+
+
Shares
एस्प्रेसो :

कान्समा आठ मिनेट स्ट्यान्डिङ ओभेसन पाएको सिनेमाको अस्कर यात्रा

अस्करका लागि नेपालबाट पठाइएको सिनेमा ‘तिनीहरु’ यति बेला सिनेमा हलमा छ । प्रकृतिमात्रै होइन, मान्छेको स्वभावसमेतलाई कथित् सामाजिक सोचले कसरी अतिक्रमण गरेको छ, जो जंगली हात्तीभन्दा पनि बढी खतरनाक छ भनी प्रश्न उठाएको छ सिनेमाले ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८३ असोज ४ गते २०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविनाशविक्रम शाह निर्देशित ‘एलिफेन्ट्स इन द फग’ कोन्स फिल्म फेस्टिभलमा ८ मिनेटको स्ट्यान्डिङ ओभेसन पाएर अहिले नेपालका थिएटरमा चलिरहेको छ।
  • लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक किन्नरको जीवन संघर्ष र हराएकी सदस्य अप्सरा खोजीमा केन्द्रित यो फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव र माओत्से गुरुङलगायतले अभिनय गरेका छन्।
  • फिल्मलाई नेपाली सिनेमाको मौलिकताबारे बहस गर्ने र सामाजिक उपेक्षा तथा साँघुरोपनमाथि प्रश्न उठाउने कृति भन्दै अस्करका लागि नोमिनेटेड भएको उल्लेख गरिएको छ।

पहिले ‘एलिफेन्ट्स इन द फग’ अर्थात् ‘तिनीहरू’ सिनेमाको सेन्सेसन् हेरौं । अनि नेपाली सिनेमाको मौलिकताबारे कुरा गर्न हामीलाई सजिलो पर्ने छ । अहिले यो फिल्म नेपालका थिएटरहरूमा लागिरहेको छ । गत जेठको पहिलो साता ‘एलिफेन्ट्स इन द फग’ ‘तिनीहरू’ लाई विख्यात सिनेमा मेला कान्स फिल्म फेस्टिभलको प्रिमियरमा ८ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त भएको थियो ।

कुनै नेपाली सिनेमाको सम्मानमा संसारभरिका गनेचुनिएका दर्शकले आठ मिनेटसम्म लगातार उभिएर ताली बजाउनु सामान्य घटना थिएन । यो सिनेमा क्षेत्रको विश्व घटना नै थियो । यस्तो सिनेमा बनाउने प्रतिभाशाली फिल्ममेकरको नाम हो अविनाशविक्रम शाह जसले अर्का शक्तिशाली फिल्ममेकर मीन भामसँग मिलेर यसअघि साम्बाला, बाँसुल्ली, कालोपोथीजस्ता सिनेमा बनाइसकेका छन् ।

मीन र उनको कथालेखनमा चलेको सहकार्यलाई दक्षिण एसियामात्रै होइन युरोपलगायत अन्यत्र पनि प्रशंसा हुन गरेको छ । शाहले निर्देशन गरेको यो सिनेमा पर्साको ठोरी नजिकै जङ्गली हात्तीको जोखिम रहेको क्षेत्रमा बस्ने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक किन्नरहरूको जीवन संघर्षको कथा हो ।

उनीहरूबीच  परस्परको नाता र त्यसै क्रममा हराएकी एक सदस्य जसलाई पहिले विशाल भनिन्थ्यो । अब उनको नाम अप्सरा हो उनको खोजी वरपर केन्द्रित छ।

सिनेमाको मूख्य भूमिकामा पिरती अर्थात पुष्पा थिङ लामा छिन् । गाउँलेहरूसँगै उनको धर्मछोरी अप्सरा पनि जंगली हात्ती धपाउन गएकी हुन्छिन् । तर, उनी घर फर्किनुसाटो बीचैमा अकस्मात् हराउँछिन् । धर्मआमा पिरतीको खोजीका अनेक लेयरहरू छन् किनभने छोरी खोज्ने क्रममा उनले के के भेटाउँदै जान्छिन् । के उनले छोरी भेट्टाउँछिन् ? वा अर्थोकै केही फेला पार्छिन् । सिनेमा यही खोजी वरपर केन्द्रित छ ।

दीपिका यादव, ज्यास्मिन विश्वकर्मा, आकांक्षा कार्की, आलिज घिमिरे, आशान्त शर्मा, माओत्से गुरुङ लगायतको अभिनयले सिंगारिएको सिनेमामा अरु पनि केही ख्याल गर्नैपर्ने पात्र छन् । मान्छेले मानवता देखाउन कतिपय दृश्यमा असमर्थ भएका बेला अरु पनि केही चरित्र आउँछन् । अनि खासमा एउटा प्रश्न मनमा उठ्छ- हामीलाई खासमा मानव – वन्यजन्तु द्वन्द्व भनेर पढाइन्छ । के वास्तविक द्वन्द्व वन्यजन्तुसँगै छ रु कि हाम्रो द्वन्द्व अरु कोही वा हामी आफैं वा सिनेमाले सम्झाएजस्तो तिनीहरूसँग छ ?

त्यसैले यहाँ भन्नैपर्छ– एलिफेन्ट्स इन द फग अर्थात् तिनीहरू : यो जंगली हात्ती खोज्नेहरूको कथा होइन, न त यो सन्तान खोज्नेहरूकै कथा हो । यो त कथित् पोलिटिकल करेक्टनेस खोज्नेहरूको बीचमा आफैंलाई खोज्नेहरूको कथा हो । यसभन्दा बढी म कथाबारे पस्न चाहन्नँ । समय मिल्यो भने दोहोर्याएर हेर्ने चाहना चै छ ।

अब सुरुमा मैले भनेझैं  नेपाली सिनेमाको मौलिकताबारे कुरा गरौं किनभने यो विषयमाथि लामै बहस हुनेगर्छ । मौलिक सिनेमा बनाउन हिमाल डाँडाकाडा देखाएर पुग्दैन सोच नै मौलिक हुनुपर्छ भनी प्रमाणित गर्नेहरूको सूचीमा एलिफेन्ट्स इन द फग अब्बल पंक्तिमा छ ।

प्रकृतिको कुरा गर्दा हामी प्राय बाहिरी प्रकृतिको कुरा गर्छौं तर हामीभित्र जमेर बसेको स्वभाव र आनिबानी अनि समाजले सिकाएका नर्म्याटिभ विलिफ सिस्टम नै कसरी प्रकृतिको वास्तविक स्वभावविरुद्द धावा बोलेर उभिएका हुन्छन् अनि ती चाहिँ खासमा जंगली हात्तीभन्दा पनि बढी खतरनाक हुन्छन् भनी बहस गर्नु भनेको नेपाली सिनेमाको मौलिकतामाथि बहस गर्नु हो ।

बहस गर्न सफल भएको छ एलिफेन्ट्स इन द फगले । खुसी लागेको छ- प्रधानमन्त्री बालेन शाहले यस सिनेमाबारे सोसल मिडियामा कुरा गरेका छन् । हिमाली सुनामीका कारण उत्पन्न रसुवा बाढीका कारण समाज पूरै तंग्रिएको छैन जसबारे सुरुमै सिनेमाले मानवीय संवेदना दर्शाउने अभिव्यक्ति दिन्छ ।

हामीले अविनाश शाहको सिनेमालाई समीक्षा लेख्दै अनलाइनखबरमार्फत भनेका थियौं- यो किन्नरहरूलाई उपेक्षाको‍ कुहिरोबाट निकाल्ने सिनेमा हो । तर हामीले सहानुभूति वा माया किन्नरहरूलाई दर्शाउनुभन्दा पहिले आफ्नै चेतनामाथि केही गम्भीर प्रश्न भने सोध्नु नै पर्ने छ । सिनेमा हेरौं र ती प्रश्नहरू के हुन् भनी पत्ता लगाउँ ।

अन्तमा यो फिल्म सामाजिक उपेक्षा र साँघुरोपनको बाक्लो कुहिरोभित्र अस्तित्व खोज्दै कता कता सम्म डुलिहिँड्ने एक किन्नरको यात्रा हो । यो यात्रालाई सिनेमाले विश्वभरि बोकेर पुर्‍याओस् । सिनेमा नेपालबाट अस्करका लागि नोमिनेटेड छ । सिनेमा आफैंमा अविश्वसनीय र अभूतपूर्व छ । यसले नेपाली समुदायका लागि कुनै न कुनै ठूलो समाचार बोकेर ल्याओस् । अविनाश विक्रम शाह र सिंगो टिमलाई बधाई अनि शुभकामना ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?