News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’मा रणवीर कपुरले भगवान् राम र साई पल्लवीले सीताको भूमिका गर्ने भएपछि उनको छनोटबारे सामाजिक सञ्जालमा बहस भइरहेको छ ।
- एक्स प्रयोगकर्ताहरूले साई पल्लवीको सुन्दरता, हिन्दी बोल्ने शैली, मेकअप र लुक्सलाई लिएर आलोचना गरेका छन्, भने केहीले समस्या उनको अनुहारमा नभई दर्शकको सोचमा भएको बताएका छन् ।
- केही प्रयोगकर्ताले साई पल्लवी परम्परागत फिल्मी सुन्दरतामा नपरे पनि वनवासको दृश्यमा सीताको भूमिकाका लागि स्वाभाविक देखिने भएकाले उनी उपयुक्त छनोट भएको बताएका छन् ।
‘रामायण’मा सीताको रूप कस्तो हुनुपर्छ ? यसबारे सबैका आ-आफ्नै धारणा छन् । कसैले पुस्तक र धर्मग्रन्थमा पढेका छन् भने कसैले फिल्म तथा टेलिभिजनमा सीताको चरित्र हेरेका छन् । कतिपयले सीताबारे अध्ययन पनि गरेका होलान् । त्यसैले पर्दामा सीताको भूमिका कुन अभिनेत्रीले राम्रोसँग निर्वाह गर्न सक्छिन् भन्ने विषयमा सबैलाई आफ्नो धारणा राख्ने अधिकार छ ।
निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’मा रणवीर कपुर भगवान् राम र साई पल्लवी सीताको भूमिकामा छन् । विशेषगरी साई पल्लवीको छनोटलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ ।
एकातिर एक्स (ट्विटर) प्रयोगकर्ताहरूको ठूलो समूहले उनको सुन्दरता, हिन्दी बोल्ने शैली, पर्दामा देखिने प्रभाव र व्यक्तित्वलाई लिएर प्रश्न उठाइरहेको छ । अर्कोतिर यस विषयले उत्तर भारत र दक्षिण भारतबीचको बहसलाई पनि सतहमा ल्याएको छ ।
‘प्रेमम’, ‘काली’ र ‘अमरन’ जस्ता फिल्ममा अभिनय गरेकी साई पल्लवी फिल्म उद्योगले स्थापित गरेको परम्परागत सुन्दरताको मापदण्डमा आफूलाई सीमित राख्दिनन् । अभिनेत्री भएर पनि उनी आफ्नो अनुहारमा भएका डन्डिफोरका दाग, पिम्पल्स र अनुहारका रौँ लुकाउन हिचकिचाउँदिनन् । उनको लामो घुम्रिएको कपाललाई लिएर समेत कतिपयले प्रश्न उठाएका छन् । उनीहरूले सीता माताको कपाल पनि यस्तै हुन्छ र भन्दै टिप्पणी गरेका छन् ।
‘साई पल्लवी सुन्दर छिन्, तर सीताको भूमिकामा सुहाइनन्’
एक्सका धेरै प्रयोगकर्ताले साई पल्लवीको मेकअप र लुक्सले उनको व्यक्तित्व तथा अभिनय क्षमताअनुसार न्याय गर्न नसकेको टिप्पणी गरेका छन् । उनीहरूको आलोचना साई पल्लवीभन्दा पनि फिल्मका मेकअप कलाकारप्रति बढी लक्षित देखिन्छ ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘साई पल्लवी सुन्दर छिन् । तर सीताको भूमिकामा उनी सुहाएकी छैनन् । यदि सीताको रूप यस्तै बनाउने सोच थियो भने रावणले उनलाई अपहरण गर्न किन यति धेरै मेहनत गर्थे होला ?’
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘साई पल्लवी सामान्य रूपमा राम्री देखिन्छिन् । मेकअप गरेर उनलाई अझ राम्रो देखाउन सकिन्थ्यो । तर रामायणमा सीताको भूमिकाका लागि गरिएको मेकअप निकै खराब छ । अन्य फिल्ममा उनको रूप राम्रो देखिन्छ, तर यहाँ त्यस्तो छैन ।’
कलाकारको लोकप्रियताले पनि दर्शकको अपेक्षा बढाएको एक प्रयोगकर्ताको भनाइ छ । उनले लेखेका छन्, ‘नितेश तिवारीको रामायणमा राम र सीताको भूमिकाका लागि नयाँ अनुहार किन छनोट गरिएन ? रणवीर र साई पल्लवीले यसअघि अभिनय गरेका आधुनिक चरित्रको सम्झना गराउँछन् । त्यसैले उनीहरूलाई प्राचीन महाकाव्यका पात्रका रूपमा स्वीकार गर्न गाह्रो भइरहेको छ ।’
अर्का प्रयोगकर्ताले साई पल्लवीको अनुहारमा सीताको दिव्य रूप र शान्त भाव देख्न नसकेको बताएका छन् ।
‘समस्या साई पल्लवीमा होइन, तपाईंको सोचमा छ’
साई पल्लवीको आलोचना भइरहँदा केही प्रयोगकर्ताले भने उनको पक्षमा आवाज उठाएका छन् । उनीहरूले एउटा महत्त्वपूर्ण प्रश्न गरेका छन्– आखिर कसले वास्तविक जीवनमा सीतालाई देखेको छ ?
एक प्रयोगकर्ताले लेखेका छन्, ‘मानिसहरूले सीताको रूपबारे कल्पनामा अनेकौँ अपेक्षा राखेका छन् । तर उनीहरूले सीतालाई वास्तविक रूपमा देखेका छैनन् । साई पल्लवीले पनि त्यस्ता अपेक्षा राख्न भनेकी छैनन् । तपाईंले आफ्नो कल्पनाको सीतासँग उनको तुलना गरिरहनुभएको छ भने समस्या तपाईंमा छ, उनको अनुहारमा होइन ।’
अर्का प्रयोगकर्ताले आलोचना गर्नु र घृणा फैलाउनु फरक कुरा भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘मन पर्दैन भने आलोचना गर्नुस्, उनको अभिनय मन परेन भने अस्वीकार गर्नुस् । तर घृणा नफैलाउनुस् । तपाईंहरू सबैलाई माया गर्ने, सुन्दर र दिव्य महिलाले हुर्काउनुभएको हो । त्यसो भए अर्को महिलालाई कुरूप भन्न कसरी सक्नुहुन्छ ? आलोचना गर्नु तपाईंको अधिकार हो, तर क्रूर बन्नु तपाईंको रोजाइ हो । यी दुई कुरालाई एउटै नसम्झनुस् ।’
अर्का एक प्रयोगकर्ताले साई पल्लवी परम्परागत फिल्मी सुन्दरताको मापदण्डमा नपरे पनि सीताको भूमिकाका लागि राम्रो छनोट भएको बताएका छन् । उनका अनुसार गरगहना र भव्य पहिरनमा उनी राजसी देखिन नसक्लिन्, तर वनवासको दृश्यमा सामान्य पहिरन र न्यून मेकअपमा उनी स्वाभाविक देखिन्छिन् । यस्तो रूपलाई पर्दामा उतार्न सक्ने अभिनेत्री कमै रहेको उनको धारणा छ ।


प्रतिक्रिया 4