१ कात्तिक, गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो गृह जिल्ला गुल्मीको मालिका गाउँपालिका-८, मर्भुङस्थित खडक भगवती मर्भुङ कोट मन्दिरको उद्घाटन गरेका छन् ।
पुनर्निर्माण सम्पन्न भएपछि आइतबार बिहान आयोजित विशेष समारोहमा कार्कीले मन्दिर उद्घाटन गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्की प्रमुख अतिथि थिए ।
मर्भुङ क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको उक्त मन्दिर स्थानीय बासिन्दाको आस्थाको केन्द्रका रूपमा रहेको अध्यक्ष थापाले बताए । पुनर्निर्माणपछि मन्दिरको संरक्षण, व्यवस्थापन र धार्मिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
उद्घाटन कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल, मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवर, धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल र इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्कालगायत जनप्रतिनिधि सहभागी थिए ।
त्यस्तै, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापा, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीलगायत प्रहरी अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थिति थियो ।
कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रहरी उपरीक्षक बोगटीको कमान्डमा ६४ जना प्रहरी कर्मचारी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीय धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मन्दिरको पुनर्निर्माण तथा उद्घाटनले मौलिक संस्कृति र परम्पराको संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4