News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनमा हुर्किरहेकी २४ महिने हात्तीको छावा पुन्टुरीको दोस्रो जन्मदिन फलफूल, केक र राष्ट्रिय झण्डासहित मनाइएको छ।
- पुन्टुरीलाई नेपालको झण्डामा सजाएर हात्तीलाई नेपाली पहिचान र सम्पदाको हिस्सा भएको सन्देश दिन खोजिएको पुरुषोत्तम गिरीले बताएका छन्।
- पुन्टुरीकी आमा लक्ष्मीकलीको नयाँ बच्चा जन्मिने तयारीसँगै पुन्टुरी अब दिदी बन्नेछिन्, र उनको तालिम बिस्तारै सुरु गर्ने तयारी छ।
चितवनमा हुर्किरहेकी पुन्टुरी बिहिबार केही फरक देखिइन् । उनको शरीरमा नेपालको राष्ट्रिय झण्डा थियो ।
निधारमा अबिरको टीका लगाइएको थियो। उनको वरिपरि केरा, स्याउ, आँप र खरबुजाजस्ता फलफूल सजाइएका थिए। उनको ठ्याक्कै अगाडि टेवलमा जन्मदिनको केक राखिएको थियो।
आफ्नी आमासँगै उभिएकी पुन्टुरी निकै खुसी देखिन्थिन् । कहिले उनलाई मनपर्ने फलफूल खुवाइन्थ्यो, कहिले मायाले सुम्सुम्याइन्थ्यो। केहीबेरपछि केक काटेर जन्मदिनको उत्सव मनाइयो।
यो कुनै मानिसको जन्मदिन थिएन। २४ महिना पुगेकी हात्तीको छावाको दोस्रो जन्मदिन थियो ।
दुई वर्षअघि कात्तिक २६ गते बिहान ७ बजे जन्मिएकी सबैकी प्यारी पुन्टुरीको जन्मदिन मनाउन उनका शुभचिन्तकहरू जुटेका थिए ।
कसैले फलफूल ल्याएका थिए, कसैले उनका लागि विशेष कपडा । राष्ट्रिय झण्डामा सजिएकी पुन्टुरीको चञ्चलता र रमाइलो माहोलले जन्मदिनलाई अझ विशेष बनाएको थियो ।
पुन्टुरीको जन्मदिन उनी जन्मिएदेखि नै पुरुषोत्तम गिरीले मनाउँदै आएका छन् । गिरी पेशाले कन्टेन्ट क्रिएटर हुन् । हात्तीका आनीबानी र गतिविधिबारे भिडियो बनाउने उनी पुन्टुरीसँग पनि निकै नजिक छन्।
‘मैले सानैदेखि हात्तीहरूलाई आफ्नै वरिपरि देख्दै आएको छु। उनीहरूसँग मेरो निकै लगाव छ। मेरो कन्टेन्ट हेर्ने शुभचिन्तकहरूले पनि कहिलेकाहीँ हात्तीका लागि फलफूल र खानेकुरा पठाइदिनुहुन्छ,’ उनी भन्छन्।
छोराको बोलीबाट जन्मिएको ‘मायाकी खानी पुन्टुरी रानी’
हात्तीहरूको नाम हुन्छ । पुन्टुरीका बुबाको नाम गोविन्दगज र आमाको नाम लक्ष्मीकली हो। उनीहरूको छावा पुन्टुरीको नाम दुर्गाकाली थियो । तर, पुरुषोत्तमले भने उनको नाम मायाले पुन्टुरी राखिदिएका हुन्।
पुन्टुरी, यो नाम राख्नुको किस्सा पनि रमाइलो छ ।
पुरुषोत्तमको घरअगाडिको बाटो हुँदै पुन्टुरी प्रायः ओहोरदोहोर गर्थिन् । उनी पुरुषोत्तमका साना छोरासँग पनि परिचित थिइन्। त्यतिबेला उनका छोरा ‘पुन्टुङ पुन्टुङ’ गर्दै हिँड्थे।
एक दिन पुन्टुरी घरअगाडिको बाटो हुँदै आइरहेकी थिइन्। छोराले उनलाई देखेपछि ‘बाबा, पुन्टुरी हात्ती आयो’ भनेछन्।
छोराको त्यही बोलीले पुरुषोत्तमलाई उनको नाम राख्ने जुक्ति दियो। त्यसपछि उनले मायाले ‘मायाकी खानी पुन्टुरी रानी’ भनेर बोलाउन थाले।
‘मैले मायाले आफैँ यो नाम राखिदिएको हुँ। मेरो छोरा पुन्टुरी हात्ती आयो भन्थ्यो। त्यसपछि मलाई पनि यो नाम असाध्यै मन पर्यो,’ पुरुषोत्तम सम्झिन्छन्।
एउटा बालकले बोलाएको नाम अहिले धेरैको मुखमा झुन्डिएको छ। अहिले अरु हात्तिको छावालाई पनि पुन्टुरी भन्ने गरिएको छ ।
नेपालको झण्डा किन ओढाइयो ?
जन्मदिनमा पुन्टुरीलाई नेपालको राष्ट्रिय झण्डा ओढाउनुको पछाडि पनि एउटा सन्देश छ। उनलाई झण्डामा सजाएर राष्ट्रियता र देशप्रतिको अपनत्व झल्काउन खोजिएको हो।
पुरुषोत्तमका अनुसार हात्ती पनि नेपालको प्राकृतिक सम्पदा र पर्यटनसँग जोडिएका छन्। उनीहरू नेपाली पहिचान र सम्पदाको एउटा हिस्सा हुन् भन्ने सन्देश दिन पुन्टुरीलाई राष्ट्रिय झण्डा पहिर्याइएको हो।
‘पुन्टुरीलाई राष्ट्रिय झण्डामा सजाएर जन्मदिन मनाउनुको उद्देश्य हात्तीप्रतिको माया मात्र देखाउनु थिएन। उनीहरू पनि हाम्रो नेपाली पहिचान र सम्पदाको हिस्सा हुन् भन्ने सन्देश दिन खोजिएको हो,’ उनी भन्छन्।
हात्तीलाई पर्यटकीय आकर्षणका रूपमा मात्र नभई माया र संरक्षण गर्नुपर्ने जीवका रूपमा बुझ्नुपर्ने उनको धारणा छ। हात्ती पर्यटनलाई परिमार्जन गर्दै उनीहरूको हितलाई प्राथमिकतामा राखेर अघि बढाउन सकिने उनी बताउँछन्।
हरेक महिना केक, वर्षमा विशेष उत्सव
पुन्टुरीको जन्मदिन मनाउने चलन एक वर्षअघिबाट सुरु भएको हो। यसपालि पनि उनको जन्मदिन विशेष रूपमा मनाइएको छ।
पुरुषोत्तमका अनुसार पुन्टुरीको जन्मदिनमा उनीहरू विभिन्न थरीका फलफूल जुटाउँछन्। केरा, खरबुजा, स्याउ, आँपलगायत मौसमअनुसारका फलफूल ल्याउँछन्। उनलाई पेटभरि फलफूल खुवाउँछन्। नुहाइदिन्छन्, शरीरमा तेल लगाइदिन्छन् र राम्ररी सजाउँछन्।
यसपालि पुन्टुरीका लागि विशेष कपडासमेत ल्याइएको थियो। एक जना अष्ट्रेलियामा बस्ने शुभचिन्तकले उनका लागि कपडा प्रायोजन गरिदिएका थिए ।
त्यही कपडा पहिर्याएर पुन्टुरीलाई सजाइएको थियो। जन्मदिनमा मात्र होइन, उनीहरू हरेक महिना पनि पुन्टुरीको खुसी साट्छन्।
महिनैपिच्छे केक काटेर उनको उमेर बढेको खुसी मनाउने गरेको पुरुषोत्तम बताउँछन्।
‘२४ महिना पूरा हुँदा यसरी विशेष रूपमा जन्मदिन मनायौँ। अर्को महिना २५ महिना पुग्दा पनि उत्सव मनाउँछौँ,’ उनी भन्छन्।
पुन्टुरी अहिले चितवनको बाघमारा सामुदायिक वन नजिक बस्छिन् । उनको स्वामित्व हरिभक्त घिमिरेसँग छ। उनी जंगल सफारी लजका सञ्चालक हुन्।
लामो समयदेखि हात्ती पालन गर्दै आएका घिमिरेले पुन्टुरीको हेरचाहको व्यवस्था मिलाउँदै आएका छन्।
मानिस देखेपछि डराउँदिनन्, झट्टै घुलमिल हुन्छिन् पुन्टुरी
पुन्टुरीको अर्को विशेषता उनको स्वभाव हो। उनी मानिस देखेपछि डराएर पर भाग्दिनन्। बरु, नजिकै आउँछिन्, चासोपूर्वक हेर्छिन् र सहजै घुलमिल हुन्छिन्। चञ्चल स्वभावकी पुन्टुरी वरिपरि भइरहेका गतिविधिमा पनि उत्तिकै चासो राख्छिन्।
माया गर्ने मानिससँग उनी छिट्टै परिचित हुन्छिन्। उनीसँग खेल्न र रमाउन खोज्छिन्। उनले नमस्ते गर्न जानेकी छिन् । लामो सुँडले माला लगाइदिन पनि खप्पिस छिन् ।
यही मिलनसार र चञ्चल स्वभावले पनि पुन्टुरीलाई अरूभन्दा विशेष बनाएको छ।
अझ रोचक कुरा त के छ भने, पुन्टुरी आफ्नी सानी आमा लक्ष्मीकलीसँग पनि उत्तिकै नजिक छिन् । पुन्टुरीलाई जन्म दिने आमाबाहेक अर्की लक्ष्मीकलीले पनि उनलाई आफ्नै छोरीजस्तै माया गर्छिन्।
पुरुषोत्तमका अनुसार पुन्टुरी कतै गइन् भने सानी आमा उनलाई खोज्न थाल्छिन्। नदेख्दा बेचैन हुन्छिन्। पुन्टुरीसँग उनको यस्तो आत्मीयता छ कि एकछिन पनि छुट्टिएर बस्न सक्दिनन्।
हात्ती स्वभावैले सामाजिक जनावर हुन्। उनीहरू आफ्नो समूहसँग नजिक हुन्छन्। एकअर्कासँगको सम्बन्ध, साथ र सुरक्षित वातावरण उनीहरूका लागि महत्त्वपूर्ण हुन्छ। पुन्टुरीको आफ्नी सानी आमासँगको आत्मीयताले पनि हात्तीबीचको यस्तो सम्बन्धलाई झल्काउँछ।
पुन्टुरीको तालिम सुरु हुने दिन नजिकिदै
हात्तीका छावा २४ महिना पुगेपछि बिस्तारै तालिम दिने तयारी गरिन्छ । पुन्टुरीको पनि अब तालिम सुरु हुने बेला भएको छ ।
तर यो उमेरसम्म पनि उनी आमाको दूध पिउँछिन् । आमाको न्यानो साथमै रमाउँछिन् ।
आमासँगै हिँडेर धेरै कुरा सिकिरहेकी छन् । हात्तीका छावाले आमाबाटै हिँडडुल गर्ने, खानेकुरा खोज्ने र आफ्नो वरिपरिको वातावरण बुझ्ने जस्ता व्यवहार सिक्छन् ।
त्यसैले, पुन्टुरीलाई एकैपटक आमाबाट छुट्याएर तालिम दिइने छैन । बिस्तारै केही दूरी कायम गर्दै उनलाई नयाँ कुरा सिकाउने तयारी छ । आमासँगको सम्बन्धलाई कमजोर नबनाई आत्मनिर्भर बनाउने यो प्रक्रिया पुन्टुरीका लागि जीवनको नयाँ चरण हुनेछ ।

अहिले उनकी आमा पनि यतिकै बस्दिनन् । उनी आफु बसेको ठाउँमै दिनको एकपटक सफारीमा जान्छिन् । जहाँसम्म उनको बुबाको सवाल छ । गोविन्दगज घरपालुवा हात्ती होइनन्, जंगली हात्ती हुन् ।
उनी जंगलबाट पोथी हात्तीसँग प्रजननका लागि बस्ती आसपास आउने गर्छन् । निजी क्षेत्रमा पालिएका पोथी हात्तीसँगको संसर्गका लागि गोविन्द आउने गरेको बताइन्छ । यसरी जंगलबाट आउने र फर्किने क्रममा उनी बस्ती आसपास पनि देखिने गर्छन् ।

पुरुषोत्तमका अनुसार गोविन्दसँगै सुबेदीगज र हालै आएका अन्य हात्ती पनि यस क्षेत्रमा रहेका सरकारी पोथी हात्तीसँग संसर्गका लागि आउने गरेका छन् ।
अहिले पुन्टुरीलाई राखिएको निजी क्षेत्रको ठाउँ केही फराकिलो छ । तालिम पूरा भएपछि भने उनलाई नियमित रूपमा सामुदायिक वनमा हुने सफारीमा सहभागी गराइनेछ ।
बाघमारा, कुमरोज र चित्रसेन सामुदायिक वनमा हात्ती सफारी सञ्चालन हुँदै आएको छ । त्यसका लागि पुन्टुरीलाई बिस्तारै तयार पारिनेछ ।
नुहाउन र खान पाए पछि दङ्ग पर्छन्, हाती
हात्तीको खुसीको कुरा गर्दा सबैभन्दा पहिले आउँछ, खाना। उनीहरूलाई हरियो घाँस र रुखका हाँगाबिँगा निकै मन पर्छन्।
पुरुषोत्तमका अनुसार हात्तीले पीपल, बर र स्वामीजस्ता रुखका हाँगापात खान मन पराउँछन् । जंगलमा पाइने घाँस, काँस र पराल पनि उनीहरूको आहार हो।
घरपालुवा हात्तीलाई धानलगायतका अन्न पनि खुवाइन्छ।
खाना जति मन पराउँछन्, पानीमा रमाउन पनि उत्तिकै रुचाउँछन्। विशेषगरी गर्मी मौसममा उनीहरू पानीमा नुहाउन र खेल्न मन पराउँछन् ।
कतिपय हात्ती एकदेखि चार–पाँच घण्टासम्म पानीमै रमाउने गरेको पुरुषोत्तम सुनाउँछन्। पानीमा खेल्नु उनीहरूका लागि मनोरञ्जन मात्र होइन, शरीरको तापक्रम सन्तुलनमा राख्न पनि आवश्यक हुन्छ।
जंगलमा पर्याप्त आहारा नपाउँदा जंगली हात्ती बस्ती पस्ने र किसानका खेतबारीमा पुगेर बालीनाली खाने गरेका छन्। कहिलेकाहीँ घरमा राखिएका अन्नसमेत उनीहरूले खोजीखोजी खान्छन्।
खानाको बासना पाएपछि सुँडले सुँघ्दै खोज्ने र भेटेपछि खाने उनीहरूको स्वभाव हो। त्यस्तै, यिनीहरुलाई पटक्कै मन नपर्ने भनेको कुटपिट र झिस्काइरहनु हो ।
मानिसले कुट्ने, पिट्ने र अनावश्यक दबाब दिने गर्दा उनीहरू शारीरिक र मानसिक पीडामा पर्छन् । हात्तीलाई खुसी राख्न उनीहरूको स्वभाव, आवश्यकता र संवेदनशीलता बुझेर व्यवहार गर्नुपर्छ ।
धेरैजसो मानिसको लापरवाहीले पनि हात्तीको ज्यान जाने गरेको पुरुषोत्तम बताउँछन्। उनी रोनाल्डो नामको हात्तीको मृत्युको प्रसंग सम्झिन्छन्।
‘हात्तीहरू राति पनि चर्न जान्छन्। चर्ने क्रममा बिजुलीको तार चपाउँदा करेन्ट लागेर रोनाल्डोको मृत्यु भयो। हामीले यस्ता कुरामा विवेक पुर्याउने हो भने निर्दोष प्राणीले ज्यान गुमाउनुपर्ने थिएन,’ उनी भन्छन्।
बिजुलीकली प्रसव पीडामा, पुन्टुरी बन्न लागिन् दिदी
पुन्टुरीको परिवारमा अर्को सदस्य थपिने तयारी छ। उनकी बुबा गोविन्दराजसँग शारीरिक सम्बन्ध राखेकी बिजुलीकली अहिले प्रसव पीडामा छिन्। पुरुषोत्तमका अनुसार,उनलाई १० दिनदेखि पहिलो बेथाको चरण सुरु भएको छ । तर बच्चा जन्मिएको छैन।
हात्तीको प्रसव प्रक्रिया लामो हुन सक्ने उनी बताउँछन्। केही दिनमै बिजुलीकलीले सन्तान जन्माउने अपेक्षा गरिएको छ। जन्मिने छावा पुन्टुरीको भाइ वा बहिनी हुनेछ।
यसरी नयाँ सदस्य थपिएसँगै पुन्टुरी दिदी बन्नेछिन्। आफ्नै परिवारमा नयाँ छावा आउन लागेको खबरले हात्तीहरूको यो परिवारमा अर्को खुसी थपिने प्रतीक्षामा उनीहरू छन्।
हात्ती पर्यटनलाई माया र जिम्मेवारीसँग जोड्नुपर्ने
पुन्टुरीको जन्मदिन मनाउनुको पछाडि उत्सवको रमाइलो मात्र छैन। यससँग जोडिएको अर्को उद्देश्य पनि छ–हात्तीप्रति मानिसको दृष्टिकोणमा सकारात्मकता ल्याउनु।
पछिल्लो समय नेपालमा हात्तीको प्रयोग, पालनपोषण र पर्यटनमा उनीहरूमाथि हुने व्यवहारबारे विभिन्न प्रश्न र बहस उठिरहेका छन्। हात्तीलाई मनोरञ्जनको साधनका रूपमा मात्र प्रयोग गर्ने कि उनीहरूको स्वभाव र आवश्यकतालाई पनि बुझ्ने भन्ने बहस चलिरहेको छ।
पुरुषोत्तम भने हात्ती पर्यटनलाई तत्कालै बन्द गर्नुभन्दा त्यसलाई परिमार्जन गर्दै लैजानुपर्ने धारणा राख्छन्।
‘हात्ती पर्यटन र हात्तीबीच नङ र मासुको जस्तै सम्बन्ध छ। यसलाई सुधार गर्दै लैजान सकिन्छ। हात्तीलाई माया गरेर पनि पर्यटनसँग जोड्न सकिन्छ भन्ने मेरो व्यक्तिगत सोच हो,’ उनी भन्छन्।
चितवन राष्ट्रिय निकुञ्जको खोरसोर क्षेत्रमा रहेका हात्ती, जंगली हात्ती तथा निजी क्षेत्रमा पालिएका हात्तीको आनीबानी र व्यवहारबारे पुरुषोत्तम भिडियो बनाउने गर्छन्।
आफूलाई विक्रम गिरी वन्डर भनेर पनि चिनाउने उनी हात्तीबारे मानिसलाई जानकारी दिन र उनीहरूप्रति माया जगाउन चाहन्छन्।
कतिपय मानिसले भगवान् श्रीगणेशको प्रतीक सम्झेर हात्तीका लागि फलफूल पठाउने गरेको उनी बताउँछन्। शुभचिन्तकले पठाएका फलफूल हात्तीलाई नै खुवाउने गरेको उनको भनाइ छ।
उनका लागि पुन्टुरीको जन्मदिन पनि हात्तीप्रतिको माया देखाउने एउटा अवसर हो। हात्तीलाई कसरी माया गर्न सकिन्छ, उनीहरूको खुसीमा कसरी सहभागी हुन सकिन्छ र उनीहरूको आवश्यकता कसरी बुझ्न सकिन्छ भन्ने सन्देश दिन उनी यस्तो उत्सव मनाउँछन्।
पुन्टुरीको दुई वर्षको उमेरमा काटिएको केक, खुवाइएका फलफूल र पहिर्याइएको राष्ट्रिय झण्डा एउटा जन्मदिनको उत्सवका दृश्य मात्र होइनन्। यी दृश्यमा एउटा मानिसको हात्तीसँगको लगाव र उनीहरूप्रति माया जगाउने प्रयास पनि जोडिएको छ।
आखिर, खुसी हुन ठूलो कुरा नै चाहिन्छ भन्ने कहाँ छ र ? कहिलेकाहीँ केही थान फलफूल, मायाले सुम्सुम्याउने हात र आफ्नोपनले पनि कसैको जन्मदिन विशेष बनाइदिन्छ। पुन्टुरीको दुई वर्षको उत्सवले यही कुरा सम्झाउँछ।
तस्वीर/भिडियो : पुरुषोत्तम गिरी
प्रतिक्रिया 4