+
+
Shares

आईक्यापको स्ट्यान्डिङ कमिटीमा कांग्रेसका उपसभापति चौधरी निर्वाचित, के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी दक्षिण कोरियाको सियोलमा जारी आईक्यापको १३औँ महासभाबाट स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्।
  • चौधरीले सम्मेलनमा नेपालको आर्थिक विकासका लागि निजी क्षेत्र सशक्त बनाउन, लगानी आकर्षित गर्न र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्ने बताएका छन्।
  • उनले युवा पुस्ताले उठाएका भ्रष्टाचार, सुशासन र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिएर सार्थक सुधारमार्फत सम्बोधन गर्नुपर्ने बताएका छन्।
  • चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे ध्यानाकर्षण गराउँदै भोटेकोशीको बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्।

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्। दक्षिण कोरियाको सियोलमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई उक्त जिम्मेवारी सुम्पेको हो।

आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा भएका दलहरूबीच संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने क्षेत्रीय मञ्च हो। यसको स्ट्यान्डिङ कमिटीले संस्थाका गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

स्ट्यान्डिङ कमिटीमा चौधरीसँगै भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका मन्त्री एवं संसद्का नेता बिमल रत्नायके र जापानकी सांसद माइको ताजिमालगायत एसियाका वरिष्ठ राजनीतिक व्यक्तित्वहरू रहेका छन्।

व्यवसाय र सामाजिक क्षेत्रमा लामो अनुभव सँगालेका चौधरीको यस उपलब्धिले नेपालको आर्थिक रूपान्तरण र अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई एसियाली मञ्चमा उठाउन थप अवसर मिल्ने अपेक्षा गरिएको छ।

सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति चौधरीले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्ने बताएका छन्। उनले दक्षिण कोरियाको आर्थिक विकास मोडल नेपालका लागि अनुकरणीय रहेको धारणा राखे।

‘निजी उद्यमलाई विस्तार गर्दै राज्यले रणनीतिक स्वामित्व र विकासको मार्गदर्शक भूमिका निर्वाह गर्नु कोरियाली विकास मोडलको महत्त्वपूर्ण विशेषता हो,’ उनले भने।

नेपाली कांग्रेसको लोकतान्त्रिक विरासतको चर्चा गर्दै चौधरीले विगतका कमजोरी स्वीकारेर वर्तमान नेतृत्व अघि बढ्न प्रतिबद्ध रहेको प्रस्ट पारे। खुला बजार अर्थतन्त्र र उदारीकरणलाई कांग्रेसले आत्मसात् गरेको उल्लेख गर्दै उनले लोकतन्त्र र उदार आर्थिक नीति नै विकासका आधारभूत स्तम्भ भएको बताए।

सम्बोधनका क्रममा उनले नेपालमा युवा पुस्ताले उठाएका भ्रष्टाचार, सुशासन र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। ‘युवाको असन्तुष्टिलाई राजनीतिक स्वीकारोक्तिमा मात्र सीमित नराखी सार्थक सुधार र परिणाममार्फत सम्बोधन गर्नुपर्छ,’ चौधरीले भने, ‘राजनीतिक नेतृत्वप्रतिको विश्वास स्वतः प्राप्त हुँदैन, इमानदारी र परिणाममुखी कार्यबाट मात्रै जनविश्वास आर्जन गर्न सकिन्छ।’

उनले राजनीतिक नेतृत्वको वास्तविक मूल्य कति शक्ति प्राप्त गर्‍यौँ भन्नेमा होइन, कति विश्वास आर्जन गर्‍यौँ र कस्तो भविष्य निर्माण गर्न सक्यौँ भन्नेमा मापन हुने बताए।

यसैगरी, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे पनि चौधरीले विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। हालै नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताउँदै उनले यो जोखिम न्यूनीकरणका लागि विश्वका सबै मुलुकले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?