News Summary
Generated by OK AI. Editorially reviewed.- नास-आईटी एक्स्पो २०२६ ५ र ६ मंसिरमा काठमाडौंमा ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ नारासहित आयोजना हुने भएको छ ।
- दुई दिने एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बैंक, वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग जोड्ने लक्ष्य राखेको छ ।
- एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि, एआईसहित ६ क्षेत्रमा कार्यरत ३० भन्दा बढी कम्पनी सहभागी हुनेछन्, र स्टार्टअप प्याभिलियन पनि रहने छ ।
१ मंसिर, काठमाडौं । आकाश टेल नास-आईटी एक्स्पो २०२६ ५ र ६ मंसिरमा आयोजना हुने भएको छ ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास-आईटी) ले यो प्रदर्शनी गर्ने भएको छ । ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना हुन लागेको यस वर्षको एक्स्पोमा स्टार्टअप प्याभिलियन र दुई विषयगत छलफल हुनेछ ।
दुई दिने एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियर अवसरबारे जानकारी दिने उद्देश्य पनि एक्स्पोले लिएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास-आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रसँग देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने ठूलो सम्भावना रहेको बताए ।
‘नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका छन्, अब ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउनु आवश्यक छ, नास–आईटी एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बजार, लगानीकर्ता र सम्भावित साझेदारसँग जोड्दै यस दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं,’ उनले भने ।
नास-आईटी महासचिव श्रेया श्रेष्ठले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्चमात्र नभई व्यवसाय, प्रविधि र प्रतिभा जोड्ने अवसर समेत भएको बताइन् ।
एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्ल्याटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी ६ क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन् ।
यस वर्ष युरोपेली संघको सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन थप गरिएको छ । यसले स्टार्टअपहरूलाई आफ्ना नवीन विचार, उत्पादन तथा प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।
प्रतिक्रिया 4