+
+
Shares

पुस २ देखि विराटनगरमा ‘विराट एक्स्पो’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग संगठन मोरङले विराटनगर–१४ डिग्री क्याम्पसको मैदानमा पुस २ देखि ११ गतेसम्म नवौँ विराट एक्स्पो २०२६ आयोजना गर्ने भएको छ।
  • एक्स्पोमा २७५ भन्दा बढी स्टल रहनेछन् र उद्योग, व्यापार, लगानी, सीप तथा रोजगारीका अवसरलाई एउटै थलोमा जोडिनेछ।
  • अध्यक्ष नन्दकिशोर राठीले एक्स्पोलाई अवसर, सम्भावना र सहकार्यको साझा मञ्च बनाइने बताए।

१९ कात्तिक, विराटनगर । विराटनगरमा नवौँ विराट एक्स्पो २०२६’ पुस २ देखि आयोजना हुने भएको छ । उद्योग, व्यापार, लगानी, सीप र रोजगारीका अवसरलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा पुस २ गतेदेखि ११ गतेसम्म एक्सपो आयोजना गर्ने भएको हो ।

उद्योग संगठन मोरङले पत्रकार सम्मेलन गर्दै एक्स्पोमा २७५ भन्दा बढी स्टल रहने जनाएको छ । संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यसपटकको एक्स्पोलाई परम्परागत खरिद–बिक्री मेलामा मात्र सीमित नराखी अवसर, सम्भावना र सहकार्यको साझा मञ्चका रूपमा विकास गर्न लागिएको छ ।

यो संस्करणको मूल नारा ‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ (अवसरहरूको पारिस्थितिक प्रणाली) राखिएको छ ।

‘उद्योगलाई आज बजार मात्र होइन, दक्ष जनशक्ति चाहिएको छ, स्टार्टअपलाई लगानी, युवालाई अवसर, विद्यार्थीलाई करियरको सही मार्ग र लगानीकर्तालाई सम्भावना चाहिएको छ,’ अध्यक्ष राठीले भने,‘ उद्योगी, व्यवसायी, विद्यार्थी, किसान, युवा तथा लगानीकर्तालाई एकै ठाउँमा जोडेर ज्ञान, सीप, प्रविधि र बजार आदानप्रदान गर्ने वातावरण बनाउन हामीले यो अवधारणा ल्याएका हौं। ’

एक्स्पोमा १० वटा अवसर क्षेत्र र ६ वटा एकीकृत प्लेटफर्ममार्फत विभिन्न गतिविधि सञ्चालन गरिने संयोजक विपिन काबराले जानकारी दिए । विद्यार्थी तथा युवाहरूलाई करियर मार्गदर्शन, स्थानीय उद्योगको अवस्था र सीप विकाससँग जोड्न ‘लर्न फर द फ्युचर’ कार्यक्रम आयोजना हुनेछ । औद्योगिक अटोमेसन, फेसन डिजाइन, कृषि, आतिथ्य, सौन्दर्य र स्वास्थ्यलगायत ८ वटा क्षेत्रमा सीप तथा तालिमसम्बन्धी सत्रहरू सञ्चालन हुनेछ ।

नयाँ सोच र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘स्टार्टअप एन्ड इन्टरप्रेनरसिप प्याभिलियन’ राखिनेछ । यसमा मेकर स्पेस, डिजाइन थिंकिङ, बुट क्याम्प तथा नयाँ उद्यमहरूको प्रदर्शनी हुनेछ। उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण तथा बजार पहुँचसम्बन्धी सेवा एकै ठाउँबाट दिन ‘बिजनेस डेभलपमेन्ट सर्भिसेज कनेक्ट’ प्लेटफर्मसमेत सञ्चालन गरिनेछ ।

एक्स्पोमा तीन दिने ‘विराट बिजनेस समिट २०२६ अपरच्युनिटी कनेक्ट’ सञ्चालन हुनेछ । समिटमा कोशी प्रदेशका १४ वटै जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधिले आ–आफ्नो क्षेत्रको आर्थिक सम्भावना प्रस्तुत गर्नेछन् ।

एक्स्पोमा उद्योग, कर्पोरेट, कृषि, साना तथा घरेलु उद्योग, अटोमोबाइल र खानाका परिकारका गरी २७५ भन्दा बढी स्टल रहनेछन् । कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला तथा साना उद्यमीका उत्पादन र सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा उत्पादित वस्तुलाई प्रदर्शनीमा प्राथमिकता दिइनेछ । करिब २ लाख ५० हजार अवलोकनकर्ताको सहभागीता हुने अपेक्षा गरिएको छ । २ हजार युवालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?