News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुदन गुरुङले देउसी-भैलोमा समयको पाबन्दी नरहने भन्दै २४ सै घण्टा खेल्न सकिने विज्ञप्ति जारी गर्नुभएको छ ।
- लेखमा कडा नियम होइन, गाउँ रित्तिँदै गएको र दिनहुँ करिब ३ हजार ५ सय युवा विदेशिने अवस्थाले तिहारको रौनक घटेको उल्लेख गरिएको छ ।
- ग्रामीण बस्ती सुनसान बन्दै घर, चुलो र चहलपहल हराएको तथा मलामीसमेत पातलिएको लेखकले बताएका छन् ।
‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ ।’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई झनै खल्लो बनाइदियो ।’
गृहमन्त्रीले यी पङ्क्तिहरूसँगै एउटा विज्ञप्ति पनि जारी गरेका थिए । उक्त विज्ञप्तिको मुख्य बुँदा थियो, ‘अबदेखि देउसी-भैलोमा समयको कुनै पाबन्दी छैन । २४ सै घण्टा निर्धक्क खेल्नुहोला ।’
कतिपयले यसलाई ‘ऐतिहासिक र युगान्तकारी’ निर्णय भन्दै हर्षोल्लासका साथ सेयर गरे । गृहमन्त्रीले पनि यसलाई एउटा उपलब्धिजस्तै मानेर अन्त्यमा लेखेका थिए, ‘आउनुहोस्, यो तिहारलाई फेरि पहिलेकै जस्तो जीवन्त र रमाइलो बनाऔँ ।’
गृहमन्त्रीका रूपमा कुनै पनि पर्व खुलेर मनाउन आह्वान गर्नु नराम्रो कुरा होइन । आफ्नो कला, संस्कृति एवं परम्पराप्रतिको यो झुकाव र लगाव स्वागतयोग्य छ । अनि उनले यहाँ एउटा तीतो सत्य पनि बताएका छन्, ‘पहिलेको तिहारको उमङ्ग हराउँदै गएको छ ।’
तर, किन ?
उनले सांकेतिक रूपमा यसको जवाफ पनि लेखेका छन्, ‘देउसी-भैलोको समयमा पाबन्दी लगाएर । २४ घण्टा खेल्न नदिएर ।’
रित्तिँदै गएको ग्रामीण समाज र विमानस्थलबाट दिनहुँ घर छाडिरहेका ३५ सय हाराहारी युवाको लस्कर नियालेका भए उनले यस्तो लेख्दैनथे होलान् । रातभर देउसी-भैलो खेल्न नपाएर तिहारको रौनक घटेको थियो वा गाउँघर नै रित्तिएर ?
किनभने, विगतका वर्षहरूमा देउसी-भैलो खेल्ने समय प्रशासनले निर्धारण गरे पनि त्यसमा खासै रोकटोक थिएन । जस्तो अहिले ‘पटकामा प्रतिबन्ध’ भनिए पनि निर्बाध प्रयोग भएजस्तै देउसी–भैलो खेल्नेहरू रातभर जागा रहन्थे । ‘अब १२ बज्यो, खेल्न पाइने छैन’ भन्दै प्रहरी धकेल्न आउँदैनथे ।
मनोवैज्ञानिक रूपमा त्यसको असर भए पनि व्यावहारिक रूपमा कुनै छेकबार थिएन । सबैले निर्धक्क रातभरि नै खेल्थे ।
समस्या समयमा थिएन, रित्तिएको गाउँमा थियो । र, अहिले पनि छ ।

गाउँ छैन गाउँजस्तो, गुञ्जिँदैन देउसी-भैलो
यतिबेला काठमाडौँजस्तो विलासी सहरबाट निस्किएर गाउँतिर पस्नुपर्छ, धेरैजसो घरको मूल ढोकामा भोटेताल्चा लगाइएको देखिन्छ ।
ग्रामीण भेगमा यस्तो बस्ती सायदै होलान्, जहाँ मानिसको चहलपहल छ, घरको ढोका खुला छ र हरेकको चुलो बलेको छ । आँगनमा खेल्ने केटाकेटी, पिँढीमा बसेर भलाकुसारी गर्ने बूढापाका, खेतबारीमा पौरख गर्ने तन्नेरीहरू- यस्तो दृश्य अब दुर्लभजस्तै भएको छ ।
गाउँमा एकाध बूढापाका मात्र छन् । बूढो शरीर लिएर उनीहरू मूलघर रुँघेर बसेका छन् । छोराछोरी स्थानीय सरकारी विद्यालयमा पढ्न मान्दैनन्, बजारतिर सरेका छन्। बोर्डिङ स्कुलमा पढाउनका लागि ।
बूढा बुबाआमाको औषधोपचार, छोराछोरीको पढाइ खर्च र घरको महँगी धान्न बलिया पाखुरा भएकाहरू ‘श्रमिक भिसा’ च्यापेर विदेशिएका छन् । गाउँ रित्तिएको छ, घर रित्तिएको छ। बस्तीहरू सुनसान छन् ।
तथ्याङ्क भन्छ, ‘दिनहुँजसो ३५ सय हाराहारी युवा विदेशिन्छन् ।’ यसमा एकथरी विद्यार्थी भिसा बोकेका हुन्छन् भने अर्काथरी श्रम भिसामा जानेहरू ।
बस्तीका कतिपय घर खण्डहर भएका छन् । हिजो बाजेबाबुले खुट्टा पसारेर हुक्का तान्ने पिँढीमा लेउ पलाएको छ । हिजो लालाबाला रमाउँदै खेल्ने आँगनमा झारजङ्गलले ढाकेको छ । सुविधाभोगी प्रवृत्ति र बढ्दो महँगीले आधाजसो सर्वसाधारणलाई विदेशिन बाध्य बनाएको छ । गाउँ नै रित्तो बनाएर ।
कतिसम्म भने, मलामी जाने मान्छेसमेत पातलिएका छन् । पशुपति आर्यघाट पुग्नुहोस्, धेरै शव अन्तिम दागबत्ती दिन विदेशबाट छोराछोरी आउने प्रतीक्षामा लडिरहेका हुन्छन् ।
प्रतिक्रिया 4