२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका सविच महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गरेका छन् ।
सोमबार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैं, शुभदीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भक्तपुरवासीको मनोबल र मान घटेको टिप्पणी गरेका हुन् ।
उनले एक लाख रुपैयाँसम्मको बजेट ल्याउन नसक्ने व्यक्ति निर्वाचन जितेर गएको भन्दै भक्तपुरवासीले विगतमा करोडौं रुपैयाँ बजेट माग्ने गरेको तर अहिले १० लाख रुपैयाँ माग्न सक्ने हैसियतसमेत नरहेको आरोप लगाए ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका सांसद राजीव खत्रीप्रति लक्षित टिप्पणीमा उनले भनेका छन्, ‘एक लाख रुपैयाँको बजेटसमेत ल्याउन नसक्ने नेतृत्व आज चुनाव जितेर गएको छ । यसले भक्तपुरवासीको आत्मविश्वास, मनोबल र प्रतिष्ठामा चोट पुर्याएको छ । हिजो करोडौँ रुपैयाँको बजेट माग्न सक्ने भक्तपुर आज १० लाख रुपैयाँको बजेट माग्नसमेत कठिन अवस्थामा पुगेको छ । यस्तो अवस्था कसरी सिर्जना भयो भन्ने कुराको गम्भीर समीक्षा हुनुपर्छ र जनतासामु तथ्यहरू स्पष्ट पारिनुपर्छ ।’
उनले नेपाली जनताले चाहेको पार्टी नेकपा एमाले भएको दाबी गर्दै विकास र समृद्धिको अभियान अघि बढाउने सामथ्र्य एमालेसँग मात्रै रहेको जिकिर गरे ।
‘भक्तपुरको विकास, समृद्धि र जनताको अपेक्षालाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो। यसै सन्दर्भमा नेकपा एमाले र कमरेड केपी शर्मा ओलीको नेतृत्वमा अघि सारिएको विकास र समृद्धिको अभियानबारे जनतामाझ पुनः बहस र चर्चा हुन थालेको छ,’ उनले भने ।
प्रतिक्रिया 4