+
+
Shares

निमन्त्रणा सविना काफ्लेको नाममा, ट्याग फर्स्ट लेडीको

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको काठमाडौँ फिल्म फेस्टिभलमा सविना काफ्ले उनकै नामको आधिकारिक निमन्त्रणामा सहभागी भएकी थिइन्। तर, मिडिया र सामाजिक सञ्जालले उनलाई नेपालकी प्रथम महिलाको ट्याग भिराइदिए। नेपालको संविधान र प्रोटोकलमा कतै नभएको यो आयातित शब्दले सक्षम महिलाको स्वतन्त्र अस्तित्वलाई कसरी खुम्च्याइरहेको छ ?

रेणुका सोलु रेणुका सोलु
२०८३ कात्तिक १९ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ महानगरले काठमाडौँ फिल्म फेस्टिभलको रेड कार्पेट कार्यक्रममा सविना काफ्लेलाई ‘श्री सविना काफ्लेज्यू’ भनेर औपचारिक निमन्त्रणा गरेको पत्र सार्वजनिक भयो।
  • उनको उपस्थितिलाई प्रधानमन्त्री बालेन शाहकी पत्नीका रूपमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले ‘प्रथम महिला’ भनेर चित्रण गरे।
  • लेखमा सविना काफ्लेलाई लेखक र जनस्वास्थ्य विज्ञका रूपमा परिचय दिँदै महिलाको पहिचान श्रीमान्को पदबाट नाप्ने प्रवृत्तिको आलोचना गरिएको छ।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको काठमाडौँ फिल्म फेस्टिभलको रेड कार्पेट कार्यक्रममा सहभागी भएकी थिइन्, सविना काफ्ले। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको निमन्त्रणामा उनी कार्यक्रममा गएकी थिइन्।

तर, उनको उपस्थितिलाई प्रधानमन्त्री बालेन शाहसँग जोडेर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको देखियो। उनी प्रधानमन्त्री शाहकी पत्नी पनि हुन्। तर सविनाको आफ्नो परिचय नै नभएझैँ सञ्जालमा चित्रण गरियो। कतिपय सञ्चारमाध्यमको हेडलाइनसमेत बन्यो- ‘काठमाडौँ महानगरको निमन्त्रणामा रेड कार्पेटमा नेपालकी प्रथम महिला सविना काफ्ले।’

तस्बिर राम्रो थियो, स्वागत हार्दिक थियो। तर त्यो हेडलाइनले हाम्रो समाजको एउटा पुरानो रोगलाई फेरि सार्वजनिक गरिदियो।

रेणुका सोलु

पहिलो प्रमाण : निमन्त्रणा पत्रमै ‘फस्ट लेडी’ छैन

धेरैले सोचे— महानगरले नै उनलाई प्रथम महिला भनेर बोलाएको होला। तर होइन।

मसँग रहेको महानगरको आधिकारिक पत्र (प.सं. ०८३/८४, च.नं. ३६२, मिति २०८३ कात्तिक ०९) मा स्पष्ट लेखिएको छ-

श्री सविना काफ्लेज्यू, काठमाडौँ महानगरपालिका।

विषय : फिल्म फेस्टिभलमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा।

पत्रमा कतै पनि ‘प्रथम महिला’, ‘फस्ट लेडी’ वा ‘प्रधानमन्त्री पत्नी’ भन्ने शब्द छैन। ‘महोदय’ भनेर अत्यन्तै सभ्य रूपमा उनकै नाममा निम्ता गरिएको छ। अर्थात्, राज्यको निकायले त उनलाई उनकै नामले चिन्यो, तर हामी मिडिया र समाजले उनलाई उनको श्रीमान्‌को पदले चिन्यौँ।

दोस्रो प्रश्न : सविना काफ्ले को हुन् ?

के उनी केवल प्रधानमन्त्री बालेन शाहकी श्रीमती मात्र हुन् त ? होइन।

सविना काफ्ले आफैँमा एक स्थापित लेखक हुन्, जनस्वास्थ्य क्षेत्रकी एक दक्ष प्रोफेसनल हुन्। उनी पढेलेखेकी, स्पष्ट विचार राख्ने र आफ्नै मिहिनेतले आफ्नो पहिचान बनाएकी एक स्मार्ट महिला हुन्।

तर, हाम्रो सजिलो बाटो खोज्ने बानीले उनको वर्षौँको पढाइ, लेखन र सङ्घर्षलाई एकैछिनमा ओझेलमा पारेर एउटा ट्याग भिराइदियो— ‘फस्ट लेडी’।

यो नेपालका हरेक सक्षम महिलाले भोगेको कथा हो। डाक्टर महिला ‘डाक्टर साबकी श्रीमती’ बन्छिन्, प्रोफेसर महिला ‘फलानोकी बुहारी’ मा सीमित हुन्छिन्। हामी महिलाको योग्यता होइन, उनको श्रीमान् को हो भन्ने आधारमा उनको महत्त्व नाप्छौँ।

तेस्रो पाटो : वरिष्ठ कलाकारहरूको अपमान र ड्रेसकोडको बहस

त्यो कार्यक्रम वरिष्ठ कलाकारहरूको सम्मानका लागि थियो। राष्ट्रिय सभागृहमा भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवी, नीर शाह, हरिहर शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, करिश्मा मानन्धरजस्ता नेपाली कलाकारिताका धरोहरहरूको उपस्थिति थियो। उनीहरू नै मुख्य आकर्षण हुनुपर्ने थियो।

तर, ‘प्रथम महिला रेड कार्पेटमा’ भन्ने एउटा हेडलाइनले र ‘नीलो सल भुइँमा लतार्दै हिँडेको’ भन्ने फेसबुकको बहसले ती सबै स्रष्टाहरूको योगदानलाई छायामा पारिदियो।

सामाजिक सञ्जालमा अहिले दुई थरी बहस छ। एक थरी भन्छन्- उहिले पञ्चायतको अन्त्यतिर पम्फादेवीले मुजा पछाडि पारेर सारी लगाएको चर्चा हुन्थ्यो, अहिले नीलो सल पछाडि लतार्ने त्यही शैलीको निरन्तरता हो।

अर्को थरी भन्छन्- महेन्द्रको नक्कल गर्दै गोल्डस्टार सेतो जुत्ता, कालो टिसर्ट र कोट लगाएर संसद् जाने शैलीजस्तै यो पनि एउटा फेसन प्रयोग हो।

वास्तवमा रेड कार्पेटमा सल लतार्ने शैली हलिउड फेस्टिभलको ‘ग्लोबल ट्रेन्ड’ हो, तर यहाँ महत्त्वपूर्ण कुरा के हो भने— नेपालमा प्रधानमन्त्री र उहाँको परिवारका लागि कुनै लिखित ड्रेसकोड र प्रोटोकल नै छैन।

नेपालको संविधानमा ‘प्रथम महिला’ भन्ने कुनै पद नै छैन। अमेरिकाजस्तो देशमा ‘फस्ट लेडी’ को संस्थागत भूमिका र प्रोटोकल हुन्छ। हामीकहाँ आयात गरिएको यो शब्दले सम्मान होइन, महिलाको स्वतन्त्र पहिचान खोस्ने काम मात्र गरिरहेको छ।

भोलि बालेन शाह प्रधानमन्त्री नहुँदा के सविना काफ्लेलाई यो समाजले ‘पूर्वप्रधानमन्त्रीकी श्रीमती’ भनेर मात्र चिनिरहन्छ ? के एउटी पढेलेखेकी, सक्षम महिलाको नियति यही हो ?

त्यसैले अब हामीले सविना काफ्लेलाई ‘फस्ट लेडी’ भनेर होइन, उनकै नामले बोलाऔँ।

लेखक सविना काफ्ले। जनस्वास्थ्य विज्ञ सविना काफ्ले।

महानगरले त उनलाई उनकै नाम फिर्ता दिइसक्यो, त्यो पत्र नै प्रमाण हो। अब हामीले पनि उनलाई उनकै नाम फिर्ता दिऔँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?