News Summary
Generated by OK AI. Editorially reviewed.- साना बच्चाले बारम्बार कान कोट्याउनु वा तान्नु सेल्फ–सुथिङ, दाँत निस्कने असहजता वा शरीर चिन्ने प्रक्रियाको भाग हुन सक्छ।
- कान वरपरको छाला सुख्खा, एलर्जी, एक्जिमा वा कानमा मैलो जम्दा पनि बच्चाले कान कोट्याउन सक्छ।
साना बच्चाले आफूलाई भएको समस्या शब्दमा बताउन नसक्दा शरीरका विभिन्न संकेतमार्फत आफ्नो असहजता देखाउने गर्छन् । यस्तै संकेतमध्ये एक हो बारम्बार कान कोट्याउनु वा कान नजिक हात लैजानु।
बच्चाले यस्तो गरेको देख्दा धेरै अभिभावक चिन्तित हुन्छन् र कानमा कुनै समस्या भएको हुन सक्ने आशंका गर्छन् । तर हरेक पटक बच्चाले कान कोट्याउनु कुनै रोगको संकेत भने हुँदैन । यसको पछाडि बच्चाको सामान्य बानीदेखि कान वा छालासम्बन्धी पनि हुन सक्छन् ।
त्यसैले बच्चाले कान कोट्यायो भन्दैमा तुरुन्तै कानमा संक्रमण भएको निष्कर्ष निकाल्नु हुँदैन । बच्चाको उमेर, कान कोट्याउने समय, त्यससँगै देखिएका अन्य लक्षण र उसको व्यवहार हेर्नु आवश्यक हुन्छ ।
आफूलाई शान्त राख्ने बानी
धेरै बच्चाले आफूलाई आराम दिन वा शान्त पार्न कान कोट्याउने गर्छन् । विशेषगरी बच्चा थाकेको, निद्रा लागेको वा आराम गर्न खोजिरहेको अवस्थामा उसले यस्तो गर्न सक्छ ।
जसरी केही बच्चा औँला चुस्ने वा आफूलाई मनपर्ने खेलौना समातेर आफूलाई शान्त पार्छन्, त्यसरी नै केही बच्चाले कान छुने वा रगड्ने गर्दा सहज महसुस गर्न सक्छन् । यो बच्चाको सामान्य ‘सेल्फ–सुथिङ’ अर्थात् आफूलाई शान्त पार्ने बानी हुन सक्छ ।
यदि बच्चाले सामान्य रूपमा दूध वा खाना खाइरहेको छ, खेलिरहेको छ, निद्रा ठीक छ र ज्वरो वा अन्य असहजताको लक्षण छैन भने केवल कान छोएको वा कोट्याएको आधारमा धेरै चिन्ता गर्नुपर्ने हुँदैन ।
दाँत निस्कने समयमा हुन सक्छ असहजता
साना बच्चामा नयाँ दाँत निस्कन थालेपछि गिजामा दुखाइ, सुन्निने र असहजता हुन सक्छ । कहिलेकाहीँ गिजा र कानको क्षेत्र नजिक भएकाले बच्चाले त्यसको असहजता कान वरपर पनि महसुस गर्न सक्छ ।
त्यसैले दाँत निस्कने समयमा बच्चाले कान तान्ने, कान रगड्ने वा कान कोट्याउने गर्न सक्छ । विशेषगरी ४ देखि १२ महिनासम्मका बच्चामा यस्तो व्यवहार देखिन सक्छ ।
तर दाँत निस्कँदैमा कानमा संक्रमण हुन्छ भन्ने होइन । यदि कान तान्ने वा कोट्याउनेसँगै ज्वरो, कानबाट तरल पदार्थ निस्कने, धेरै रोइरहने वा दूध कम खानेजस्ता लक्षण छन् भने भने कानको समस्या पनि हुन सक्ने भएकाले जाँच गराउनु उचित हुन्छ ।
आफ्नो शरीर चिन्ने प्रक्रिया
साना बच्चाले बिस्तारै आफ्नो शरीरका विभिन्न अंग चिन्न र बुझ्न सिक्छन् । ४ देखि १२ महिनाको उमेरमा उनीहरूले हात, खुट्टा, कान र अनुहार छुने तथा त्यसलाई नियाल्ने गर्छन् ।
यस क्रममा कान समात्ने, तान्ने वा रगड्ने व्यवहार उनीहरूको शरीरबारे खोज र सिकाइको एउटा हिस्सा हुन सक्छ । त्यसैले यस्तो व्यवहार बच्चाको सामान्य विकास प्रक्रियाकै भाग पनि हुन सक्छ । विशेषगरी बच्चाले कान कोट्याउनेबाहेक कुनै असामान्य लक्षण देखाएको छैन भने यो केवल शरीरका विभिन्न अंगबारे बच्चाले गरिरहेको खोज पनि हुन सक्छ ।
कान वरपरको छाला सुख्खा वा चिलाउने समस्या
कहिलेकाहीँ कान कोट्याउनुको कारण छालासँग सम्बन्धित समस्या पनि हुन सक्छ । बच्चाको कान पछाडिको वा कानको बाहिरी भागको छाला सुख्खा भएको, रातो देखिएको, सानो दाना आएको वा पसिना जमेको छ भने चिलाउन सक्छ ।
एलर्जी, एक्जिमा वा छालामा हुने अन्य समस्याका कारण पनि बच्चालाई कान वरपर चिलाउन सक्छ । यस्तो अवस्थामा बच्चाले बारम्बार कान कोट्याउन वा रगड्न सक्छ । त्यसैले अभिभावकले बच्चाको कान मात्र नभई कान वरपर र पछाडिको छालामा रातोपन, सुन्निनु, घाउ वा दाना आएको छ कि छैन भनेर पनि ध्यान दिनुपर्छ ।
कानमा मैलो जमेको भए पनि असहज हुन सक्छ
कानभित्र प्राकृतिक रूपमा बन्ने मैलोले कानलाई धुलो र अन्य बाह्य पदार्थबाट जोगाउन सहयोग गर्छ । सामान्य अवस्थामा यसलाई निकालिरहनु आवश्यक हुँदैन । तर कहिलेकाहीँ कानमा मैलो धेरै जम्मा भएर कान बन्द भएको जस्तो महसुस हुन सक्छ वा बच्चालाई असहजता हुन सक्छ । यस्तो अवस्थामा बच्चाले कान छोइरहने वा तानिरहने गर्न सक्छ ।
तर अभिभावकले घरमै कपासको बड, सलाई, पिन वा अन्य वस्तु कानभित्र छिराएर मैलो निकाल्ने प्रयास गर्नु हुँदैन । यसले कानको नलीमा चोट पुर्याउन वा कानको पर्दामा क्षति पुर्याउन सक्छ ।
कानमा संक्रमण भएको संकेत पनि हुन सक्छ
बारम्बार कान कोट्याउनु वा कान तान्नु कहिलेकाहीँ कानमा संक्रमण भएको संकेत पनि हुन सक्छ । विशेषगरी बच्चामा रुघाखोकी वा श्वासप्रश्वाससम्बन्धी संक्रमणपछि मध्यकानमा समस्या देखिन सक्छ ।
कानमा संक्रमण हुँदा बच्चा धेरै रोइरहने, चिडचिडे हुने, राति सुत्न नसक्ने, दूध कम खाने वा कान बारम्बार तान्ने गर्न सक्छ । कतिपय अवस्थामा ज्वरो आउन सक्छ वा कानबाट तरल पदार्थ तथा पिप निस्कन सक्छ । तर केवल कान तानेको आधारमा कानमा संक्रमण भएको भन्न सकिँदैन । चिकित्सकले कानभित्र हेरेर मात्र संक्रमण भए–नभएको यकिन गर्न सक्छन् ।
रुघाखोकीपछि कान किन दुख्न सक्छ ?
साना बच्चामा रुघाखोकी तथा नाक बन्द हुने समस्या हुँदा कान र नाकको पछाडिको भाग जोड्ने युस्टेसियन ट्युबको काम प्रभावित हुन सक्छ । त्यसले मध्यकानमा दबाब वा तरल पदार्थ जम्मा हुन सक्ने अवस्था सिर्जना गर्न सक्छ ।
यसका कारण बच्चालाई कानमा भरिएको, दबाब परेको वा दुखेको जस्तो महसुस हुन सक्छ । त्यसैले रुघाखोकी निको भएपछि पनि बच्चाले केही समय कान तानिरहेमा अन्य लक्षणमा ध्यान दिनुपर्छ ।
कहिले बच्चालाई डाक्टरकहाँ लैजाने ?
कान कोट्याउनु धेरैजसो अवस्थामा सामान्य बानी हुन सक्छ । तर केही लक्षणसँगै बच्चाले बारम्बार कान कोट्याइरहेको छ भने चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ ।
यस्तो अवस्थामा तुरुन्त चिकित्सकहाँ जानुपर्छ
–ज्वरोले ग्रसित छ
–कानबाट पानी, अन्य तरल पदार्थ वा पिप निस्किरहेको छ
–दूध वा खाना कम खान थालेको छ
–राति राम्रोसँग सुत्न सकेको छैन
–बारम्बार एउटै कान मात्र तानिरहेको छ
–कान छोएपछि वा तान्दा धेरै रोइरहेको छ
–धेरै चिडचिडा भएको छ
–कान वरपर रातोपन, सुन्निएको वा घाउ देखिएको छ
–हालसालै रुघाखोकी वा खोकीबाट प्रभावित भएको छ
आवाज सुन्न प्रतिक्रिया कम देखाउन थालेको छ भने बच्चाको कान जाँच गराउनु उचित हुन्छ ।
विशेषगरी बच्चा धेरै सानो छ र उसमा ज्वरोसँगै असामान्य रूपमा धेरै रोइरहने, दूध नखाने वा कानबाट तरल पदार्थ निस्कने समस्या छ भने घरमै हेरेर बस्नुको सट्टा चिकित्सकको सल्लाह लिनुपर्छ ।
अभिभावकले के गर्ने, के नगर्ने ?
बच्चाले कान कोट्याउँदा सबैभन्दा पहिले कानको बाहिरी भाग र वरपर कुनै रातोपन, घाउ, दाना वा सुन्निएको छ कि छैन भनेर हेर्न सकिन्छ । बच्चाको व्यवहार, निद्रा, खानपान र ज्वरो छ कि छैन भन्नेमा पनि ध्यान दिनुपर्छ ।
तर कानभित्र औँला, कपासको बड, सलाई, पिन वा अन्य वस्तु छिराएर सफा गर्ने प्रयास गर्नु हुँदैन । कानमा संक्रमण भएको शंका भएमा आफ्नै रूपमा कानमा औषधि वा तेल हाल्नु पनि उचित हुँदैन ।
बच्चाले कहिलेकाहीँ कान छोयो वा कोट्यायो भन्दैमा डराउनुपर्ने हुँदैन । तर यो व्यवहार लगातार दोहोरिइरहेको छ र त्यससँगै दुखाइ, ज्वरो, कानबाट तरल पदार्थ निस्कने, निद्रा वा खानपानमा परिवर्तनजस्ता लक्षण देखिएका छन् भने त्यसलाई सामान्य बानी भनेर बेवास्ता गर्नु हुँदैन ।
कान कोट्याउने व्यवहार मात्र होइन, त्यससँगै देखिने अन्य लक्षण नै बच्चाको कानमा समस्या छ कि छैन भन्ने बुझ्ने महत्वपूर्ण आधार हुन् ।
प्रतिक्रिया 4