुहोस्, हामी देखाउँछौँ’ भनेको पनि केही समय बितिसक्यो। तर आस छ नि आस, के त्यो आस जागिरहेको छ ? कि सरकारले हामीलाई अलिकति भय, अलिकति प्रतिशोध, अलिकति निरङ्कुशताको आशङ्का अनि अलिकति थप आर्थिक र नीतिगत असुरक्षातिर धकेलिरहेको छ त ?
अनि अहिले विभिन्न देशमा चलिरहेका नवयुवा विद्रोह के कारणले उठिरहेका छन् ? एउटा पुस्तकको विश्लेषणसहित आजको एस्प्रेसो सट तयार छ।
प्रिन्स्टन युनिभर्सिटीले यसै वर्ष एउटा पुस्तक छाप्यो। लेखक हुन्- लरेन्जा एन्टोनुसी । पुस्तकको नाम हो— ‘इन्सेक्युरिटी पलिटिक्स : हाउ अनस्टेबल लाइभ्स लिड टु पपुलिस्ट सपोर्ट’ ।
यो पुस्तक किन महत्त्वपूर्ण छ भने, यसले विभिन्न देशमा चलिरहेका सत्ताविरोधी लहरहरू केका बलमा उठिराखेका छन् र मूलतः तिनको आन्तरिक कारण के हो भन्नेबारेमा केही बलिया तर्क र निष्कर्षहरू दिएको छ।
जस्तो कि, बेरोजगारीका कारण युवा लहर आयो भनिँदै छ। पक्कै हो। महँगीका कारण युवा लहर आयो भनिँदै छ, त्यो पनि पक्कै हो। तर आर्थिक सुरक्षाकै बीचमा पनि इन्सेक्युरिटी पलिटिक्स अर्थात् असुरक्षाको राजनीति फस्टाउन सक्दो रहेछ। अनि आर्थिक मात्रै नभई सांस्कृतिक कारणहरू पनि यस्तो राजनीतिको उदय, उत्थान र उत्कर्षका लागि कामयाब बन्दा रहेछन्- पुस्तकले थुप्रै दृष्टान्तसहित बताएको छ।
र, एक ठाउँमा पुस्तकले भन्छ, ‘लामो समयको एकै किसिमको राजनीति, सत्तामा तिनको पकड र त्यसको निरन्तरताका कारण त्यहाँ सुरक्षित अभिजात वर्ग जन्मिन्छ। त्यसले देशमा विकास, रोजगारी र डेलिभरी प्रवाह नै गरिराखे पनि मान्छेहरू रिसाउँछन्। एउटै अनुहार र शैलीको निरन्तरतासँग वाक्क भएर मान्छेहरूले आफ्नो जीवन ठिकठाकै चलिराखे पनि विद्रोह ल्याइदिन्छन्।’
पुस्तकले अर्को रोचक निष्कर्ष दिन्छ- लोकप्रियतावाद बुझ्न मानिसले कसलाई मत दियो भन्ने मात्रै होइन, उसले किन आफ्नो जीवन असुरक्षित ठान्न थाल्यो भन्ने पनि बुझ्नुपर्छ। किनभने, केही तलवितलबाहेक सामान्य रूपमा सुरक्षित नै जीवन बाँचिरहेका नागरिकहरूलाई पनि पपुलिस्टहरूले अनेक थरी आशा र नारा बेचेर ‘तिमीहरू सुरक्षित छैनौ है’ भन्दिन्छन्। अनि असुरक्षित नागरिक बनाएर तिनलाई पपुलिस्ट भोटरमा रूपान्तरण गरिदिन्छन्।
अर्थात् भनूँ न, पपुलिज्मको लहरमा जनता हुनु कति कठिन छ ! तिनले बुझाउँछन्।
ओहो ! लोकप्रियतावादी अर्थात् पपुलिस्ट पोलिटिसियनहरू त खत्तम हुँदा रहेछन्। आफूसँग जे छ, त्यो केही होइन भन्दिने; नभएका र करिब असम्भव सपनाको व्यापार गरिदिने अनि त्यसमा नाफा–घाटा तौलेर भोटमा बदलिदिने।
उनीहरू भन्दिन्छन्- ‘तिमीहरूसँग काम त छ, तर पनि असुरक्षा छ।’ सन्तुष्टिलाई असन्तुष्टिमा बदल्नका लागि उनीहरूले भय र असुरक्षाको राजनीति गर्दा रहेछन्।
पहिला–पहिला विज्ञापनमा आउँथ्यो नि- ‘लौ मार्यो, यो त नक्कली साबुन पो परेछ !’ त्यस्तै हामीले पनि यिनलाई देखेर भन्नुपर्ने भयो- ‘लौ मार्यो, यो त नक्कली राजनीति पो परेछ !’
ल, यो त भयो लरेन्जा एन्टोनुसीको पुस्तक ‘इन्सेक्युरिटी पलिटिक्स’ का केही निष्कर्षहरू र तिनको सारसङ्क्षेप। अब यसै वर्ष आएको तरोताजा पुस्तकलाई नेपालको सन्दर्भमा ल्याऔँ। किनभने, अहिले फ्रान्स, इटालीदेखि भारतसम्म चलेका युवा लहरको विमर्श यो एस्प्रेसोमा सम्भव छैन; त्यसका लागि अर्को कुनै दिन छलफल चलाउँला।
नेपालको सन्दर्भमा भन्नुपर्दाचाहिँ जेनजी आन्दोलनका बेला लागेका धेरै नाराहरू यतिबेला उनै बालेन सरकार, सत्तासञ्चालक रास्वपा र त्यसका नेता रवि लामिछानेतिर फर्केका छन्। ‘मलाई बोल्न दे सरकार’ भन्ने बालेन प्रधानमन्त्री छन्। उनको नेतृत्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हैसियत, अझ भनूँ हविगत कस्तो छ- मैले भन्नै पर्दैन।
अनलाइनखबरको गेटमा सत्ताले शङ्कास्पद ढङ्गले गाडी राख्दा पूर्वअर्थमन्त्री रामेश्वर खनालले सत्तालाई होइन, हामीलाई नै उल्टो प्रश्न सोध्नुभयो- ‘यो कसरी शङ्कास्पद भयो ?’ अहिले पत्रकारमाथि धरपकड हुँदा उहाँ सायद पूर्वमान्यताहरू समीक्षा गर्दै हुनुहुन्छ, उहाँका फेसबुक टिप्पणीले त्यो देखाउँछन्।
सत्ताले सम्पादक र पत्रकारहरूमध्ये थुप्रैका पछाडि सर्भिलियन्स लगाइदिएको छ। नचाहिँदो दुःख दिने नियत छर्लङ्ग छ, तैपनि हाम्रा कतिपय पत्रकार बिरादरीका मित्रहरू सत्ताको अन्धतामा लोभिएर सामान्य विवेक नै गुमाउने ठाउँमा छन्। उनीहरू कलब्रेक र लुडो खेलको डिजिटल रूपान्तरण अनि यसको महत्त्वबारे सकारात्मक सोचको महामारी फैलाउने अभियानमा साथ दिइरहेका छन्। अनि प्रश्नलाई तेजोवध गर्ने लहरमा छन्।
कोही–कोही त कस्ता छन् भने, मन्त्रालयको सल्लाहकार बसेका छन्, तलब खाएका छन्, तर सल्लाहचाहिँ विपक्षीहरूलाई दिइरहेका छन्।
डिजिटल गेमिङ वा कुनै जुत्ता कम्पनीले नेपालको राजनीतिक परिवर्तनमा कसरी सिम्बोलको काम गरिरहेको छ भनेर भन्न जति सजिलो छ, त्योभन्दा धेरै कठिन छ सत्य र निष्ठाको पक्षमा उभिनु। रास्वपा र यसको सरकारले केही फेसबुक पेजहरूलाई जति प्रवर्द्धन गरे पनि प्रश्न सोध्न र अझै साहसिक फलोअप गर्न त पत्रकारिता नै चाहिँदो रहेछ। त्यही भएर उहाँहरू कहिले ‘१२ भाइ’ को लिस्ट निकाल्नुहुन्छ, कहिले २८ भाइ को।
सत्तालाई प्रश्न सोध्न सक्ने दिदीबहिनीको सङ्ख्या पनि ठूलै छ, तर उहाँहरू तिनलाई खासै महत्त्व दिनुहुन्न। देशमा अझै पनि असुरक्षा छ- विगतमा सत्ताबाट झैँ वर्तमानमा पनि सत्ताबाटै। कविता लेखेर शक्ति आर्जेका पात्रहरू अहिले कविताबाटै विपक्षीलाई ठुङ्न उद्यत छन्। ती को हुन्, मैले यहाँ नाम भनेर थप प्रचार गरिबस्नु पर्दैन।
आजका ज्वलन्त प्रश्न हुन् : महँगी घट्यो कि बढेको बढ्यै छ ? बाढीपीडितहरूको व्यवस्थापन भयो कि एकोहोरो हिरोगिरी र प्रचार अभियान मात्रै चलिरहेको छ ? अनि सुकुमबासी पनि थिए है, यो देशको राजधानीमा कुनै बेला ! तिनको व्यवस्थापन के भयो ?
कप्तानगन्जको हिंसा निभाउने नाममा उल्टै आगो सल्काउन मिहिनेत गर्ने पात्रहरू पनि सरकारकै वरिपरि छन्। उसो भए विगतमा जालीफटाहाहरूलाई राजनीतिक संरक्षण भयो भन्नेहरूले आज त्यसलाई अन्त्य गरे कि अर्को रूपमा निरन्तरता दिइरहेका छन् ?
न्यायाधीश नियुक्तिदेखि ११ सयभन्दा बढी नियुक्तिहरू के विवादरहित छन् ? के सुशासनको वाचा पूरा हुँदै छ ? कि हामीले जे मनलागी गरे पनि त्यो सुशासन, अरूले गरेको चाहिँ पुरानो शासन भन्ने काम भइरहेको छ ?
प्रश्न सोधौँ, प्रश्न सोध्न नडराऔँ। किनभने, संस्थागत जवाफदेहिताविना विधिको शासन फस्टाउँदैन। तर के अहिले विधिको शासन कायम हुँदै छ ? कि सोसल मिडिया पोस्टलाई आदेश मानेर तजबिजी शासन प्रणाली स्थापित गर्न खोजिँदै छ ?
सबैभन्दा मुख्य कुरा, झन्डै दुईतिहाइ मत पाएर सरकार बन्यो, तर कमजोर वर्गले सरकार भएको आभास गर्न पायो त ? के महँगी, बेरोजगारी र सार्वजनिक सेवा प्रवाहमा सरकारमा अनुहार मात्रै होइन, व्यवहार पनि बदलियो भन्ने अनुभव गर्न पाइयो त ?
यी त्यस्ता प्रश्न हुन्, जसले भोलि फेरि अर्को कुनै समूह इन्सेक्युरिटी पलिटिक्स अर्थात् असुरक्षाको राजनीति बोकेर नउदाओस् भन्नका लागि सचेत गराउँछन्।
देखिहाल्नुभयो, बूढीगण्डकीमा पहिरो अनि बाढी जाँदाजाँदै श्रम संस्कृति पार्टीका हर्क साम्पाङले यसको दोष भूराजनीतिलाई दिए। शत्रु देखाउन सजिलो छ। हिजो काठमाडौँको मेयर छँदा बालेन शाहले हिन्दी सिनेमामा आंशिक प्रतिबन्ध लगाए, चिनियाँहरूलाई अनुपयुक्त ढङ्गले ठमेलमा कार्यक्रम देखाउन निषेध गरे। अमेरिकी राष्ट्रपतिलाई फेसबुकमा लेखेका शब्द त म यहाँ कोट्याउँदिनँ।
त्यसैले नागरिकका वास्तविक समस्यामा घोत्लिने राजनीति कसले गर्दै छ, त्यता हेरौँ। कसले नक्कली समस्या खडा गर्दै छ अनि नक्कली समाधानका पुरिया बाँड्दै छ, तिनलाई चिनेर टाढैबाट टाटा बाइबाई गरौँ। नत्र के हुन्छ ? लरेन्जा एन्टोनुसीले भनेजस्तै फेरि असुरक्षाको राजनीति फस्टाउँछ, हाम्रा जीवनहरू थप अस्थिर हुनेछन् अनि अर्को कुनै पपुलिस्ट चटके उदाएर हाम्रा सपनाहरूलाई सोत्तर पार्नेछ।
प्रतिक्रिया 4