News Summary
Generated by OK AI. Editorially reviewed.- जुम्लामा विद्युतीय मिल बढेसँगै परम्परागत पानीघट्ट लोप हुँदै गएको पातारासी गाउँपालिका–१ का गोविन्द बुढाले बताए।
- सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बिजुली, सडक र आधुनिक प्रविधि पुगेपछि पानीघट्टको प्रयोग क्रमशः घटेको जानकारी दिए।
- धितालले पानीघट्ट हराउँदै जाँदा यसको प्रयोग, बनावट र सञ्चालनसम्बन्धी परम्परागत ज्ञान नयाँ पुस्ताबाट टाढिँदै गएकोप्रति चिन्ता व्यक्त गरे।
२४ कात्तिक, जुम्ला । जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरु लोप हुँदै गएका छन् । गाउँघरमा विद्युत्बाट सञ्चालन हुने मिल आएसँगै पानीबाट चल्ने घट्टहरु सङ्कटमा परेको पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाले बताए।
ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ, कोदो र फापर लगायतका अन्न पिस्ने गर्दछन् । आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि ग्रामीण क्षेत्रका पानीघट्ट लोपहुँदै गइरहेको उनको भनाइ छ।
गाउँमा आधुनिक मिल र बिजुली नपुगेका बेला पानीघट्ट अन्न पिस्ने साधन मात्र थिएन, गाउँको आत्मनिर्भर जीवनको महत्वपूर्ण आधारसमेत रहेको थियो । गाउँमा बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच बढ्दै गएपछि पानीघट्टको प्रयोग क्रमशः घट्दै गएका सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
हाल प्रयोगविहीन रहेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर संचालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको अध्यक्ष धितालको भनाइ छ ।
कुनै समय जुम्लाका गाउँमा प्रचलनमा रहेका पानीघट्ट अहिले कतिपय ठाउँमा देख्नै मुस्किल हुन थालेका छन् । उनले पानीघट्ट हराउँदै जाँदा त्यसको प्रयोग, बनावट र सञ्चालनको परम्परागत ज्ञानसमेत नयाँ पुस्ताबाट टाढिँदै गएकोप्रति चिन्ता व्यक्त गरे।
प्रतिक्रिया 4