+
+
Shares

जमिन छाडेर रूखमा किन चढ्छन् जंगलका राजा ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तान्जानियाको लेक मन्यारा र युगान्डाको इशाशा रिजर्भका सिंहहरू गर्मी र कीराबाट बच्न रूखका हाँगामा आराम गर्छन्।
  • रूखमाथिबाट बस्दा सिंहले वरपरको जंगल, भैंसी र हरिणको समूह सजिलै नियाल्न सक्छन्।
  • सिंहका बच्चाले हुर्किंदै जाँदा पोथीबाट रूख चढ्ने अभ्यास सिक्छन् र यो व्यवहार उनीहरूको दैनिक जीवनको हिस्सा बन्छ।

सिंहलाई सम्झिनेबित्तिकै हाम्रो आँखाअघि खुला मैदान, अग्लो घाँस र त्यसैबीच शिकार खोज्दै हिँडिरहेको शक्तिशाली जनावरको चित्र आउँछ ।

तर अफ्रिकाका केही ठाउँमा भने दृश्य अलि फरक छ ।

त्यहाँका सिंहहरू जमिनमा होइन, रूखका अग्ला हाँगामा आराम गरिरहेका भेटिन्छन् ।

टाढाबाट हेर्दा उनीहरू ठूलो बिरालोजस्ता देखिन्छन् । तर, नजिकबाट नियाल्दा थाहा हुन्छ, ती बिरालो होइनन्, जंगलका राजा सिंह हुन् ।

तान्जानियाको लेक मन्यारा आसपास र युगान्डाको इशाशा रिजर्भमा सिंहहरू रूख चढेर लामो समयसम्म हाँगामा बस्ने गर्छन् ।

उनीहरू दिनको तातो समयमा रूखको छायामा आराम गर्छन् र त्यहीँबाट वरपरको जंगल नियालिरहेका हुन्छन् ।

सिंहलाई रूखमा किन चढ्छन् ?

वन्यजन्तु विज्ञहरूका अनुसार यसको एउटा मुख्य कारण गर्मी र किराबाट बच्नु हो ।

वर्षायाम सुरु भएपछि रिफ्ट भ्याली आसपासको घाँसे मैदानमा विभिन्न किसिमका किरा बढ्छन्। रगत चुस्ने झिँगा तथा अन्य कीराले शेरलाई निकै सताउन सक्छन् ।

जमिनको तुलनामा रूखमाथि हावा चलिरहन्छ । त्यसैले, त्यहाँ बस्दा कीराको हैरानी केही कम हुन्छ ।

अर्कोतर्फ, दिउँसोको चर्को घाममा जमिन निकै तात्छ । रूखका हाँगामा भने छायाँ हुन्छ र हावा पनि चलिरहेको हुन्छ । त्यसैले, शेरलाई शरीर चिसो राख्न कम ऊर्जा खर्च गर्नुपर्छ ।

तर रूखमा चढ्नुको फाइदा यतिमै सीमित छैन ।

रूखको टुप्पोबाट शिकारमाथि नजर

अग्लो हाँगामा बसेपछि सिंहले वरपरको ठूलो क्षेत्र देख्न सक्छ।

टाढाबाट आउने भैंसी, हरिणलगायतका जनावरका समूहलाई जमिनबाटभन्दा रूखमाथिबाट सजिलै नियाल्न सकिन्छ। यसले सिंहलाई आफ्नो सम्भावित शिकार कहाँ छ भन्ने थाहा पाउन मद्दत गर्छ।

अर्थात्, रूख उनीहरूका लागि आराम गर्ने ठाउँ मात्र होइन, वरपरको गतिविधि नियाल्ने एउटा राम्रो स्थान पनि हो।

तर, सिंह त रूख चढ्न माहिर हुँदैनन्, नि?

हो, सिंह चितुवाजस्तो रूख चढ्न माहिर जनावर होइन ।

चितुवाको शरीर हलुका र लचिलो हुन्छ। उसको लामो पुच्छरले रूखका हाँगामा सन्तुलन कायम राख्न पनि मद्दत गर्छ।

सिंहको शरीर भने ठूलो र भारी हुन्छ। त्यसैले, रूख चढ्नु उसका लागि सजिलो काम होइन ।

कहिलेकाहीँ युवा सिंहहरू चिप्लो बोक्रामा चिप्लिन्छन् । लामो समयसम्म सुतेपछि उठ्दा सन्तुलन गुमाएर हाँगाबाट तल खस्ने घटना पनि हुन्छ।

तर, त्यसपछि पनि उनीहरू फेरि रूख चढ्न पछि हट्दैनन् ।

रूख चढ्ने कला कसरी सिक्छन् ?

इशाशा र लेक मन्याराका सिंहका लागि रूख चढ्नु कुनै असामान्य व्यवहार होइन।

यो व्यवहार उनीहरूले पुस्तौँदेखि गर्दै आएका छन् ।

सिंहका बच्चा विस्तारै आफैँ हिँडडुल गर्न सक्ने भएपछि पोथीले उनीहरूलाई रूख चढ्ने अभ्यास गराउन थाल्छिन् । हुर्किंदै जाँदा उनीहरूले रूखमा कसरी चढ्ने मात्र होइन, कहिले र किन चढ्ने भन्ने पनि सिक्दै जान्छन्।

त्यसैले, बाहिरबाट हेर्दा अनौठो लाग्ने यो व्यवहार उनीहरूको दैनिक जीवनको सामान्य हिस्सा बनिसकेको छ ।

सिंहलाई हामी प्रायः खुला मैदानको शक्तिशाली शिकारीका रूपमा बुझ्छौँ।

तर इशाशा र लेक मन्याराका रूखमा बसेका सिंहले वन्यजन्तुको व्यवहार सधैँ एउटै हुँदैन भन्ने देखाउँछन् ।

आफ्नो वरपरको वातावरणमा आउने चुनौतीअनुसार जनावरले पनि आफूलाई बदल्न सक्छन् । गर्मी बढ्दा छायाँ खोज्ने, कीराबाट बच्ने र टाढासम्म देखिने ठाउँ रोज्ने ।  यी सबै उनीहरूको वातावरणसँगको अनुकूलनका उदाहरण हुन् ।

बीबीसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?