+
+
Shares

जेफ्री एपस्टिन फाइलहरू सार्वजनिक गर्ने विषयमा अमेरिकी कंग्रेसमा फेरि तातो बहस

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ११:१५

२० कात्तिक, काठमाडौं । अमेरिकी कंग्रेसको बैठक आगामी साता पुनः सुरु भएसँगै यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य दस्ताबेजहरू पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने मागले फेरि ठूलो राजनीतिक रूप लिएको छ।

मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभामा बहुमत हासिल गरेपछि ट्रम्प प्रशासनको एपस्टिन फाइल व्यवस्थापन र छानबिनलाई लिएर कडा संसदीय अनुगमन हुने निश्चित भएको छ।

‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट २’ र डिस्चार्ज पेटिसनको तयारी

कार्यकाल समाप्त हुन लागेका केन्टकीका रिपब्लिकन सांसद टमस मासी र क्यालिफोर्नियाका डेमोक्र्याटिक सांसद रो खन्नाले गत जुलाईमा ल्याएको ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट २’ लाई जबरजस्ती हाउस फ्लोरमा मतदानका लागि ल्याउने तयारी गरेका छन्।

सभामुख माइक जोन्सनले विधेयक रोक्न प्रयास गरे पनि मासीले सामाजिक सञ्जालमा पोस्ट गर्दै सदन खुलेसँगै ‘डिस्चार्ज पेटिसन’ मार्फत आवश्यक २१८ सांसदको हस्ताक्षर पूरा गरी मतदान गराउने दाबी गरेका छन्।

यो विधेयकले एपस्टिन काण्डका पीडित, राज्यका महान्यायाधिवक्ता  र स्थानीय अभियोजकहरूलाई न्याय मन्त्रालयले (डीओजे) गैरकानुनी रूपमा रोकेका वा रिड्याक्टेड दस्ताबेजहरू सार्वजनिक गराउन अमेरिकी महान्यायाधिवक्ता विरुद्ध मुद्दा हाल्न सक्ने अधिकार प्रदान गर्दछ।

पीडितहरूले माग गरेमा न्याय मन्त्रालयले अनरिड्याक्टेड पूर्ण दस्ताबेजहरू उनीहरूलाई उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था यसमा छ।

कंग्रेसमा ‘हाउस ओभरसाइट कमिटी’ को कडा चेतावनी

प्रतिनिधि सभामा डेमोक्रेट्सको बहुमतसँगै हाउस ओभरसाइट कमिटीको सभापति बन्न लागेका क्यालिफोर्नियाका सांसद रोबर्ट गार्सियाले एपस्टिन प्रकरणमा संलग्नहरूलाई संसद्‌मा उभ्याउने चेतावनी दिएका छन् ।

‘एपस्टिनसँग मिलेर काम गर्ने सह-षड्यन्त्रकारीहरू र युवतीहरूमाथि बलात्कार तथा यौन शोषण गर्ने शक्तिशाली पुरुषहरूलाई अहिलेसम्म कानुनी दायरामा ल्याइएको छैन। रिपब्लिकनहरूको नेतृत्वमा कुनै सार्वजनिक सुनुवाइ भएन, जसले गर्दा धेरै अपराधीहरू संसद्‌मा उपस्थित हुनबाट उम्किए। अब डेमोक्रेट्सको नेतृत्वमा उनीहरूले संसद्‌सामु आएर बयान दिनैपर्छ। त्यसैले उनीहरूले आफ्ना वकिलहरू तयार राखे हुन्छ ,’ उनले भनेका छन् ।

गार्सियाले ट्रम्प प्रशासन, कर्पोरेट भ्रष्टाचार, आन्तरिक सुरक्षा मन्त्रालय (डीएचएस) र भन्सार/प्रहरी (आईसीई) का गतिविधिहरूसँगै एपस्टिन फाइलहरूको लुकाउने प्रयासलाई आफ्नो मुख्य छानबिनको प्राथमिकता बनाएका छन्।

राजनीतिक परिदृश्य र निर्वाचनमा प्रभाव

मध्यावधि निर्वाचनका क्रममा भ्रष्टाचार र अभिजात वर्गहरूको संरक्षण मुख्य चुनावी मुद्दा बनेको थियो। सेप्टेम्बर १ देखि अक्टोबर २१ बिचमा मात्रै दुवै दलका उम्मेदवारहरूले एपस्टिन, बाल यौन दुर्व्यवहार र यौन अपराधसँग सम्बन्धित विज्ञापनहरूमा ७ करोड डलरभन्दा बढी खर्च गरेका थिए।

गत वर्ष राष्ट्रपति ट्रम्पले पहिलो ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गरे पनि न्याय मन्त्रालयले धेरै पृष्ठहरू रिड्याक्टेड  र कतिपय महत्त्वपूर्ण वित्तीय दस्ताबेजहरू गायब पारेर सार्वजनिक गरेको भन्दै पीडित र सांसदहरू आक्रोशित बनेका छन्।

आगामी जनवरीमा कंग्रेस सुरु भएसँगै एपस्टिन प्रकरणलाई लिएर वासिङ्टनमा ह्वाइट हाउस र कङ्ग्रेसबिच ठूलो कानुनी र राजनीतिक युद्ध हुने संकेत मिलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?