News Summary
Generated by OK AI. Editorially reviewed.- आईक्यापको १३औँ महासभामा शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासका लागि संवाद, सहकार्य र शान्तिलाई प्राथमिकता दिनुपर्ने बताए ।
- उनले नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ मा आधारित रहेको उल्लेख गर्दै स्वतन्त्रता, सार्वभौमिकता र द्वन्द्व समाधानमा संवादको पक्ष लिए ।
- राईले जलवायु परिवर्तनले नेपालमा निम्त्याएको जोखिमप्रति ध्यानाकर्षण गराउँदै व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
२० कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद, सहकार्य र शान्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई दक्षिण कोरियाको सोलमा सम्बोधन गर्दै सचिव राईले राजनीतिक विचार, संस्कृति र राष्ट्रिय पृष्ठभूमि फरक भए पनि विश्वका सबै राष्ट्रको साझा चाहना शान्तिपूर्ण जीवन र उज्ज्वल भविष्य रहेको बताए ।
नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै उनले प्रत्येक राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय समस्याको समाधान द्वन्द्वबाट नभई संवादका माध्यमबाट खोजिनुपर्ने उनको भनाइ थियो ।
नेपाल दुई ठूला छिमेकी राष्ट्र भारत र चीनको बीचमा रहेको उल्लेख गर्दै राईले दुवै देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले महत्त्व दिएको बताए । नेपालको भौगोलिक अवस्थिति राष्ट्रहरूलाई विभाजित गर्ने नभई जोड्ने माध्यम बन्नुपर्ने उनको धारणा थियो ।
अन्तर्राष्ट्रिय सम्बन्धले आम जनताको जीवनमा प्रत्यक्ष लाभ पुर्याउनुपर्ने बताउँदै उनले युवालाई रोजगारी, व्यवसायीलाई अवसर, विद्यार्थीलाई शिक्षा तथा प्रविधि र श्रमिकलाई सुरक्षा एवं सम्मान आवश्यक रहेको उल्लेख गरे । नेपालको जलविद्युत् तथा स्वच्छ ऊर्जाको सम्भावना उपयोग गर्न अन्तर्राष्ट्रिय लगानी र प्रविधिको स्वागत गरिने पनि उनले बताए ।
विदेशमा कार्यरत लाखौँ नेपाली श्रमिकको योगदानको प्रशंसा गर्दै राईले उनीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनले नेपालमा निम्त्याएको गम्भीर जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । भोटेकोशी क्षेत्रलगायत नेपालका विभिन्न स्थानमा हालै भएका विनाशकारी बाढीले जनधन, जीविकोपार्जन र जनजीवनमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनमा न्यून योगदान गर्ने मुलुकका नागरिकले सबैभन्दा बढी पीडा भोग्नुपर्ने अवस्था न्यायोचित नभएको बताए ।
नेपाललाई सहानुभूतिभन्दा पनि व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या नभई विश्वकै साझा जिम्मेवारी भएको उनले स्पष्ट पारे ।
राजनीतिक विश्वास फरक भए पनि संवादको ढोका बन्द गर्न नहुने बताउँदै राईले टकरावको सट्टा संवाद, विभाजनको सट्टा सहकार्य र द्वन्द्वको सट्टा शान्तिको बाटो रोज्न विश्व समुदायलाई आग्रह गरे ।
उनले विश्वका नागरिकका भाषा, झण्डा र जीवनशैली फरक भए पनि मानवता, शान्ति र समृद्धिको चाहना समान रहेको उल्लेख गर्दै भावी पुस्ताका लागि विश्वलाई अझ राम्रो र बसोबासयोग्य स्थान बनाउन सबैले साझा प्रयास गर्नुपर्ने बताए ।
राईले इतिहासले विभाजनका भिन्नताभन्दा पनि मानवजातिले निर्माण गरेको विश्वास, संरक्षण गरेको शान्ति र सामूहिक रूपमा सिर्जना गरेको भविष्यलाई सम्झिनुपर्ने धारणा व्यक्त गरे।
प्रतिक्रिया 4