+
+
Shares
कविता :

सहरमा नवीन प्यासी

बाबु साहेब बाबु साहेब
२०८३ कात्तिक १९ गते १४:३८

‎कुनै दिन
‎उसले मलाई शानका साथ भनेथ्यो –
‎’बाबु, कुनै दिन मेरो लास बेवारिसे बनेछ भने पनि
‎मेरो लासमा भन्किने झिँगाहरू यही सहरका हुनेछन् !’
‎
‎थाहा छैन,-
‎के-के खोस्यो यो सहरले ऊ बाट ?
‎मुस्कान, आँसु वा सपना खोस्यो कि ?
‎खोस्यो दिनदहाडै उसको अनुहारबाट जिजीविषा ?
‎अथवा खोस्यो उसले जुनीभरिलाई बोकेर हिँडेको सम्बन्ध ?
‎वा, के-के दिलायो यो सहरले उसलाई ?
‎फ्रस्टेसन, डिप्रेसन वा मृत्युको सोच ?
वा आफ्नै खरानीबाट आफैंलाई जन्माउने फिनिक्स चराको जस्तो
जादुयी आत्मविश्वास ?

‎सहरको यो लेनदेनबाट बिल्कुल फरक,
उसले भने-
‎एउटा दुश्मनी मोलेको छ यो सहरसँग ।
‎कि; देख्ने छैन यो सहरले
‎मानिसको दया, करुणा वा सान्त्वना खोजिरहेको
‎प्यासीको निरीह अनुहार !
‎
‎उसलाई फिट्टिक्कै मन पर्दैन सहरको ऐनामा
‎याचना गरिरहेको आफ्नै कमजोर अनुहार !
‎त्यसैले ऊ
‎कहिले जर्मन बेकरीमा पिठो मुछ्न पुग्छ
‎कहिले पाल्दछ कुखुरा
‎कहिले बन्दछ ज्यामी
‎कहिले खोल्दछ मासु पसल
‎र काट्दछ राँगाको कान जिब्रो
‎कहिले असनमा खरिद गरेर
‎जोरपाटीमा बेच्दछ
रु पाँच सयको दुई जोर चप्पल
‎कहिले हुन्छ श्रमजीवी पत्रकार
‎
‎यसरी एक मान्छे भइरहन्छ अनेक !
‎
‎तर, जब अकस्मात्
‎समयले प्रहार गर्छ ब्रह्मास्त्र
‎र एकैसाथ खोस्न खोज्दछ सबै-सबै विकल्पहरू
‎देखाउन खोज्दछ मृत्युको रिहल्सल
‎र भन्दछ –
‎’ए प्यासी, अब छैन तँसग विकल्प
‎आत्मसमर्पण गर् !
‎मैले जितेँ तँलाई
‎गर् आत्मसमर्पण
‎आजै गर्
‎अहिलै गर
‎आत्म….स..म…र्पण !’
‎
‎तर ,
‎निकै निकै जब्बर छ नवीन प्यासी
‎छातीमै थाप्दछ समयको ब्रह्मास्त्र
‎र
‎एनेस्थेसियाको सुईं घोपिनुअघि,
‎एनेस्थेसियाको असर सकिनसाथ
‎शब्दहरू चलाइहाल्छ
‎र बनाउँछ ‘शब्द-दिव्यास्त्र !’
‎जलाउँछ आँफैभित्र जैविक ऊर्जा ।
‎
‎त्यसपछि
‎हार खाएर लुरुलुरु फर्किन्छ
‎मृत्युको ब्रह्मास्त्र पनि !
‎
‎नवीन प्यासी भने
‎ऐनामा हेर्दै हाँसेको सेल्फी खिच्दछ ‘खिचिक्क !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?