+
+
Shares

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप, श्रमको सम्मान र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले फूल खेती गर्दैआएको छ ।

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ कात्तिक २४ गते १५:३०

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ ।

विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, भैरहवा र पोखरासम्म बिक्री भइरहेको छ ।

विद्यालयमा उत्पादित फूल तथा मालाको माग विभिन्न सहरमा बढ्दै गएको शिक्षक प्रकाश भुसालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब चार क्विन्टल फूल बिक्री भइसकेको छ ।

यसवर्ष तिहार केही ढिला परेका कारण फूलहरू भने केही हप्ताअघि नै फक्रिएका थिए । विद्यालयको पहुँचमा फूल सुरक्षित राख्न मिल्ने कोल्ड स्टोर नहुँदा समयमै बजार व्यवस्थापन गर्न कठिनाइ भएको शिक्षक भुसालले बताए ।

तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल समयभन्दा अगाडि नै फक्रिएपछि केही सस्तो मूल्यमा भए पनि अन्य सहरमा पठाएर बिक्री गर्नुपरेको उनको भनाइ छ ।

विद्यालयले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप, श्रमको सम्मान र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले फूल खेती गर्दैआएको छ ।

विद्यार्थीहरूको मेहनतबाट उत्पादित फूलले बजार पाउन थालेपछि स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सकारात्मक सन्देश दिएको छ ।

शिक्षक भुसालले सन्धिखर्कमा रहेका व्यापारी तथा व्यवसायीहरूलाई तिहारका अवसरमा प्लास्टिकका तयारी माला प्रयोग गर्नुको सट्टा विद्यालयमै उत्पादित ताजा सयपत्री फूलका माला बिक्री तथा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

‘बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले मेहनत गरेर उत्पादन गरेको फूल तथा मालालाई प्रोत्साहन गरौँ,’ शिक्षक भुसालले भने, ‘स्थानीय उत्पादनलाई माया गरौँ र विद्यार्थीको सीप तथा श्रमको सम्मान गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?