News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्री खडक राज पौडेलले लण्डनमा आयोजित २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताए ।
- उनले भोटेकोशी बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउनसक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे ।
- मन्त्री पौडेलले पर्यटन क्षेत्रलाई विपद् र जलवायुजन्य जोखिमबाट जोगाउन समुदाय, सरकार र संस्थाको सहभागितामा प्रभावकारी सङ्कट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
१९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् ।
बेलायतको लण्डनमा वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त राष्ट्रसङ्घीय पर्यटनद्वारा बुधबार आयोजित २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको जोखिम न्यूनीकरण गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए । उनले दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण आवश्यक भएको बताए ।
मन्त्री पौडेलले भोटेकोशी बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउनसक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे ।
जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा चुनौती थपिरहेको उनको भनाइ थियो ।
पर्यटनमन्त्री पौडेलले पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र सुदृढ संस्थाको सहभागितामा आधारित प्रभावकारी सङ्कट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
समुदायलाई विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्नसके मात्रै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सकिने उनले उल्लेख गरे ।
‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।
सम्मेलनमा सहभागी मन्त्री तथा अन्तरराष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिले विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिका बीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक–निजी सहकार्य र दिगो पर्यटन विकासका विषयमा अनुभव तथा धारणा आदानप्रदान गरेका थिए । रासस
प्रतिक्रिया 4