+
+
Shares

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा नियमित मेला आयोजना गर्नुपर्ने बताएका छन्।
  • थापाथलीस्थित खाद्य संस्थान परिसरमा तिहार विशेष रैथाने मेलाको अवलोकनपछि उनले मेलालाई तिहार र चाडपर्वमा मात्र सीमित नगर्नुपर्ने बताए।
  • उनले किसानका उत्पादनको प्रचारप्रसार सरकार, सरकारी निकाय र सञ्चारमाध्यमले गर्नुपर्ने भन्दै काठमाडौंसहित मल्टिपल शहरमा मेला विस्तार गर्नुपर्नेमा जोड दिए।
  • मेलामा करिब २६ स्टल रहेका छन् र सभामुख अर्यालले करिब सात हजार रुपैयाँ बराबरका सामान खरिद गरेको जानकारी दिएका छन्।

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् ।

थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रैथाने मेला काठमाडौंमा मात्र नभई ठूला बजार भएका विभिन्न शहरहरूमा सरकारले नै आयोजना गर्नुपर्ने बताए ।

मेलाले दुर्गम क्षेत्रका किसानलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्‍याउने अवसर प्रदान गर्ने उनको भनाइ छ । उनले रैथाने मेलालाई तिहार तथा चाडपर्वमा मात्रै सीमित नगरी शनिबार, आइतबार तथा अन्य बिदाका दिनमा समेत नियमित रूपमा सञ्चालन गर्नुपर्नुपर्ने बताए ।

‘रैथाने मेलाहरूलाई सरकारले नै निरन्तर रुपमा गर्नुपर्छ । जनताका उत्पादनहरूलाई देशभर देखाउन सकियो भने कहाँबाट कस्तो चिजहरू आउँदो रहेछ, भन्ने पनि थाहा हुन्छ । काठमाडौं भ्यालीमा बस्नुहुने नागरिकहरूलाई काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, धादिङतिरको चिजहरू त्यति नौलो हुँदैन । हामीले खरिद गरिरहेकै हुन्छ । तर अलि बाहिरतिरको चिज आउँदाखेरि उहाँहरूको लागि पनि खुसीको कुरा होला । दूरदराजमा राम्रा चिजहरू फल्दो रहेछ, किसानहरूले यस्तो उत्पादन गर्नुहुँदो रहेछ,’ उनले भने ।

सरकारले नै सार्वजानिक विदा तथा पर्वहरूको अवसरमा मेला आयोजना गर्न सके किसान तथा उत्पादकलाई थप लाभ पुग्ने उनको भनाइ छ । उनले मेलाले काठमाडौं उपत्यकामा परिचित उत्पादनभन्दा दुर्गम क्षेत्रका रैथाने उत्पादनबाट उपभोक्तालाई नयाँ स्वाद र जानकारी दिने अवसर दिएको बताए ।

‘हामीले त्यसलाई प्रमोसन गर्नुपर्छ भनेर अवेयर पनि हुन्छ । त्यही भएर मेलालाई राज्यले नै प्राथमिकतामा राखेर आयोजना गर्नुपर्छ । किसानको उत्पादनको प्रचारप्रसार सरकारले गर्नुपर्छ । कृषक आफैँमा उत्पादनमै खटिराखेको हुन्छ, त्यसकारणले सरकारको तर्फबाट खाद्य संस्थान, साल्ट ट्रेडिङ या अरू हाम्रा अर्गनाइजेसन, मिडियाले कृषकका उत्पादनलाई प्रचारप्रसार गर्नुपर्छ । मुख्य कुरा मेलालाई रेगुलर गर्नुपर्‍यो,’ उनले भने, ‘कहिलेकाहीँ व्यापार राम्रो हुनसक्छ, कहिलेकाहीँ व्यापार कम हुन सक्छ, कहिलेकाहीँ धेरै स्टल आउन सक्छ, कहिले थोरै आउन सक्छ । तर सरकारको तर्फबाट यस्तो स्पेसहरू दिनुपर्छ । यसलाई हामीले काठमाडौँमा मात्रै होइन, मल्टिपल शहरहरूमा विस्तार गर्न आवश्यक छ । जहाँ शहरहरू छ, ठूलो बजारहरू छ, त्यो ठाउँमा हामीले सरकारको तर्फबाट पहल गर्नुपर्छ ।’

उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायत सरकारी निकाय र सञ्चारमाध्यमले पनि किसानका उत्पादनलाई प्राथमिकताका साथ प्रचार गर्नुपर्नेमा जोड दिए । तिहार विशेष रैथाने मेलामा करिव २६ वटा स्टल रहेका छन् । मेलाको अवलोकन गरेका सभामुख अर्यालले व्यक्तिगत रूपमा करिव सात हजार रुपैयाँ बराबरका सामान खरिद गरेको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?