News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले व्यक्तिगत विषय संगठनमा नजोड्न र कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नगर्न निर्देशन दिए ।
- उनले संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न र अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताए ।
- केसीले कामका आधारमा प्रहरीको बढुवा र सरुवा हुने प्रणाली बसाल्ने तथा प्रहरीलाई व्यावसायिक र नागरिकप्रति उत्तरदायी बनाउने उल्लेख गरे ।
१९ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
निर्देशनको क्रममा नवनियुक्त आईजीपी केसीले अवस्थाको विषम परिस्थिती, संवेदनशील सूचना चुहावट र प्रतिशोधका विषयमा बोले । उनले कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नहुने बताए । व्यक्तिगत विषयलाई संगठनमा नजोड्ने र कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नहुने बताए ।
त्यस्तैगरी संवेदनशील सूचनाहरूको पूर्ण गोपनीयता कायम गर्न र अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने पनि उनले बताए । विधिको शासनको पालना गराउने क्रममा संगठनप्रति पूर्ण वफादार रही कुनै पनि प्रलोभन, प्रभाव नपर्न पनि निर्देशन दिए ।
अब कामको आधारमा प्रहरीको बढुवा सुरुवा हुने र त्यसलाई सिस्टम बसाल्ने पनि उनले बताए ।
प्रहरी संगठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारीहरू एक ढिक्का भई विषम परिस्थितिमा नेपाल सरकार र आम नेपाली नागरिकको अपेक्षा अनुरूप संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक रहेको बताए ।
केसीले बदलिँदो सामाजिक परिवेश र विकसित हुँदै गएका सुरक्षा चुनौतीसँगै नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिक प्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउनु प्रमुख प्राथमिकता रहेको उल्लेख गरे ।
प्रहरी संगठनका लागि सिर्जित तमाम चुनौतीहरूको सम्बोधन प्रहरी महानिरीक्षकको एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने भएकोले प्रहरी अतिरिक्त महानिरीक्षक देखि प्रहरीका आधारभूत तहसम्मको सक्रियता, अग्रसरता र सृजनशीलताको आवश्यकता रहने उनले बताए ।
मुलुकको वर्तमान संवेदनशील सुरक्षा अवस्था, सञ्चार एवं सामाजिक सञ्जालको वर्तमान प्रवृत्ति तथा प्राविधिक जोखिमहरूलाई मध्यनजर गर्दै, प्रहरी कार्यसम्पादन, आन्तरिक रणनीति र संवेदनशील सूचनाहरूको पूर्ण गोपनीयता कायम गर्न र अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताए ।
विधिको शासनको पालना गराउने क्रममा संगठनप्रति पूर्ण वफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीहरूबाट प्रर्दशन हुने अपेक्षा लिएको उनले बताए ।
राष्ट्रसेवक कर्मचारीबाट प्रवाह हुने सेवाको स्तर र आम नागरिकप्रति गरिने व्यवहार अहिलेको ज्वलन्त प्रश्न र सुधारको क्षेत्र रहेको उल्लेख गर्दै सांगठनिक र व्यक्तिगत रूपमा आम नागरिकप्रतिको व्यवहारलाई अझ जनउत्तरदायी बनाउँदै आपराधिक प्रवृत्तिसँग कठोर रूपमा तर आम नागरिकहरूसँग अपेक्षा अनुरूपको व्यवहार गरी सेवा प्रवाह गर्नु सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि नेपाल प्रहरीमा उपलब्ध साधनश्रोतको उच्चतम उपयोग गर्दै प्रहरी कल्याणकारी कार्यहरू र प्रहरी कर्मचारीहरूको कार्य वातावरणमा सुधारका प्रयासहरू निरन्तर गरिने समेत उनले उल्लेख गरे ।
प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण, पारदर्र्शी अनुमानयोग्य र क्षमतामा आधारित वृत्ति विकास प्रणालीको प्रवद्र्धन लगायतका विषयमा आवश्यक नीतिगत व्यवस्थाको लागि तालुक मन्त्रालय र नेपाल सरकारसँग सार्थक पहल गरिने बताए ।
प्रतिक्रिया 4