+
+
Shares

सोनिया गान्धीको पुस्तकमा कंगना रनौतको प्रश्न, ‘स्विस बैंकको खाता खै ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कंगना रनौतले इन्स्टाग्राम स्टोरीमा सोनिया गान्धीको आत्मकथालाई ‘सेल्फ गोल’ भन्दै राजीव गान्धीको मृत्यु, मेनका गान्धी र नागरिकताबारे प्रश्न उठाइन्।
  • उनले मेनका गान्धीलाई परिवारबाट अलग गरिएको विषय र त्यो निर्णय कसको इच्छामा भएको थियो भन्नेबारे पनि प्रश्न गरिन्।
  • कंगनाले सोनिया गान्धीको नाममा स्विस बैंक खातामा दुई अर्ब अमेरिकी डलर रहेको दाबी गरिन् ।

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत आफ्ना स्पष्ट र विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । यसपटक उनले भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीको आत्मकथालाई निशाना बनाएकी छिन् ।

पुस्तकमा गान्धी परिवारसँग जोडिएका विभिन्न घटनाको उल्लेखलाई लिएर उनले प्रश्न उठाएकी हुन् ।

कंगनाले सोनियाको आत्मकथालाई व्यङ्ग्य गर्दै ‘सेल्फ गोल’ को संज्ञा दिएकी छिन् । उनले राहुल गान्धीमा आफैँलाई अप्ठ्यारोमा पार्ने क्षमता आफ्नी आमाबाट आएको टिप्पणीसमेत गरेकी छिन् ।

कंगनाले इन्स्टाग्राम स्टोरीमार्फत लगातार चारवटा पोस्ट सार्वजनिक गरेकी थिइन् । ती पोस्टमा उनले राजीव गान्धीको हत्या भएको दिन, मेनका गान्धी गान्धी परिवारबाट अलग भएको घटना र सोनिया गान्धीको भारतीय नागरिकताबारे प्रश्न उठाएकी छिन् ।

यसका साथै उनले सोनिया गान्धीको नाममा रहेको भनिएको स्विस बैंक खाताबारे पनि आरोपसहित प्रश्न गरेकी छिन् ।

कंगनाले आफ्नो पहिलो इन्स्टाग्राम स्टोरीमा सोनिया गान्धीको आत्मकथा आफैँमा ठूलो ‘सेल्फ गोल’ भएको टिप्पणी गरेकी छिन् ।

पुस्तकमा सोनियाले राजीव गान्धीको हत्या भएको दिन उनीसँग जान आफूले अस्वीकार गरेको उल्लेख गरेकी छिन् । त्यसको कारण थकान र अल्छीपन भएको भनी उल्लेख गरेको विषयलाई कंगनाले व्यङ्ग्यको विषय बनाएकी छिन् ।

कंगनाले लेखेकी छिन्– अब राहुल गान्धीमा आफैँलाई अप्ठ्यारोमा पार्ने बानी कहाँबाट आयो भन्ने थाहा भयो । यो क्षमता उनले आफ्नी आमाबाट विरासतमा पाएका रहेछन् ।

कंगनाले अर्को पोस्टमा मेनका गान्धी गान्धी परिवारबाट अलग भएको घटनाबारे टिप्पणी गरेकी छिन् ।

उनका अनुसार राजीव गान्धीले सोनिया गान्धीलाई परिवारमा फर्काउन एउटा सर्त राखेका थिए । उक्त सर्तअनुसार मेनका परिवारबाट बाहिरिनुपर्ने थियो । कंगनाले यो कुरा मेनकाका लागि पनि आश्चर्यजनक भएको उल्लेख गरेकी छिन् ।

उनले सञ्जय गान्धीको मृत्युपछि सोनिया गान्धीले भारतमा १५ वर्ष बिताएपछि भारतीय नागरिकता लिने निर्णय गरेको विषय पनि उठाएकी छिन् ।

कंगनाले मेनका गान्धीको एउटा पुरानो भनाइसमेत उल्लेख गरेकी छिन् । उक्त भनाइमा मेनका र इन्दिरा गान्धी दुवै कुनै तेस्रो व्यक्तिका कारण पीडित भएको बताइएको थियो । कंगनाले प्रश्न गरेकी छन्, आखिर त्यो तेस्रो व्यक्ति को थियो ?

सोनिया गान्धीको भूमिकामाथि पनि प्रश्न

कंगनाले आफ्नो अर्को पोस्टमा २२ वर्षकी विधवा मेनका गान्धीलाई घर छोड्न बाध्य पारिएको दाबी गरेकी छिन् । परिवारका अन्य सदस्यसँग एउटै टेबलमा बसेर खाना खानसमेत उनलाई अनुमति नदिइएको उनको भनाइ छ ।

सोनिया गान्धीले आफ्नो आत्मकथामा मेनकालाई परिवारबाट अलग गर्नुको कारण विपक्षी दलका नेताहरूसँग उनको मित्रतालाई बताएको कंगनाले उल्लेख गरेकी छन् ।

तर, कंगनाले यस तर्कमाथि प्रश्न उठाएकी छिन् । उनका अनुसार राजीव गान्धी राजनीतिमा आउन इच्छुक थिएनन् र आफूलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन बाध्य पारिएको विषय पनि उनले खुलाएका थिए । यस्तो अवस्थामा मेनकालाई परिवारबाट अलग गर्ने निर्णय कसको इच्छामा भएको थियो भन्ने प्रश्न कंगनाले गरेकी छिन्।

उनले मेनकालाई परिवारका अन्य सदस्यको जीवनमा भविष्यमा के हुने भन्ने थाहा नभएको र परिवारबाट अलग हुनु नै उनका लागि एकमात्र बाटो बनेको टिप्पणीसमेत गरेकी छिन् ।

स्विस बैंकमा दुई अर्ब डलर रहेको दाबी

कंगनाले सोनिया गान्धीको सम्पत्तिबारे पनि प्रश्न उठाएकी छिन् । उनले आफ्नो पोस्टमा जीवनभर कुनै आम्दानी नगरेको भनिएकी सोनिया सन् १९९१ मा विश्वकै धनी महिलामध्ये कसरी बनिन् भन्दै प्रश्न गरेकी छिन् ।

उनले सोनियाको नाममा स्विस बैंक खातामा दुई अर्ब अमेरिकी डलरभन्दा बढी रकम रहेको दाबीसमेत गरेकी छन् । यद्यपि, यो कंगनाले सामाजिक सञ्जालमा गरेको दाबी हो, यसको स्वतन्त्र पुष्टि कतै गरिएको छैन ।

परिवारका अन्य सदस्यको निधनपछि आफूलाई गरिब र सहानुभूतिको खाँचो भएकी महिलाका रूपमा प्रस्तुत गरिएको भन्दै कंगनाले सोनिया कसरी अचानक अर्बपति बनिन् भनेर प्रश्न गरेकी छिन् ।

उनले सोनियाको आत्मकथामा यस विषयको जवाफ किन नदिइएको भन्दै प्रश्न उठाएकी छिन् ।

गान्धी परिवारमाथि कंगनाले टिप्पणी गरेको यो पहिलोपटक भने होइन । यसअघि पनि उनले सोनिया, राहुल र प्रियंका गान्धीलाई लक्षित गर्दै विभिन्न अभिव्यक्ति दिँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?